काँकरभिट्टा २४ कात्तिक । झापा क्षेत्र नं–१ प्रतिनिधिसभा सदस्यका लागि गठबन्धनका उम्मेद्वार विश्वप्रकाश शर्मासहित गठबन्धन कार्यकर्ताहरुले बिहीबार काँकरभिट्टा–२, ५, १२ र भद्रपुर–९ मा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् ।
नेपाली कांग्रेसका महामन्त्री शर्माले सम्बन्धित वडाका घर–घरमा पुगेर मतदातासँग मत माग्नुभएको हो । सो क्रममा स्थानीयबासीले विश्वप्रकाशलाई संसदमा पु¥याउने प्रतिबद्धता जनाउँदै स्थलगत समस्याहरु राखेका थिए ।
घरदैलो अभियानका क्रममा काँकरभिट्टा २ र ५ बाहुनडाँगी क्षेत्रका स्थानीयबासीले हात्ती र सुकुम्बासी समस्या प्रमुख रहेको बताएका थिए भने कृषकका समस्यासँगै स्थानीयस्तरमा विकास निर्माणको आवश्यकताबारे पनि शर्मालाई जानकारी गराएका थिए ।
कांग्रेसको प्रवक्ता रहँदा तथा महामन्त्री भएपछि झापा क्षेत्र नं–१ को सडक निर्माण एवं सामाजिक रुपान्तरण, स्वास्थ्य सेवामा ब्यक्तिगत रुपमा तथा मेची अभियानमार्फत समेत पहल गरेका शर्माले स्थानीय समस्याहरुका बारेमा आफू जानकार रहेको बताउँदै समाधानका लागि पहल गर्दै जाने आश्वासन दिएका थिए ।
संविधानको रक्षा, लोकतान्त्रिक शासन पद्धतिको विकास र राजनीतिमा परिवर्तनका लागि गठबन्धन आवश्यक रहेको बताउँदै शर्माले गठबन्धनका उम्मेद्वारहरुलाई जिताएर जनताको समृद्धिका लागि काम गर्ने अवसर दिन आग्रह गर्नुभएको थियो । झापा क्षेत्र नं–१ प्रदेशसभा १ का उम्मेद्वार गोपाल तामाङ लगायत गठबन्धनका नेता÷कार्यकर्ताको उल्लेख्य उपस्थितिमा घरदैलो कार्यक्रम सम्पन्न भएको हो ।
यसैगरी झापा क्षेत्र नं–३ का लागि प्रतिनिधिसभा सदस्यका लागि गठबन्धनका साझा उम्मेद्वार कृष्णप्रसाद सिटौलाले भद्रपुरमा आयोजित कोणसभालाई सम्बोधन गर्दै युवा शक्तिले देश निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
३–७३ अर्थात ३ बर्षमुनीका बालबालिका र ७३ बर्षमाथिका जेष्ठ नागरिकको निशुल्क उपचार एवं युवाहरुलाई रोजगारीको अवसर सिर्जनाका लागि कांग्रेसले आफ्नो घोषणापत्रमा उल्लेख गरेका कार्यक्रम कार्यान्वयन गर्न गठबन्धनको जीत आवश्यक रहेको बताउनुभयो ।
चितामा पुगिसकेको राजतन्त्र पुनः नब्युतने दावी गर्दै सिटौलाले वर्तमान संवैधानिक ब्यवस्था बमोजिम राज्यबाट सुविधा लिएका ब्यक्तिले ब्यवस्थाको विरोध गरेर हिड्न नहुने धारणा राख्नुभएको थियो । कार्यक्रममा क्षेत्र नम्बर–३ प्रदेशसभा–१ का उम्मेद्वार भूमिप्रसाद राजवंशीले पनि आफ्नो धारणा राख्नुभएको थियो ।
यसैबीच झापा क्षेत्र नं–४ अन्तरगत शिवसताक्षी–४, गौरीगञ्ज १ को महाभारा, २ को कोरोबारी र गौरादह–९ को बैगुनधुरामा घरदैलो अभियान एवं कोणसभा सम्पन्न भएको छ ।
