झापा २२ कात्तिक। आगामी मंसिर ४ गते हुने निर्वाचनलाई लिएर मत सर्भेक्षण गरी सार्वजनिक नगर्न निर्वाचन आयोगले निर्देशन गरेको छ । औपचारिक रुपमा आयोगले मत सर्भेक्षण र सार्वजनिक गर्न रोक लगाएपनि अहिले चिया पसलदेखि भट्टि पसलसम्म चुनावी बहस नै चल्ने गरेको पाइन्छ । मतदाताहरु पहिलेको भन्दा खुल्न थालेका छन् । यस कारण फलानालाई भोट दिन्छु भन्ने अभिव्यक्ति सुन्दा मतदाता सचेत भएका हुन् वा शसक्त भन्न सकिन्छ ।
आफूले मतदान गर्ने क्षेत्रदेखि देशभरबाट चर्चामा रहेका उम्मेद्वार, जितको संभावना, विकासको भिजन भएर पनि नेता नेताहरुबीचको टसलको कोपभाजनमा परेका व्यक्तिहरु, अनि राजनीतिक दलका शीर्ष नेतृत्वको उम्मेद्वारी र उनीहरुले सत्तामा जानकै लागि इत्तर दलसंग गरेको सत्ता लक्षित निर्वाचन सहकार्य लगायतका विषयले चुनावी माहौल गर्माएको छ ।
मंसिर ४ मा हुने निर्वाचनको विषय लिएर अन्य जिल्ला भन्दा झापा बढी नै चर्चामा छ । यसको कारण दुईवटा छन् । १. ‘हेवीवेट’ नेताहरु चुनावी मैदानमा हुनु २. नीति, सिद्धान्त, बिचार बिल्कुल नमिल्ने शक्तिबीचको चुनावी तालमेल ।
नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, एमाले स्थायी कमिटि सदस्य अग्नी खरेल जस्ता ‘हेवीवेट’ नेता झापाबाटै प्रतिष्पर्धी भएकाले नै झापाले चर्चा पाएको हो ।
लोकतान्त्रिक बाम गठबन्धनले भन्दा एमाले–राप्रपाको तालमेल आश्चार्यजनक छ । हुन त यी दुईको चुनावी गठजोड पुरानै हो । २०६२/०६३ मा व्यवस्था परिवर्तनका लागि भएका आन्दोलनमा विपक्षमा उभिएको एउटा शक्तिसंगको एमालेको चुनावी तालमेल अर्थपूर्ण छ । यी दुई दलका केन्द्रीय अध्यक्ष ओली र लिङ्देन दुवै एक्ला एक्लै चुनावी मैदानमा जाँदा असुरक्षित देखेपछि आफू सुरक्षित हुनकै लागि जनआन्दोलनताका विपरित ध्रुवमा रहेका राजतन्त्र विरोधी र समर्थकको तालमेल संभव भएको हो ।
झापा क्षेत्र नं. ५ मा पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रतिनिधिसभा सदस्यका लागि चुनावी प्रतिष्पर्धामा छन् । उनीसंग प्रतिष्पर्धा गर्न कांग्रेससहित १२ वटा दलीय उम्मेद्वार मैदानमा छन् भने स्वतन्त्र उम्मेद्वारका रुपमा अरु १३ जना पनि त्यही दौडाहामा छन् । दलिय प्रतिष्पर्धाका हिसावले ओलीसंग कांग्रेसका उम्मेद्वार खगेन्द्र अधिकारी नै देखिन्छन् । यो पटक ओलीको प्रतिष्पर्धीका रुपमा लेखक युग पाठक पनि उभिएका छन् । साना दल अस्तित्वको लडाईमा छन् भने स्वतन्त्र उम्मेद्वारहरु प्रति पनि मतदाताको मत जाने खतरा देखिन्छ । यसले कसलाई कहाँ पुर्याउँछ अनुुमान गर्न कठिन छ ।
गठबन्धन दलका तर्फबाट काङ्ग्रेसका कृष्ण सिटौला सो क्षेत्रमा लिङ्देनसंग चुनावी प्रतिष्पर्धामा छन् । २०७४ को निर्वाचनमा देशभर एमाले–माओवादी एकभएर चुनाव प्रतिष्पर्धा गर्दा झापा क्षेत्र नम्बर–३ मा एमाले राप्रपाबीच नै चुनावी तालमेल भएको थियो ।
यो क्षेत्रको बलियो राजनीतिक शक्ति कांग्रेस, एमाले र राप्रपा हुन् भने माओवादी केन्द्र अन्य पार्टीको तुलनामा कमजोर छ ।
