HomeFeatured 2व्यापारीलाई मिटर काण्डः अस्तित्वको लडाई, कार्यदल गठन

व्यापारीलाई मिटर काण्डः अस्तित्वको लडाई, कार्यदल गठन

बिर्तामोड ७ असार । समस्या ठूलो छैन तर, वार्ता र संवादबाट समाधान गर्नुपर्ने विषयमा राजनीति गरेपछि तीनदिन यता तनाबग्रस्त बनेको विर्तामोड नगरपालिका क्षेत्रमा मंगलबार भने फरक दृष्यले धेरैलाई चकित पार्यो ।
आपसी छलफलबाट सहज रुपमा समाधान हुने विषयलाई नगरपालिका, पालिकाको नेतृत्व गर्ने दल र व्यापारी–व्यवसायीहरुको नेतृत्व गरेको विर्तामोड उद्योग वाणिज्य संघले नेतृत्व गरेको दोहोरो प्रदर्शन देख्दा धेरैले टिप्पणी गरे ‘काँही नभएको जात्रा हाँडी गाउँको’ भनेको यही हो ।
विषय ः विर्तामोड नगरपालिकाको नाममा रहेको बुधबारे हटिया उत्तरतर्फको खाली जमिनमा पसल व्यवसाय गर्दै आएका व्यापारीहरुले लामो समयदेखि विद्युत मिटर जडानका लागि नगरपालिकासंग सिफारिस माग गर्दै आएका थिए/छन् । व्यक्तिगत रुपमा भनसुन गर्दा नगरपालिकाबाट सिफारिस नपाएकै कारण व्यापारीहरुले उद्योग वाण्ज्यि संघलाई नेतृत्व गरिदिन गरेको आग्रहलाई संघले नगरपालिकासम्म पुर्याएको वाणिज्य संघका नेतृत्व बताउँछन् ।
साेमबार सर्वदलिय बैठकमा संघका बरिष्ठ उपाध्यक्ष राजु न्याैपानेले व्यापारीका मागहरू सम्बाेधन नहुने भए वार्तामा नबस्ने भन्दै उठेर हिडेकाे विषयलाई मिडियाबाजी भएसंगै घटनाले राजनीतिक रूप लिएकमे हाे । बिर्तामोडको इतिहासमै अहिलेसम्म नेतृत्वमा पुग्न नसकेको नेकपा एमालेले त्यही विषयलाई राजनीतिक रुप दिंदै मंगलबार दोहोरो प्रदर्शन भएको हो ।
नगरको नेतृत्वमा नेकपा एमालेको बहुमत छ भने बाणिज्य संघमा कांग्रेसमा आस्था राख्ने व्यवसायीहरुको बहुमत छ । तीललाई पहाड बनाएर राजनीतिक रोटी सेक्ने काम भएको प्रदर्शनमा रमिते बनेका एक व्यवसायीले बताए । बाणिज्य संघले पहिले माग नै नराखी एकैपटक आन्दोलनमा उत्रिनु गलत भएको टिप्पणी गर्दै उनले भने–‘यो स्थानीय सरकार हो, सत्तासिन दलले समन्वयकारी भूमिका खेल्नुपर्नेमा आफैं प्रदर्शनमा उत्रेर रमिता देखायो ।’–आफ्नो नाम उल्लेख नगर्न आग्रह गर्दै भने–‘एकले अर्काको अस्तित्व स्विकार नगर्नु नै समस्या हो, वास्तविक समस्या समाधान गर्न त धेरै समय नै लाग्दैन, एमालेले अहिले गिजोलेर वाणिज्य संघमा आगामी दिनमा नेतृत्व लिन सकिन्छ कि ! भन्ने दाऊ छ, तर आफ्नै पार्टी सत्तामा हुँदा समाधानमा देखाएको योगदान पनि उपलब्धी हो भन्नेतर्फ ध्यानै दिएको छैन, व्यापारीको हक–हित र अधिकारकै लागि हो बाणिज्य संघ– कसलाई के भन्ने, सबै भाले भाले छन्, आ–आफ्ना स्वार्थ छन् ।