सो क्षेत्रका विभिन्न स्थानमा आयोजित कोणसभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सभापति एवं गठबन्धनका साझा उम्मेद्वार थेवेले झापा क्षेत्र नं–४ को शैक्षिक विकासका लागि विद्यालय भवन निर्माण एवं स्तरउन्नति, स्वास्थ्य, नदी नियन्त्रण एवं सडक निर्माण र स्तरउन्नतिका लागि आफ्नो पहलमा करेडौं बजेट भित्र््याएको जानकारी दिनुभयो ।
लगभग तीनदशक अघिदेखि जनप्रतिनिधि एवं नेपाली कांग्रेसको विभिन्न पदीय दायित्वमा रहेर आफूले यस क्षेत्रको विकास निर्माणका लागि गरेको कामको मूल्याङ्कन गरेर मतदान गर्न मतदातालाई आग्रह गर्दै थेवेले मुलुकको स्थायित्वका लागि गठबन्धनको सरकार आवश्यक रहेको धारणा राख्नुभयो । कोणसभामा झापा क्षेत्र नं–४ प्रदेशसभा क का उम्मेद्वार झलकसिंह दर्लामीले पनि आफ्नो पहलमा भएका विकास निर्माणका योजनाहरुबारे बताउनुभएको थियो ।
यसैबीच झापा क्षेत्र नं–२ अन्तरगत झापाको बुद्धशान्ति ३ मा घरदैलो कार्यक्रम सम्पन्न भएको छ । क्षेत्र नं–२ का लागि प्रतिनिधिसभा सदस्यका उम्मेद्वार हरिकुमार राना र क्षेत्र नं–२ प्रदेशसभा २ का उम्मेद्वार खगेन्द्र मैनाली, समानुपातिक उम्मेद्वार पम्फा वि।क तथा गठबन्धनका कार्यकर्ताहरुले वडा नं–३ मा घरदैलो कार्यक्रम सम्पन्न गरेका हुन् । यसैगरी क्षेत्र नं–२, प्रदेशसभा–१ का उम्मेद्वार पुष्पराज पोखरेलसहित गठबन्धनका कार्यकर्ताहरुले विर्तामोड–७ मा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् ।
झापा क्षेत्र नं–५ का लागि गठबन्धनका उम्मेद्वार डा। खगेन्द्रपाण्डव अधिकारी र प्रदेशसभा–१ का उम्मेद्वार गगन पुरी सहभागी गठबन्धनका कार्यकर्ताहरुले दमक नगरपालिकाको १ नं र ३ नं वडामा घरदैलो एवं कोणसभा कार्यक्रम सम्पन्न गरेका छन् ।
१ र ३ का विभिन्न टोलमा आयोजित कोणसभालाई सम्बोधन गर्दै प्रतिनिधिसभा उम्मेद्वार डा। अधिकारीले दुईतिहाइ नजिक मत प्राप्त गर्दासमेत पाँच बर्ष सरकार टिकाउन नसक्नु के।पी। ओलीको असक्षमता भएको बताउँदै यसपालीको निर्वाचनमा सक्षम ब्यक्ति छान्न जनतासमक्ष आह्वान गर्नुभयो ।
नेपाली कांग्रेसले आफ्नो घोषणापत्रमार्फत शिक्षा, स्वास्थ्य, रोजगारी र उत्पादन क्षेत्रमा स्पष्ट योजनाहरु ल्याएको उल्लेख गर्दै उहाँले स्थायित्व र विकासका लागि गठबन्धन उम्मेद्वारलाई जिताउन अपिल गर्नुभयो । कार्यक्रममा प्रदेशसभा–२ का उम्मेद्वार गगन पुरीले पनि सम्बोधन गर्नुभएको थियो । यसैबीच क्षेत्र नं–५ प्रदेशसभा–१ का उम्मेद्वार जीवन राईसहित गठबन्धनका कार्यकर्ताहरुले कमल गाउँपालिका–१ मा घरदैलो अभियान सम्पन्न गर्नुभएको छ ।
चुनावी दौडाहा : मतदाताका घर घरमा उम्मेद्वारहरु

































































































