विर्तामोड २९ भदौ । झापाको सुरुङ्गामा ओ.भी. सुरुङ्गा सपिङ कम्प्लेक्स (डिपार्टमेन्ट स्टोर) का सञ्चालक रुपन मण्डल र बेचन मण्डलले घरबेटी रुद्रप्रसाद ढकालले कम्प्लेक्सको चावी कब्जा गरेको आरोप लगाएका छन् ।
झापाको विर्तामोडमा आज पत्रकार भेटघाट गर्दै कम्प्लेक्सका सञ्चालकद्वयले आफ्ना स्टापले पसल खोल्न लाग्दा गत साउन २१ गते चावी कब्जामा लिएर हालसम्म डिपार्टमेन्ट स्टोर सञ्चालन गर्न नदिएको भन्दै उक्त कार्यको निन्दा र भत्र्सना गरेका हुन् । सञ्चालकद्वय नाताले दाजुभाइ हुन् भने कनकाई नगरपालिका –५ का स्थायी बासिन्दा रहेको बताइन्छ ।
कम्प्लेक्सको चावी घरधनी रुद्रप्रसाद ढकाल र उनका भाइ ओमप्रसाद ढकालले खोसी लगेको र डिपार्टमेन्ट स्टोर एवं स्टोरभित्र रहेका सामग्री कब्जा गरेको जनाउँदै पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा भनिएको छ–‘गुण्डागर्दी शैलीमा भएको यस्तो हर्कतको निन्दा र भत्र्सना गर्दै दोषीमाथि कानुनी कारबाहीको समेत माग गर्दछौं ।’
कम्प्लेक्सका सञ्चालकद्वयले २०७६ साल असार ३१ गते १० बर्षका लागि ढकालको घर भाडामा लिएर ब्यवसाय शुरु गरेको र प्रतिमहिना ४८ हजार रुपैयाँ भाडा दिने सम्झौता भएको जनाएका छन् । नियमित रुपमा घरभाडा बुझाएको र पछिल्लो दुईमहिनाको भाडा तिर्न बाँकी रहेको अवस्थामा गत साउन २१ गते घरधनीले चाबी कब्जा गरिदिदा आफूहरुको ब्यापार–ब्यवसाय चौपट भएको सञ्चालक रुपन् मण्डलले बताएका छन् । मासिक रुपमा ४८ हजार रुपैयाँ भाडा दिने सम्झौता गरी २ तलामा भएका १२ वटा सटर भाडामा लिएको, त्यसको डेकोरेशनमा मात्रै ९० लाख बढी खर्च भएको र विभिन्न बैंक, सरकारी एवं वित्तीय संस्थाहरुबाट ऋण लिई तीनकरोड ५० लाख बढीको लगानीमा सपिङ कम्प्लेक्स सञ्चालनमा ल्याएको मण्डलले बताए ।
४८ हजार रुपैयाँ मासिक घरभाडा तिर्ने सम्झौता गरिएपनि ढकालले मासिक ८५ हजार रुपैयाँ भाडा लिने गरेको मण्डलको आरोप छ । सम्झौता गर्दा धरौटीको विषयमा कुरा नै नभएको दावी गर्दै उनले आफुहरुले मासिक ३७ हजार रुपैयाँ धरौटी बापतको रकम समेत बुझाएको र दुईमहिनाको ९६ हजार रुपैयाँमात्रै घरभाडा तिर्न बाँकी रहेको मण्डलको दावी छ ।

कोरोना महामारीका कारण भएको लकडाउन ब्यापार–ब्यवसाय ठप्प हुँदा बैंकको किस्ता तिर्नसमेत समस्या भएको र भर्खरमात्रै ब्यवसाय सञ्चालनको वातावरण बन्दै गएको अवस्थामा घरधनीले सम्झौता विपरितको कार्य गरिदिदा आफूहरु दोहोरो मारमा परेको उनीहरुको भनाइ छ । ब्यापार–ब्यवसाय धरासायी हुँदा अहिले पनि आफूहरुले बैंक तथा विभिन्न वित्तीय संस्थाहरुको लगभग २ करोड ऋण तिर्न बाँकी रहेको उनले बताए । ऋण प्रवाह गरेका वैंक तथा वित्तीय संस्थाले अनुगमन गर्दा कम्प्लेक्स बन्द देखेपछि सम्बन्धित संस्थाहरुले समेत ऋण तिर्न ताकेताका लागि पत्र काटिसकेको मण्डल बताउँछन् ।