एमालेले भने संघका नेतृत्वकर्ताहरुले गुण्डागर्दी गरेको दुव्र्यवहार गरेको जस्ता आरोप लगाएको सार्वजनिक भइसकेको छ ।
एमालेले सोमबार बसेको सर्वदलीय बैठकमा नगरप्रमुख पवित्रा महतारा प्रसाई र नेकपा एमालेका नगर अध्यक्ष सुवास भट्टराईमाथि वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले दुव्र्यवहार आरोप लगाएर पार्टी समर्थित राष्ट्रिय बाणिज्य उद्योग व्यवसाय महासंघले विज्ञप्ति नै जारी गर्यो । राष्ट्रिय बाणिज्य उद्योग व्यवसाय महासंघले न्यौपानेले मेयरमाथि दुव्र्यवहार र तोडफोडको उल्लेख गरेको छ ।
तर प्रत्यक्षदर्शी भन्छन्–‘सर्वदलीय बैठकमा हामी पनि थियौं, मेयर सावले कुरा राख्दै गर्दा यो काम हुन सक्दैन जग्गादातालाई पनि सोध्नुपर्छ भने पनि न्यौपाने ए हो हुँदैन भने हामी यो बैठकमा बस्दैनौं भनेर हात उठाउँदै निस्कन खोज्दा एमाले नगरअध्यक्ष भट्टराईले मेयरको कुरा नसुन्ने भन्दै रोक्न खोजेका थिए । त्यहाँ न राजुले केही गरेको होस् न सुवासले । ती प्रत्यक्षदर्शीले भने–‘मान्छेले एकदिन मर्नुपर्छ, लिएर केही जाँदैनौं, त्यसैले पनि सत्य बोल्नुपर्छ भएको त्यत्ति हो । नाम उल्लेख गरेर चेपुवामा नपर्ने बताउँदै भने–‘सत्य त्यही हो, यो घटनाले पहुँच हुँदा मिडिया पनि कसरी खनिंदा रहेछन् भन्ने’ राम्ररी बुझें–नाम उल्लेख नगर्नु होला ।
समस्यालाई समाधान गर्ने भन्दा पनि नगरप्रमुखमा म महिला हुँ अनि हेपेको भन्ने मानसिताले ग्रसित भएको स्रोतको भनाई छ । कुनै एउटा पार्टीबाट निर्वाचित भएपछि पार्टीका केही इन्डिकेटहरु होलान् । तर, मेयर सावले राम्रा कामका लागि पार्टी भन्दा माथि उठेर अघि बढ्न सक्नुपर्छ । उहाँमा आफू महिला हुँ भन्ने कमजोर मानसिकता पनि देखिन्छ– नाम उल्लेख गरे–‘जिसका लाठी उसका भैंसी’ अवस्थाले बोल्न पनि डराउनु पर्ने बताए ।
व्यापारीलाई मिटरको सिफारिस दिएर मानवीयता देखाउन र व्यापारीलाई अभिभावकीय भूमिका खेल्न संघले आग्रह गरेको छ। संघका महिला उपाध्यक्ष नैनकला भट्टराईले भनिन्–‘नगरपालिकाले सिफारिस दिएर अभिभावकीय भूमिका खेलोस्, संघले व्यवसायीको समस्या उठाएको हो, व्यापारी व्यवसायीको हक हितका लागि कुरा उठाउनु संघको दायित्व हो ।’ नगरमा एमालेको नेतृत्व छ वाणिज्य संघमा कांग्रेसमा आस्था राख्नेले नेतृत्व गरेछ उनले थपिन्–‘फरक आस्था राख्दैमा सबै कुरा पार्टीगत हुँदैनन् । नगरपालिका हामी सबैको हो एमालेको मात्र होइन, भलै निर्वाचन जितेर मेयर साव त्यहाँ पुग्नु भयो, अब उहाँ हामी सबैको हो, एमालेको मात्र होइन, वाणिज्य संघ पनि त्यस्तै हो, नेतृत्व कांग्रेसमा आस्था राख्नेले गरेको छ, तर संघ सबैको साझा हो, कांग्रेसको मात्र होइन् ।’ व्यापारीका मागलाई जबरजस्ती राजनीतिकरण गरिंदैछ’–उनले भनिन् ।
