कनकाई ६ असोज । आर्थिक अभावका कारण दुई वर्षीय बालकको उपचारमा समस्या भएपछि झापाको कनकाई नगरपालिका– ८ का मञ्जुल मुर्मूले उपचारका लागि सहयोगको अपिल गरेका छन् ।
आफ्नो दुई वर्षीय छोरा विशाल मुर्मूको फोक्सोमा पानी जमेको र उपचारका लागि खर्च अभाव भएपछि मुर्मूले सहयोगको अपिल गरेका हुन् । १५ दिन अघि मुर्मू छोराको उपचारका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर पुगेका थिए । तर, त्यहाँ विशालको उपचार सम्भव नभएपछि अस्पतालले विशाललाई थप उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरेको छ ।
‘मेची अस्पतालले छोरालाई धरान रेफर गरेसंगै उपचारका लागि विशाललाई धरान लगिएको छ तर, औषधि किन्न समेत पैसा नभएपछि चन्दा संकलन गर्नु परेको छ ’ उनका बुवा मञ्जुलले भने –छोराको उपचारका लागि अस्पतालले कम्तिमा पाँचलाख रुपैयाँ खर्च लाग्छ भनेको छ त्यत्रो पैसा कसरी जुटाउने ?
बिरामी छोरालाई श्रीमती गीतासंग धरानमा छाडेर पैसाको जोहो गर्न घर आएका मुर्मूले अहिले दिनहुँ कनकाई नगरपालिका आसपासमा चन्दा संकलन गरिरहेका छन् । संकलित चन्दाले जसोतसो दैनिक प्रयोग गरिने औषधि किन्न पुगेपछि शल्यक्रियाका लागि खर्च अभाव भएपछि छोराको जीवन बचाई दिन उनले सबैसंग आग्रह गरेका हुन् ।
दैनिक ज्याला मजदुरी गरी जीवन निर्वाह गर्दै आएका मुर्मूको आग्रहसंगै स्थानीय युवा अनिल पौडेलले रकम संकलनका लागि अग्रसरता देखाएका छन् । पौडेलले अहिले कनकाई नगरपालिका ८ को वडा कार्यालयसहित स्थानीय दाता, व्यवासायी तथा समाजसेवीहरुसंग चन्दा संकलनका लागि सहयोग पु¥याउँदै आएका छन् ।
बालकको फोक्सोमा पानी जमेको र तत्काल शल्यक्रिया गरेर फोक्सोमा पानी नफाल्ने हो भने बालकको अबस्था गम्भीर हुने देखेपछि उपचारमा सहयोग पु¥याउन सहयोग पु¥याएको हुँ पौडेलले भने– ‘मञ्जुलंसंग न मोवाइल छ, न बैंकमा खाता नै खोलेको छ, यस्तो अवस्थामा सहयोग पु¥याउन पनि निक्कै कठिन हुँदो रहेछ । हिजो उनी आफैं विरामी हुँदा जसोतसो चन्दा सहयोग गरेर उनलाई ठीक गरियो तर, अहिले नानी विरामी भएपछि फेरि सहयोग संकलन गर्नु पर्या छ ।’
‘आफ्नो एक्लो प्रयासले मात्रै बालकको जीवन बचाउन कठिन छ ’ पौडेलले भने–‘मानवीय सेवाका लागि दाता महानुभावले थोरै–थोरै सहयोग गरेर भएपनि विशालको जीवन बचाई दिन म सबैसंग आग्रह गर्छु ।’
मुर्मूको आर्थिक अवस्था ज्यादै कमजोर भएपछि सहयोग उपलब्ध गराई दिन कनकाई नगरपालिका वडा नम्वर ८ ले समेत आग्रह गरेको छ । मुर्मूको बैंक खाता खोल्ने तयारी भइरहेको छ । सहयोगीहरु आर्थिक वा औषधिजन्य सामग्री सहयोग गर्न चाहेको खण्डमा आफूलाई सम्पर्क गरिदिन आग्रह गर्दै पौडेलले आफ्नो मोवाइल नम्वर ९८१८८५२५७६ समेत सार्वजनिक गरेका छन् ।
दुई वर्षीय बालकको फोक्सोमा पानीः उपचारमा समस्या भएपछि मुर्मूद्वारा सहयोगको अपिल

































































































