शान्तिनगर ११ असोज । झापा बुद्धशान्ति गाँउपालिकाको वडा नं. ५ मा बालीनालीमा लाग्ने रोग तथा किरा नियन्त्रणका लागि एक दिने बाली उपचार शिविर सम्पन्न भएको छ । अन्नवाली, तरकारी तथा फलफूलमा किराको आक्रमणले नष्ट गर्न थालेसँगै वडाले कृषि ज्ञान केन्द्र संघको समन्वयमा बालीमा उपचार शिविर सञ्चालन गरेको हो ।
कृषि बालीमा देखिएका समस्यालाई पहिचान गरी त्यसको व्यवस्थापनका लागि शिविर सञ्चालन गरिएको वडाध्यक्ष डेगेन्द्र कार्कीले बताउनु भयो । अन्नबाली तथा तरकारी, फलफूलमा विभिन्न किसिमका रोगले उत्पादनमा कमी आएको छ । अहिले धानबालीमा लगायत अन्य बालीमा फल फलेपनि पहेँलो भएर झर्ने, पात तथा हाँगा सुक्ने, पात कुहिने, जरा कुहिने तथा पात किराले खाने जस्ता समस्या देखिएको कृषि ज्ञान केन्द्रका प्रमुख सागर बिष्टको भनाइ छ । कृषि बालीमा देखिएका समस्यालाई समाधान गर्न विषादीको प्रयोग गरी किटाणुको व्यवस्थापन गर्न सकिने छ । तर, मानव स्वास्थ्यका लागि रासायनिक विषादीको प्रयोग भन्दा एकीकृत तथा जैविक विधिका माध्यमबाट किटाणुको व्यवस्थापन गर्न सकिने उहाँको सुझाव थियो ।
कार्यक्रममा बागबानी बिकास अधिकृत अन्कित भट्टराईले बाली शिविरबाट अन्नबाली, तरकारी तथा फलफुलमा लागेको रोगको पहिचान गर्न सहज हुने बताउनु भयो । उहाँले कृषिमा उत्पादन वृद्धि गरी व्यवसायिक बन्नका लागि कृषि सम्वन्धी ज्ञानको आवश्यक रहने धारणा राख्नुभयो । अन्नवाली, तरकारी तथा फलफूलमा कस्ता कस्ता समस्या देखिएका छन् त्यसको व्यवस्थापनका लागि किसान नै पहिला जानकार हुनुपर्ने बिष्टको सुझाव थियो ।
वडाध्यक्ष कार्कीले शिविरमार्फत कृषि उत्पादन वृद्धि हुने र किसानले बढीभन्दा बढी लाभ लिन सक्ने बताउनु भयो । ५ नं. वडाका विभिन्न क्षेत्रमा पहिलो चरणमा बाली शिविरबाट झण्डै ५७ जना किसान लाभान्वित भएको कृषि शाखा प्रमुख बुद्धशान्तिका प्रमुख अर्जुन कुमार पौडेलले जानकारी दिनुभयो । आज मङलबार सञ्चालन गरिएको प्लान्ट क्लिनिक शिबिरमा किसानले ल्याएका रोग तथा किरा लागेका बालीनालीको ६७ वटा नमूना परीक्षण गरिनुका साथै औषधि वितरण पनि गरिएको थियो ।
शिविरमार्फत अन्नवालीमा देखिएका रोगको पहिचान गरी व्यवस्थापन गर्न सहज बनाइएको किसान मुल कृषक समूह बुद्धशान्ति ५ का अध्यक्ष धन बहादुर श्रेष्ठले बताउनु भयो ।
शान्तिनगरमा बाली उपचार शिविर, किसानलाई राहत

































































