जनआन्दोलन ताका झापाको चन्द्रगढीमा व्यवस्था परिवर्तनका लागि भएको आन्दोलन ताका जिल्ला सभापतिका रुपमा लिङ्देन नै थिए । त्यो बेला कांग्रेस, एमाले, माओवादीले गरेको आन्दोलनलाई दबाउन सुरक्षा निकायलाई उकास्न उनै लिङ्देनले भूमिका खेलेको आरोप लाग्दै आएको छ । त्यो बेला सुरक्षाकर्मीले चलाइएको गोली लागेर धेरै कांग्रेस, एमाले र माओवादीका कार्यकर्ता घाइते, अंगभंग भएभने दुईजनाले सहादत प्राप्त गरेका थिए । नेतृत्वको स्वार्थकै लागि एमालेले त्यस्तो शक्तिसंग प्रत्येक चुनावमा तालमेल गरेपछि ३ नं. क्षेत्रका एमालेमा त्याग र बलिदान गरेका नेता तथा कार्यकर्ताहरु असन्तुष्ट छन् । त्यसैको उपज हो–एमालेबाट यसअघि हल्दिबारीमा उपाध्यक्ष भएका डम्बर गिरीको उम्मेद्वारी ।
त्यसैगरी झापा क्षेत्र नं.–१ मा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र एमालेका पूर्व कानून मन्त्री तथा मुख्य न्यायाधिवक्ता अग्नी खरेल मुख्य प्रतिष्पर्धामा छन् । २०७० सालयता कांग्रेस महामन्त्री शर्मा फरक–फरक कम्युनिष्ट उम्मेद्वारसंग क्षेत्र नं. १ मा तेस्रो पटक चुनावी प्रतिष्पर्धामा छन् ।
दुबै प्रतिष्पर्धी ढुक्क हुने अवस्थामा छैनन् । आफ्नो क्षेत्र भएका कारण शर्मा बलिया उम्मेदवारका रुपमा देखिन्छन् भने परम्परागत जनमतका कारण खरेल बलियो रहेको दावी एमालेको छ । २०७४ को चुनावमा यो क्षेत्रमा एमाले–माओवादी बाम गठबन्धनका राम कार्कीले ३६ हजार १७३ मत पाएर जितेका थिए भने नेपाली काङ्ग्रेस एक्लै चुनावी प्रतिस्पर्धामा उत्रदा शर्माले ३३ हजार ३१० मत पाएका थिए ।
स्थानीय तह निर्वाचनका क्रममा कांग्रेसभित्र मेचीनगर पालिकाको प्रमुखको टिकट वितरणमा देखिएको समस्या नै एमालेले खरेलको जितको आधार ठानेको छ । नाम उल्लेख नगर्ने शर्तमा एक एमाले नेताले भने–‘स्थानीय हुनुका साथै मर्दा, पर्दा साथ सहयोग र विकास निर्माणमा खेलेको भूमिकाका आधारमा शर्मा बलियो हुनुपर्ने हो, तर स्थानीय तहको निर्वाचनमा कांग्रेसभित्र जे देखियो, त्यो नै कांग्रेस र शर्माका लागि चुनौति हो, खरेलको जीतको आधार नै यही हो एमालेले यसैमा जित खोजेको छ ।’ उनले थपे–‘केशव पाण्डेको मेयरको टिकट शर्माले खोसेका कारण पाण्डे असन्तुष्ट छन् । मेचीनगरमा राम्रै पकड भएका पाण्डे असन्तुष्ट हुनु भनेको उनका अगाडी पछाडी पनि धेरै कांग्रेसका कार्यकर्ता छन् । पार्टीको कार्यवाहकको जिम्मेवारी दिएर फकाउने प्रयास गरेपनि, पाण्डेले त्यो ललिपप मात्र हो भन्ने बुझेका छन्।’ उनले थपे–‘त्यो असन्तुष्ट मत आउने खरेललाई नै हो ।’
तर, शर्माललाई क्षेत्र नं.१ बाट एकल नाम सिफारिस गर्नदेखि नै भूमिका खेलेका पाण्डे मनोनयन दर्तामा प्रस्तावक थिए भने अहिले पार्टीमा जिल्ला निर्वाचन परिचालन समितिको संयोजक उनी आफैं रहेका छन् । स्थानीय तहको तिक्ततता अन्त्य भैसकेको कांग्रेस स्रोतको दावी छ । जनप्रतिनिधि नहुँदै पनि विश्वप्रकाशले गरेको कामको कारण यो पटक मतदाता शर्माप्रति आकर्षित भएको कांग्रेस नेता कार्यकर्ताको भनाई छ । देशको नेतृत्व गर्न सक्ने क्षमता भएका शर्मालाई यसअघि दुईपटकसम्म चिन्न नसक्दा १ नं. क्षेत्रले ठूलो अवसर चुकाएको बताउँदै यो पटक शर्माको जित सुनिश्चित भएको कांग्रेसका कार्यवाहक सभापति पाण्डेले केही दिनअघि मेचीनगर १५ मा आयाेजित कार्यक्रममा बताए ।