मिटरको समस्या भन्दा व्यक्तिगत टकरावका कारण समस्या समाधान पहुँच बाहिर गएको अर्का एक व्यत्तिले बताए । आन्दोलनलाई नजिकबाट नियालेका उनले भने–‘यो न एमाले नगर कमिटीको पहुँचमा छ न कांग्रेसको । कसैले कसैको कुरा सुन्दैनन, आ–आफ्ना नेताले जे भन्छन् राम्रो होस् नराम्रो होस त्यसैका पछि कुद्छन्–कम्तिमा एउटा एउटाले निकासको बाटो यो हुन सक्छ भने पो निकास निस्कन्छ– त्यसैले अब समाधानका लागि उपल्लो तहबाट मात्रै संभव देखिन्छ ।’ ती व्यक्तिले भने ।
धारणा राख्नेहरुले स्थानीय तह सबैले सबै चिनजानी भएका कारण दुश्मनी हुन सक्ने भन्दै नाम उल्लेख नगर्न आग्रह समेत गरे ।
अनारमनी गाउँपालिका हुँदै विर्तामोडका राजनीतिकर्मी तथा समाजसेवी रामबाबु प्रसाईले बुधबारे साप्ताहिक हाट लगाउने प्रयोजनका लागि सो जमिन प्रदान गर्नुभएको थियो । उक्त जमिन अहिले विर्तामोड नगरपालिकाको नाममा रहेको छ । जग्गादाता प्रसाई दिवंगत भइसक्नु भएको छ ।
जतिसुकै लडाई लाप्पा खेलेपनि अन्ततः समाधानको पाटो भनेको वार्ता, संवाद र छलफल नै हो । आपसी सद्भाव, समझदारी नै हो । राज्यसंग नीजि क्षेत्रले र नीजिसंग सरकारले पौठेजोरी खेलेर समाधान असंभव छ । तसर्थ एकले अर्काको अस्तित्व स्विकार गरी समस्या समाधानतर्फ दुवैको ध्यान जाओस् ।

कार्यदल गठन
यसैबीच बिर्तामोड नगरपालिकाले वडा नम्बर ५मा रहेको बुधबारे हटिया बजारका बारेमा उत्पन्न समस्या समाधानको लागि कार्यदल गठन गरेको छ ।
मंगलबार (आज) बसेको कार्यपालिका बैठकले कार्यदल र सल्लाहकार समिति गठन गरेको हो । नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको संयोजकत्वमा गठित कार्यदलमा वडा नम्बर ५ का वडाध्यक्ष रोहित प्रसाई र पूर्व जनप्रतिनिधि गोपीचन्द्र गिरी सदस्य रहनु भएको छ । यस्तै सल्लाहकार समितिमा पूर्व अनारमनी गाविस अध्यक्ष हर्कलाल गिरीको संयोजकत्वमा पूर्व अनारमनी गाविस उपाध्यक्ष लोकबन्धु कन्दङ्गवा र वडा नम्बर ५ का पूर्व वडाध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन सदस्य रहनेगरी समिति गठन गरिएको छ । समितिले एक महिना भित्रमा प्रतिवेदन बुझाउने गरि निर्णय गरिएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2व्यापारीलाई मिटर काण्डः अस्तित्वको लडाई, कार्यदल गठन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img