झापा । ऋषितर्पणी पूर्णिमा (जनैपूर्णिमा) को दिन झापा भद्रपुर नगरपालिका –३ को ऐतिहासिक तथा पुरातात्विक क्षेत्र किच्चकबध नजिक देउनिय खोलामा तागाधारी समुदायले सामुहिक स्नान गरेका छन् ।
आज सो समुदायका मानिसले नजिकको पवित्र नदी, खोला तथा पोखरीमा गएर गहुँत, गोबर, माटो, खरानी, तिल, जौ, कुस, दूध, दही, अपमार्ग शरीरमा दलेर नुहाउने धार्मिक परम्परा छ। यसरी नुहाउँदा वर्ष दिनभरको दोष मेटिने विश्वास गरिन्छ ।

नुहाइसकेपछि बुबाआमा नभएकाले पितृका नाममा तर्पण दिने गर्छन् । त्यसपछि नजिकको मन्दिरमा गएर पुरानो जनै (यज्ञोपवित) परिवर्तन गरेर ब्राह्मणले मन्त्रेको नयाँ जनै धारण गर्ने प्रचलन छ ।
‘सत्ययुगमा दानवद्वारा देवगणलाई धेरै लखेटेपछि गुरु बृहस्पतिले देवताको रक्षार्थ रक्षा शुत्र विधान तयार गरेर बलशाली दानवराज बली रक्षा शुत्रद्वारा बाँधिए ।’ ‘त्यसैले म तिमीलाई पनि रक्षा सूत्र बाँध्दछु, यस शुत्रले तिमी सुरक्षित बन तथा कहिल्यै विचलित नहोऊ भनी रक्षा शुत्र (डोरो) बाँधेर दानवबाट जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेको रक्षाबन्धनको परम्परा आज पर्यन्त सनातन पद्धतिमा प्रचलित रहेको छ ।
प्रत्येक बर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने यो विशेष पर्व हो।
यसैबीच आजकै दिन बिर्तामोडस्थित ब्रम्हकुमारी राजयोग भवनमा सामुहिक रक्षा बन्धन सम्पन्न भएको छ । सामुहिक रक्षाबन्धन कार्यक्रमलाई सम्बोधन गर्दै बिर्तामोड नगरपालिका मेयर पवित्रा महतारा प्रसाईंले माया र प्रेमले अडिएको संसारमा हाम्रा संस्कार पालनले आफन्त र दाजुभाइ दिदीबहिनीबीच अन्योन्याश्रित सम्बन्धको विकास भएर जाने विश्वास व्यक्त गर्नुभयो ।

































































