‘डिपार्टमेन्टल स्टोरभित्र रहेको नगद अठार लाख तथा खुजुरा साठी हजार त्यस्तै कम्पनीको नामबाट र ब्यक्तिगत सहीछाप भएका विभिन्न बैंकहरुका चेक तथा खाली चेक र सही भएका चेकहरु अनि विभिन्न बील भरपाई गरी तीनकरोड ५० लाखभन्दा बढीको डिपार्टमेन्ट स्टोरभित्र रहेको सामानहरु समेत कब्जा भएको छ’–पत्रकार सम्मेलनमा वितरित विज्ञप्तीमा उल्लेख गरिएको छ ।
केहीदिनयता आफूहरुमाथि नै सुरक्षा चुनौती थपिएको भन्दै मण्डल दाजुभाइले जिल्ला प्रशासन कार्यालय झापामा जिउ धन तथा ओ.भी. सुरुङ्गा सपिङ कम्प्लेक्स’को लगानी संरक्षण गरी न्याय पाउँ भन्दै आवेदन समेत गरेको बुझिएको छ । ब्यवसाय सञ्चालनमा कठिनाइ आएपछि उद्योग बाणिज्य संघ सुरुङ्गामा समेत सहजीकरणका लागि आवेदन दिएपनि आफूहरुको माग सम्बोधनमा संघले चासो नदेखाएको उनीहरुले बताए । इलाका निवेदन दर्ता गर्न जाँदा त्यहाँ हामी मिलाउँछौं भन्दै रोक्नुभयो, छलफल अगाडी बढाउन सक्नुभएन, चासो नै दिनुभएन । सम्झौता बिपरीत घरवालाकै पक्षमा लागेर हामीलाई हतोत्साही बनाइराख्नु भएको छ ।’
एकबर्षदेखि भाडा नतिरेको घरबेटीको दावी
यता घरधनी रुद्रप्रसाद ढकालले भने एकबर्षअघिदेखिको घरभाडा आफूले नपाएपछि चावी कब्जामा लिएको बताएका छन् । जनआन्दोलन डट कमसँगको टेलिफोन सम्पर्कमा उनले भने–‘एकबर्षदेखि ती भाइहरु हामीसँग सम्पर्कमा छैनन् । घरभाडा तिर्न बाँकी छ । स्टापलाई माग्दा हामी जान्दैनौ भन्ने जवाफ दिन्छन् । बारम्बार यस्तो जवाफ दिएपछि कम्प्लेक्सको चावी लिएका हौ । उनीहरु सम्पर्कमा आएर भाडा बुझाए चावी फिर्ता दिन्छौं ।’
घरबहाल कर बढी लाग्ने भएपछि ४८ हजारमा सम्झौता गरिएपनि मासिक ८५ हजार रुपैयाँ भाडा दिने मौखिक सहमति भएको ढकालको दावी छ । सोही दररेटमा आफूहरुले भाडा लिएको तर शुरुवातमा धरौटी लिएपनि पछि धरौटी नलिएको उनको दावी छ । ‘कम्प्लेक्सका सञ्चालकहरु सम्पर्कमा आएर भाडा तिरेर बन्द रहेको अवधिको भाडा छुट दिन्छु । भाडा पाउनेवित्तिकै म चावी फिर्ता दिन्छु’–ढकालले भने–लामो समयसम्म सम्पर्कमा नआएपछि मैले त खोजी गरी सम्पर्क गराइदिनका लागि प्रहरी चौकी सुरुङगामा आवेदन नै दिएको छु ।’

































































































