काठमाडौं ३१ असार । नवनिर्वाचित उपसभामुख पुष्पा भुसालले आफ्नो जिम्मेवारीलाई इमान्दारितापूर्वक निर्वाह गर्ने बताउनु भएको छ । आज शुक्रवार उपसभामुखमा निर्वाचित भएसँगै संसद् भवन नयाँ बानेश्वबाट बाहिरिने क्रममा उपसभामुख भुसालले इमान्दारितापूर्वक जिम्मेवारी निर्वाह गर्ने बताउनु भएको हो । उहाँले संविधानको कार्यान्वयनका लागि आफ्नो भूमिका रहने उल्लेख गर्नुभयो । राष्ट्रिय राजनीतिको विविध आयामलाई व्यवस्थापन गर्न, जनजीविकाको सवाललाई सदनमा उठाउनका लागि र देशको समृद्धिका लागि आफूले भूमिका खेल्ने उहाँको भनाइ छ । संविधान कार्यान्वयनका लागि, समावेशी लोकतन्त्र, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मर्म अनुसार राष्ट्रिय राजनीतिमा देखापरेका आयामहरूलाई व्यवस्थापन गर्नका लागि, जनजीविकाको सवालमा सदनमा अत्यन्त महत्त्वपूर्ण ढङ्गबाट विषय उठाउने बताउनु भयो ।
उपसभामुख भुसालले संवैधानिक परिषदमा समन्वयकारी भूमिका खेल्ने बताउनुभयो । संवैधानिक परिषद्सँग संविधानले राखेको अपेक्षा पूरा गर्न आफूले प्रभावकारी ढङ्गले काम गर्ने उहाँको भनाइ छ । उहाँले आफू सम्बद्ध राजनीतिक दलसँग सम्बन्धित सबै प्रकारका राजनीतिक जिम्मेवारीहरू स्थगित गरेको पनि बताउनुभयो ।
को हुन उपसभामुखमा निर्वाचित भुसाल ?
२०१७ फागुन १ गते जन्मिएकी अर्घाखाँची पोखराथोकमा जन्मिएकी पुस्पा भुसाल २०२८ सालदेखि राजनीतिमा आवद्ध हुनुहुन्छ । उपसभामुख हुनुअघिसम्म कांग्रेस सचेतकको भूमिकामा रहेकी भुसालले राजनीतिक यात्रा र जिम्मेवारीका क्रममा नेपाली कांग्रेसको महिला विभाग, कानुन विभागमा लामो समय क्रियाशील भएकी उनले नेपाल महिला संघको महासचिव भएर पनि काम गर्नुभयो ।
२०१५ सालको बीपी कोइरालाको मन्त्रिपरिषदमा स्वास्थ्य मन्त्री रहेका काशीनाथ गौतमकी छोरी भुसाल २०१७ सालमा पञ्चायत सुरु भएपछि काशीनाथ गौतम १४ वर्ष सपरिवार भारत निर्वासित हुँदा पुष्पा पनि सँगै हुनुहुन्थ्यो ।
महिला अधिकार र समानताको पक्षमा वकालत गर्दै आएकी भुसालले विश्वविद्यालयमा प्रध्यापन, कानुन व्यवसाय र राजनीतिलाई एकसाथ बढाउँदै आउनु भएको थियो ।
कानुनमा स्नातक र राजनीतिशास्त्रमा स्नातकोत्तर समेत गर्नु भएको छ । त्रिभुवन विश्वविद्यालयमा १७ वर्ष प्राध्यापन गरेकी भुसाल वरिष्ठ अधिवक्ता समेत हुनुहुन्छ ।
२०६४ सालको संविधानसभा सदस्य निर्वाचनमा अर्घाखाँचीबाट निर्वाचित भएर संविधान निर्माणमा भूमिका खेल्नुभएकी उहाँले संविधान मस्यौदा समितिमा रहेर काम गर्नुभयो । २०६३ सालको अन्तरिम संविधान मस्यौदा समितिमा समेत कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्दै भूमिका निर्वाह गर्नुभएकी भुसालको पारिवारिक पृष्ठमूमि पनि राजनीति हो ।
२०७४ सालको चुनावबाट समानुपातिक सांसदमा निर्वाचित भएर आएपछि उपसभामुखको उम्मेद्वार बन्नुभएकी भुसाल शिवमाया तुम्बाहाङ्फेसँग पराजित हुनुभयो ।
जिम्मेवारी इमान्दारितापूर्वक निर्वाह गर्ने प्रतिवद्धता, को हुन उपसभामुख भुसाल ?

































































































