बिर्तामोड १८ साउन । नेताले पत्रकार देख्दा समाचारको अपेक्षा गर्नु स्वभाविक हो । पत्रकारले पनि आश लाग्दो नेता देखेपछि आफ्नो रोजीरोटी खोज्नु अस्वाभाविक होइन । त्यसमा पनि नेताकै आग्रहमा पत्रकार भेटघाट गरेपछि त पत्रकारले कलम र क्यामेरा खोल्नु पेशागत धर्म हो ।
तर, बुधबार न पत्रकारले त्यो धर्म पूरा गर्न पाए न नेताले ‘न्युज’ को अपेक्षा नै राखे ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनको आमन्त्रणमा बिर्तामोडस्थित होटल डेनियलमा पत्रकार भेटघाट कार्यक्रम थियो । जहाँ पुग्ने वित्तिकै क्यामेरावाला पत्रकारहरुले क्यामेरा रेडी अवस्थामा राखे भने कतिले मोवायल निकालेर फोटो खिच्न तम्तयार भए ।
तर, सधैं सरल स्वभाबमा प्रस्तुत हुने अध्यक्ष लिङदेनले आफैं भने–‘आज न क्यामेरा खोल्नु पर्छ न कलमले लेख्नु नै पर्छ ।’ उनले थपे क्यामेरा र कलम दुवै बन्द गर्नुहोस्, आज समाचार लेख्नु पर्दैन ।’
राप्रपाको अध्यक्ष भएपछि पहिलो पटक पत्रकारहरुसंग मात्रै सामुहिक भेटघाट गरेका लिङ्देनले सल्लाह र सुझाव दिन पत्रकारलाई आग्रह गरे । उनले भने–आज प्रश्न होइन तपाईहरुको सल्लाह र सुझाव दिनुहोस् ।’
त्यसपछि क्यामेरा र कलम बन्द गरेका पत्रकारहरुले आ–आफूले मनमा लागेको धारणा राख्दै सुझाव दिए । कुनै नयाँ कुरा बोल्नु पर्दा गृह जिल्लाबाटै उद्घोष गर्न, गणतन्त्रवादीहरुको भोटको मोहमा नफस्न, अस्पष्ट राष्ट्रिय मुद्दालाई जनता सामु स्पष्ट पार्न, निर्वाचनमा गठबन्धन लगायतका विषयमा सुझावहरु दिए ।
पत्रकार भेटघाटको अन्त्यमा अध्यक्ष लिङदेनले कठिन परिस्थितिबाट पनि आफू अध्यक्ष भएको उल्लेख गर्दै वंश विरासतमा चलेको राजनीतिको अन्त्य गर्न सामान्य मान्छेले पनि संभव हुँदोरहेछ भन्ने उदाहरण भएको बताए ।
सो अवसरमा पार्टीका प्रवक्ता भक्ति सिटौला, जिल्ला अध्यक्ष केशव ओझा लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।
भेटघाटमा मोहन काजी, केशव भट्टराई, गणेशमान मुखिया, प्रेम आचार्य, सुब्रत न्यौपाने, इन्दु पूर्वेली, लिला अनमोल, नारायण अर्याल, इन्द्रसिह राजवंशी, विनोद पाण्डे लगायतले सुझाव दिएका थिए ।
‘आज कलम र क्यामेरा खोल्नु पर्दैन’

































































































