झापा । पूर्वमा मेची नदीले भारतको पश्चिम बङ्गाल र दक्षिणमा भारतको बिहारसंग सीमाना जोडिएको झापाको क्षेत्रफल १ हजार ६०६ वर्ग किलोमिटर रहेको छ । उत्तरमा इलाम, पश्चिममा मोरङ जिल्ला रहेका छन् । यस जिल्लामा ८ नगरपालिका र ७ गाउँपालिकासहित जम्मा १५ पालिका रहेका छन् । प्रतिनिधीसभाका लागि ५ वटा निर्बाचन क्षेत्र र १० प्रादेशिक निर्वाचन क्षेत्र कायम छन् । झापामा आसन्न निर्वाचनका लागि झापामा ६ लाख ६३ हजार ३११ जनामतदाता रहेका छन् ।यसमध्ये ३ लाख ३२ हजार २५९ जना महिला, ३ लाख ३१ हजार ४४ जना पुरुष र ८ जना अन्य मतदाता रहेका छन् ।
क्षेत्र नं १
जिल्ला निर्वाचन कार्यालयको तथ्याङ्क अनुसार झापाको क्षेत्र नं. क्षेत्र नं १ मा सबैभन्दा कम १ लाख २० हजार ३ सय ७४ जना मतदाता रहेका छन् । कुल मतदाता मध्ये ६० हजार २ सय ३६ पूरुष मतदाता रहेका छन् भने ६० हजार १ सय ३८ महिला मतदाता रहेका छन् । यहाँ १२ वटा विभिन्न राजनैतिक दलबाट र ३ जना स्वतन्त्रसहित १५ जना प्रतिनिधीसभा सदस्यका लागि
प्रतिष्पर्धामा छन् । ४५ वटा मतदान स्थल रहेको झापा १ मा १ सय ३४ वटा मतदान केन्द्र रहेका छन् । यो क्षेत्र पूर्वमा मेचीनगर नगरपालिकाको सबै वडा अर्थात १५ वटा बुद्धशान्ति गाउँपालिकाको ४ वटा वडा गरि कुल २१ वटा वडा रहेका छन् । यहाँ अहिले मुख्यरुपमा गठबन्धनका तर्फबाट विस्व प्रकाश शर्मा र नेकपा एमालेका तर्फबाट अग्नि खरेल बिचको प्रतिस्पर्धा निकै रोचक बन्न सक्छ ।
क्षेत्र नं २
अर्जुनधारा नगरपालिका, बिर्तामोड नगरपालिकाका १ देखि ९ वटा वडा, कनकाईका ८ र ९ वडा र बुद्धशान्ति गाउँपालिकाको १, २, ३ लगायतका वडाहरू झापा निर्वाचन क्षेत्र नं २ मा पर्छ । यहाँ विभिन्न १३ वटा राजनैतिक दल र ५ जना स्वतन्त्र गरी १८ जना उम्मेदवार प्रतिनिधीसभाको निर्वाचनमा होमिएका छन् । ६७ हजार ४२९ जना महिला र ६६ हजार ६५७ जना पुरुष गरि कुल १ लाख ३४ हजार ८६ जना मतदाता रहेका छन् । यहाँ ४९ वटा मतदान स्थल रहेको छ भने १५२ वटा मतदान केन्द्र कायम छन् । यहाँ प्रमुख रुपमा नेकपा एमालेका तर्फबाट देवराज घिमिरे र गठबन्धनका तर्फबाट हरि राना बिच चुनावी प्रतिस्पर्धा हुने देखिएको छ ।
क्षेत्र न. ३
यो क्षेत्रमा राजनीतिक दल र अन्य गरी १८ जना उम्मेद्वार प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा छन् । यस क्षेत्रमा १८ जनाले उम्मेदवारी दिएका छन् । यो क्षेत्रमा ६६ हजार ६१ जना पुरुष र ६५ हजार ३७१ जना महिला गरि कुल १ लाख ३१ हजार ४३२ जना मतदाता रहेका छन् । यो क्षेत्र बिर्तामोडको वडा नं. १०, कचन कवल गाउँपालिकाको सबै ७ वटा वडा, भद्रपुर नगरपालिकाको ८ वटा वडा, हल्दिबारी गाउँपालिकाको ५ वटा वडा, बाह्रदशी गाउँपालिका गरि कुल २२ वटा वडाहरु पर्दछ्न । यहाँ ६७ वटा मतदान स्थलमा १५५ वटा मतदान केन्द्र रहेका छन् ।
क्षेत्र नं ४
झापाको निर्वाचन क्षेत्र नं ४ मा ६२ हजार २२ जना पूरुष मतदाता, ६१ हजार १ सय १ जना महिलासहित कुल १ लाख २३ हजार १२३ जना मतदाता रहेका छन् । शिवसताक्षी न.पा., दुई वटा वडा बाहेक कनकाई न.पा. का सबै वाडहरु, झापा गा.पा, गौरादह न.पा को वडा नं. ९ र गौरिगन्ज गा.पा का १ र २ न. वडा गरी जम्मा २८ वटा वडा समेटिएर झापा निर्वाचन क्षेत्र नं. ४ बनेको हो । यहाँ १२ वटा रजनैतिक दलका उम्मेदवार र ६ जना स्वतन्त्र उम्मेदवार गरि १८ जनाले चुनावी प्रतिस्पर्धा गरिरहेका छन् । ६३ वटा मतदान स्थल रहेको यहाँ १४९ वटा मतदान केन्द्र रहेका छन् । यहाँ मुख्य गरि गठबन्धनका तर्फबाट देउमान थेवे र नेकपा एमालेका तर्फबाट एलपि सावा बिच प्रतिष्पर्धा हुने देखिन्छ ।
क्षेत्र नं ५
नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपि शर्मा ओलीको निर्वाचन क्षेत्र रहेको झापा ५ का बारेमा देशभरकै चर्चा छ । यहाँ ओलीसँग अन्य २४ जना प्रतिस्पर्धी छन् । १२ जना स्वतन्त्र र १२ जना अन्य विभिन्न दल गरि २४ जना उम्मेदवारको सामना ओलीले यो निर्वाचनमा गर्नु परेको छ । यो क्षेत्रमा दमकको १० वटा वडा, कमल गाउँपालिकाको ७ वटा वडा, गौरादह नगरपालिकाको ८ वटा वडा र गौरिगञ्ज गाउँपालिकाको ४ वटा वडा गरि २९ वटा वडा छन् । यहाँ ७६ हजार ६७ प’रुष र ७८ हजार २२० महिला गरि कुल १ लाख ५४ हजार २८७ जना मतदाता रहेका छन् । यहाँ ६१ वटा मतदान स्थल र १७६ वटा मतदान केन्द्र रहेका छन् । यहाँ एमालेका ओली र गठबन्धनका तर्फबाट खगेन्द्र पाण्डव अधिकारी मुख्य प्रतिस्पर्धीका रुपमा छन् ।

































































































