झापा । तेस्रो पटकको निरन्तर प्रयासपछि विश्वप्रकाश शर्माले संसद छिर्ने जनमत प्राप्त गरेका छन् । ५ वटा प्रतिनिधिसभा क्षेत्र रहेको झापाको क्षेत्र नम्बर –१ बाट निर्वाचित शर्मा गत मंसीर–४ गते सम्पन्न मतदानबाट प्राप्त जनमत अनुसार शर्मालाई संसद भवन छिरेर जनताका काम गर्ने अभिमत प्राप्त भएको हो । नेपाली कांग्रेसका महामन्त्री समेत रहेका शर्मा ३९ हजार ६२४ मत प्राप्त गरेसंगै संसदको यात्रा सुनिश्चित भएको हो । शर्माले निकटतम प्रतिष्पर्धी नेकपा एमालेका स्थायी कमिटी सदस्य अग्नि खरेललाई १४ हजार २७५ मतान्तरले पराजित गरेका हुन् । शर्माका प्रतिष्पर्धी खरेलले २५ हजार ३४९ मत प्राप्त गरे ।
विद्यार्थी राजनीतिबाट आएका शर्मा २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा पहिलो पटक संसदीय प्रतिस्पर्धा गरेका थिए । झापा–१ मा एमालेका रविन कोइरालासँग उनी ६०० मत अन्तरले पराजित भए ।
२०७४ सालको निर्वाचनमा फेरि उम्मेदवार भए, तर वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका नेता राम (सुरेन्द्र) कार्कीसँग पराजित भएका थिए ।
झापा क्षेत्र नं. २ मा नेकपा एमालेका देबराज घिमिरे बिजयी भएसंगै संसदको ढोका खुलेको छ । पार्टीको आन्तरिक जीवनमा लामो समयदेखि सक्रिय घिमिरेपनि पहिलो पटक संसद छिर्दैछन् । घिमिरले उनका निकटतम प्रतिद्धन्दी स्वतन्त्र उम्मेद्वार भद्रप्रसाद नेपाललाई २ हजार २ सय ५६ मतान्तरले पराजित गरे ।
घिमिरेले २८ हजार ६९७ मत ल्याएर निर्वाचित भएका छन् भने नेपाल २६ हजार ४४१ मत ल्याएर पराजित भएका हुन् । त्यस्तै गठबन्धनका तर्फका हरिकुमार रानाले १३ हजार ९२४ र राष्ट्रिय स्वतन्त्र पार्टीका रुद्रप्रसाद गिरीले ८ हजार ७७७ मत प्राप्त गरेका छन् ।
८७ हजार ३१७ मत गणना हुँदा ५ हजार ६९६ मत बदर भएको झापा क्षेत्र नं. २ निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । झापा २ प्रदेश (१) र (२) मा पनि यसअघि नै एमालेका एकराज कार्की र तिलचन पाठक (चिन्तन) पाठक निर्वाचित भइसेका छन् ।
झापा निर्वाचन क्षेत्र नम्बर ३ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन बिजयी भएका छन् । नेकपा एमालेसँग चुनावी तालमेल गरेर उम्मेद्वार बनेका लिङ्देनले गठबन्धन तर्फका नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई ३ हजार २७६ मतान्तरले पछि पार्दै निर्वाचित भएका हुन् ।
लिङ्देनले ४० हजार ६४८ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्धन्दी सिटौलाले ३७ हजार ३७२ मत ल्याएर पराजित भएका हुन् । आधिकारिक घोषणा भने हुन बाँकी रहेको जनाइएको छ ।
झापा क्षेत्र नं ४ मा प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)का उम्मेद्वार लालप्रसाद (एलपी) साँवा लिम्बु विजयी हुनुभएको छ । उहाँले २९ हजार तीन सय १५ मत प्राप्त गरेर विजयी बन्नुभएको निर्वाचन अधिकृत प्रकाश गौतमले बताए ।
उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका देउमान थेबेले २२ हजार चार सय ४८ मत प्राप्त गर्नुभएको छ । साँवाले विसं २०७४ को निर्वाचनमा पनि थेबेलाई पराजित गर्दै विजयी बनेका हुन् । लिङदेन र साँवा दोस्रो पटक सांसदमा निर्वाचित भएका हुन् ।
झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली विजयी बनेका छन् ।
निर्वाचन अधिकृत गणेश पाण्डेका अनुसार अध्यक्ष ओलीले ५१ हजार ६१९ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी गठबन्धनबाट उम्मेद्वार नेपाली कांग्रेसका खगेन्द्रपाण्डव अधिकारीले २३ हजार २३१ मत ल्याए ।
अध्यक्ष ओली योसँगै ६ पटक विजयी बन्नुभएको छ । यसअघि उहाँ विसं २०४८, २०५१, २०५६, २०७० र २०७४ मा यही क्षेत्रबाट विजयी भएका हुन् ।
संसद यात्रा: शर्मा र घिमिरे पहिलो पटक संसद छिर्दा ओलीको छैटौं यात्रा

































































































