विर्तामोड ८ असार । निर्वाचित भएको एक महिना नपुग्दै विर्तामोडका उद्योगी–ब्यवसायीहरुले नगरपालिकाका मेयर र उपमेयरको राजीनामा माग गरेका छन् ।
विर्तामोडको कृषि उपज बजार परिसरमा ब्यापार गरिबस्ने ब्यवसायीहरुलाई विद्युत मिटर उपलब्ध गराउन सिफारिस दिनुपर्ने माग गर्दै धर्नामा बसेका ब्यवसायीमाथि बुधबार धरपकड गरेपछि आक्रोशित बनेका ब्यवसायीहरुले मेयर र उपमेयरको राजीनामा माग गरेका हुन् ।
विद्युत मिटर माग गर्दै ब्यवसायीहरु चारदिनदेखि निरन्तर धर्नामा थिए । बुधबार पनि ब्यवसायीको धर्ना निरन्तर थियो । नगरपालिका अगाडि विहानैदेखि लगभग डेढसयको संख्यामा प्रहरी परिचालन गरिएको थियो । लगभग ८० बढीको संख्यामा रहेका ब्यवसायीहरु विहान ११ बजे ‘वित्तीय शुसासन कायम गर’ ‘ब्यवसायीलाई मिटर जडानका लागि सिफारिस दे’ लगायतका नारासहित नगरपालिका परिसर अगाडि पुगे ।

केहीछिन धर्नामा बसेपछि कृषि उपज बजार विकासमा ब्यवसाय गरिबस्ने गरिमा राईले मन्तब्य राख्दै मानवको मौलिक अधिकार हनन् भएको बताइन् । ‘भोट माथ्दा के भन्दै आउनुभएको थियो ?’ उनले मेयर र उपमेयरप्रति लक्षित गर्दै भनिन्–‘पदमा पुगेको एक महिना नपुग्दै हिजो भनेका कुरा विर्सनुभयो ? पीडित, एकल महिलाका माग सम्बोधन गर्ने आश्वासन कहाँ गयो ? एक महिना नपुग्दै तपाइले आफू चढेको पहिलो सिढी भत्काउनुभयो ।’
‘हामी बैशाख ३० गतेसम्म नागरिक थियौं अहिले कसरी अनागरिक भयौं ?’उनले मेयर पवित्रा महतारा प्रसाईले यसअघि कृषि उपज बजार विकासका ब्यवसायीलाई अनागरिक भनेको आरोप लगाउँदै सुझाव दिइन्–‘हर्क र बालेनबाट सिक्नोस् । जनताका आवश्यकता कसरी सम्बोधन गर्नुपर्छ ?’
त्यसलगत्तै विर्तामोड उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष कुमार भट्टराईले मन्तब्य राख्दै आन्दोलनरत पक्षको सहभागिता विना बनाएको छानविन समिति अमान्य हुने धारणा राखे । नगरपालिकाले उक्त समस्या समाधानका लागि उपमेयर नगेन्द्र संग्रौलाको संयोजकत्वमा छानविन समिति बनाएपनि उद्योग बाणिज्य संघका प्रतिनिधि नराखिएपछि उद्योगीहरुले आन्दोलन जारी राखेका हुन् ।
प्रकाश र राजुसहित ब्यवसायीको गिरफतार ः
मन्तब्यकै क्रममा पूर्वअध्यक्ष भट्टराइले ब्यवसायीहरुले शान्तिपूर्ण रुपमा नगरपालिकाभित्र पस्ने उद्घोष गरे । लगत्तै धर्नामा बसेका उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी, बरिष्ठ उपाध्यक्ष राजु न्यौपाने, कुमार भटराई, कौशल खतिवडा, राधिका हुमागाई, तुलसा ढकाल लगायतका ब्यवसायीहरु अग्रपंक्तिमा उभिएर प्रहरी घेरा तोड्ने प्रयत्न गरे । तर ब्यवसायीभन्दा ठूलो संख्यामा रहेका प्रहरीहरुले ठेलेको–ठेलै बाटोको पश्चिमकोणमा पु¥याए र अध्यक्ष शिवाकोटीलाई गिरफ्तार गरी प्रहरी गाडीभित्र हाले । त्यसपछि प्रहरीको निशानामा परे–राजु न्यौपाने । निकैबेरको तानातानपछि प्रहरी भेनको पछाडिपट्टी चढाइएका न्यौपानेलाई ब्यवसायीले उतारे । सो क्रममा प्रहरीले लछारपछार पार्दै लाठी चार्ज समेत गरेको थियो । ‘ब्यावसायिक एकता जिन्दाबाद’ नारा दोहो¥याउँदै नगरपालिकाको गेट अगाडितर्फ मोडिएका न्यौपानेमाथिको प्रहरी निशाना जारी थियो । लगत्तै प्रहरीले ठेल्दै र लछारपछार पार्दै गाडी भएसम्म ल्याएर जबरजस्ती गिरफ्तार ग¥यो । ब्यवसायीहरु राधिका चुडाल, सन्तोष उप्रेती, तुलसा तामाङसहित अन्य केही ब्यवसायी पनि प्रहरी गिरफ्तारमा परे ।

त्यसपछि झन् आक्रोशित देखिएका ब्यवसायीहरुले ‘जनतामारा मेयर राजीनामा दे’ ‘जनतामारा उपमेयर राजीनामा दे’ ‘पुलिस प्रशासन मुर्दाबाद’, भन्दै नारा लगाए । प्रहरीको ज्यादतीप्रति निकै आक्रोशित बनेका महिला ब्यवसायीले ‘महिलामाथि किन दमन गरेको ?’ भन्ने प्रश्न गर्दै भने–‘तपाइहरु मेयरको गोठालो गर्दै हुनुहुन्छ, भोली तपाइहरुलाई पनि लात हान्छन् ।’ ब्यवसायीका नेतृत्व पक्राउ पछि आन्दोलन मत्थर हुने प्रहरीको आंकलन विपरित ब्यवसायीहरु पुनः धर्नामा बसेर विद्युत मिटरका लागि पटक–पटक गरिएको निवेदनका विषयमा जानकारी गराए ।

उक्त बजारमा ७० बढी ब्यवसायी मिटरविहिन रहेको बताइएको छ । उनीहरुले नगरपालिकामा पटक–पटक आवेदन गरेपनि अहिलेसम्म नगरपालिकाले नसुनेको ब्यवसायीको गुनासो छ । नेपाल विद्युत प्राधिकरणको जग्गाधनीको सिफारिसविना विद्युत मिटर नदिने ब्यवस्थाका कारण ब्यवसायीहरुले मिटर जडानका लागि नगरपालिकासँग सिफारिस माग्नुपरेको हो ।
‘त्यहाँ गएर हेर्दा एकघण्टामा अनुगमन गरिसकिन्छ ।’–नेपाली कांग्रेस क्षेत्र नं–२, प्रदेश क का सभापति लक्ष्मी आचार्यले भने–‘नगरपालिकाले यस्तो गर्मीमा एक महिनाको अवधि राखेर छानविन समिति गठन गर्नु, त्यसमा आन्दोलनरत पक्षको सहभागिता नगराउनुले आलटाल गर्न खोजेको प्रष्ट हुन्छ ।’
ब्यवसायीले तिरेको करबाट एसी सुविधामा बसेर जनतालाई मिटर उपलब्ध नगराउने मेयर उपमेयरलाई आफ्नो नेतृत्व पक्राउपछि आक्रोशित बनेका ब्यवसायीले ‘जनतामारा’ को संज्ञा दिएका थिए ।




