पार्टीभित्रको आन्तरिक कमजोरी खोजेर उम्मेद्वार, नेता र कार्यकर्ताबीच अविस्वास उत्पन्न गराएर त्यसको फाइदा लिने प्रतिपक्षी एमालेको दाउ कति सफल हुने हो हेर्नका लागि मतपरिणाम कुर्नैपर्ने हुन्छ ।
झापा क्षेत्र नं.–१ मा शर्मा र खरेलसहित १५ जना चुनावी प्रतिष्पर्धामा छन् । आदिवासी÷जनजाति र मधेशी/मुस्लिम समुदायको बाहुल्यता रहेको क्षेत्र नं–४ मा कांग्रेस सभापति देउकुमार थेवे र एमालेका लालबहादुर साँवा मुख्य प्रतिष्पर्धामा रहेका छन् ।
प्रतिष्पर्धामा रहेका थेवे कांग्रेसका जिल्ला सभापति हुन भने साँवा निवर्तमान सांसद हुन् । थेवे र साँवाको यो दोस्रो पटकको चुनावी भेट हो । २०७४ को प्रतिनिधिसभा सदस्यमा यही क्षेत्रमा यी दुई नेता आमने सामने भएका थिए । २०७४मा एमाले–माओवादी गठबन्धन थियो भने काङ्ग्रेस एक्लै प्रतिस्पर्धामा थियो ।
चुनाव जितेपछि गाउँ नछिरेको साँवामाथि आरोप लाग्दै आएको छ भने थेवे निर्वाचनमा पराजित भएपनि बाढी, डुवानदेखि विकास निर्माणका हरेक काममा जनता संगसंगै छन् । बिकासका योजना ल्याउनेदेखि लिएर जनताको हरेक दुखसुखमा सगसगै रहेका एवं माओबादी– समाजबादीसहितका दल गठबन्धनमा रहेकाले पनि थेबे बलिया उम्मेदवारका रुपमा रहेका छ्न ।
त्यसैगरी झापा क्षेत्र नं.–२ मा एमाले प्रदेश इन्चार्ज देवराज घिमिरे र गठबन्धन अन्तरगत माओवादी केन्द्रका तर्फबाट हरिकुमार राना चुनावी मैदानमा छन् । लगभग ३० बर्षसम्म एमालेको राजनीतिमा बिताएका राना एमाले परित्याग गरी साझा उम्मेदवारका रुपमा रहेपनी चुनाब चिन्ह भने हसियाहटौडा छ । एमालेले भने रानालाइ अवसरबादीको आरोप लगाउदै एमाले उम्मेदवार घिमिरेसंग रानाको प्रतिष्पर्धा नै नहुने दावी गर्दै आएको छ ।
झापा क्षेत्र नं–२ मा प्रदेशसभा क्षेत्र १ मा कांग्रेसको आधिकारिक उम्मेद्वार नहुनु, यसअघि कांग्रेसकै प्रदेश अधिवेशन प्रतिनिधिको उम्मेद्वारी स्वतन्त्र उम्मेद्वार रहनु कांग्रेस बिपीबाट पूर्व नेविसंघका कार्यकर्ता उम्मेद्वार हुनुले पनि मत काटिन्छ कि ! राना प्रदेशसभा २ मा राम्रै प्रभाब भएका नेताका रुपमा स्थापित छ्न । प्रदेशसभा १ मा तुलनात्मक रुपमा प्रभाव कम छ । तर एमालेले राना र घिमिरे प्रतिष्पर्धी नै होइनन् भन्ने दावी गरिरहँदा एमालेकै केही अग्रज नेताहरु भने उनलाई संर्किणता भन्दा माथि उठ्न नसकेको नेता भएको बताउँछन् । पार्टीको आन्तरिक जीवनमा उनको भूमिका रहेपनि जनताका बीचमा रुज्ने क्षमता घिमिरेमा नभएको एमालेका एक पुराना नेताले बताए । ती नेताका अनुसार घिमिरेको मतको आधार परम्परागत मत नै हो ।
अन्तरकलहमा परिणाम खोज्दै दलहरु

































































































