Homeसमाचारट्याक्टरको ठक्करबाट घाइते माधव एकवर्षदेखि ओछ्यानमै, उपचार अभावमा छटपटाउँदै

ट्याक्टरको ठक्करबाट घाइते माधव एकवर्षदेखि ओछ्यानमै, उपचार अभावमा छटपटाउँदै

ट्याक्टरको ठक्करबाट शक्त घाइते भई डेढवर्षदेखि ओछ्यानमा परेका बस्नेतलाई उपचारवापतको पैसा र क्षतिपूर्ति कसले दिने ?
अर्जुन आचार्य
विराटनगर । ‘डेढवर्षसम्म एउटा ओछ्यानलाई नै संसार मानेर बस्नु सामान्य कुरा होइन । त्यही असामान्य भोगिरहेका छन् माधव बस्नेत । ‘यो त धेरै कठिन भएको छ,’ विराटनगर ६ मा डेरा गरी बसोबास गरिरहेका माधव बस्नेतले आफ्नो पीडा सुनाए ।
मोटरसाइकलमा यात्रारत उनलाई डेढवर्ष अघि सिरहाको लहानमा ट्याक्टरले किचेको थियो । त्यसयता उनको संसार एउटा कोठा अगाडि र ओछ्यानमा सीमित बनेको छ । ‘बेडबाट झर्न पनि सक्दिन । दिसा पिसाव यही हुन्छ । मेरो आर्थिक अवस्था कमजोर भएको कारण उपचार थप गर्न सकेको छैन, उपचार गराउन नसकेको कारण मैले आर्थिक सहयोगको लागि सहयोगी हातहरुलाई आव्हान गर्दछु,’ उनी भन्छन् ।
कसरी परे दुर्घटनामा ? :
लिभरमा क्यान्सर भएपछि २०७५ कार्तिकमा उनको अपरेसन गरिएको थियो । त्यसको फलोअपका लागि काठमाडौंस्थित टिचिङ अस्पताल जानुपर्ने भयो । त्यसबेला कोभिडको महामारी थियो । टिचिङ अस्पतालको फलोअपबाट फर्किने क्रममा २०७७ पुस १ गतेका दिन सिरहा लहानको बयिया टोलमा उनी दुर्घटनामा परेका हुन् । ‘त्यसबेला बेलुकाको ५ बजेको थियो होला,’ उनी सुनाउँछन् ।
दुर्घटनास्थल भन्दा करिब ५ सय मिटर अगाडि स्वराजको नयाँ ट्याक्टर अनियन्त्रित रुपमा कुदिरहेको बस्नेतले देखे । उनलाई एक मनमा डर लाग्यो, अर्को मनले भन्यो हाइवेमा कुदाउने मानिस व्यवसायीक नै होला । नजिकै आउन लागेपछि उनले बाइकको लुकिङ ग्लासमा हेर्दा पछाडिबाट खचाखच मानिसहरु राखेर बस आइरहेको देखे । त्यसपछि एक्कासी मोटरसाइकल साइडमा लान खोज्दै मात्र थिए । तर, त्यही ट्याक्टर एक्कासी आएर उनलाई किचेर हुइँकियो । ‘झिलिक्क बिजुली चम्केको अनुभूति भयो, संसार अँध्यारो भयो । त्यसपछि मलाई के भयो थाहा छैन,’ बस्नेत भन्छन्, ‘१५ दिनपछि थाहा भयो । उनलाई स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि विराटनगरस्थित नोबेल अस्पतालमा उपचार गरिएको रहेछ ।’
उनलाई ठक्कर दिने ट्याक्टरका चालक सम्भु सदाय (२५/२६ वर्षको युवा) हुन् । भर्खरै ट्याक्टर सिक्दै गरेको सदायलाई ट्याक्टर चलाउन ट्याक्टरका मालिक राम एकवाल महतोले दिएका रहेछन् ।
उपचार खर्च नपाएको गुनासो :
दुर्घटनापछि आफूले अहिलेसम्म पुरापुर उपचार खर्च नपाएको उनी बताउँछन् । तत्कालै सानोतिनो चोट भएको सम्झेर प्रहरी प्रशासनको दबाबमा आएर उनीहरुले पटकपटक गरेर २ लाख १५ हजार रुपैयाँ दिए । त्यसपछि सम्पर्कमै आउन नचाहेको उनले बताए ।
पछि जिल्ला प्रशासन कार्यालय सिरहामा ६ लाख रुपैयाँ धरौटी राख्न लगाएर उनीहरुलाई र ट्याक्टर छुटाइयो । पीडितलाई जानकारी नदिइ ट्याक्टर पनि छोडियो । अदालतले आफ्नो पक्षमा फैसला गर्यो भन्ने पनि उनले सुनेका छन् । तर, फैसलाको पूर्ण पाठ आफ्नो हातमा अझै आइसकेको छैन । सवारी चालकलाई साढे ४ वर्षको जेल सजाय भएको र सवारी धनीलाई त्यसको आधा सजाय सुनाइएको उनले बताए । तर, आफूलाई क्षतिपूर्ति दिनुको साटो उसले अदालतमा पुनरावेदनको तयारी गरिरहेको बुझेको बस्नेत बताउँछन् ।
बस्नेतले तत्कालिन सिडिओ प्रदीपराज कँडेललाई ८ लाख रुपैयाँ खर्चको बिल पेश गरेका थिए । पछि उपचारमा थप १२ लाख जति खर्च भएको उनको दाबी छ । ‘अहिले पनि औषधि खाइरहनु पर्छ, ड्रेसिङ गरिरहनु पर्छ, अहिले पनि यस्तो अवस्था छ भने उसबेला झनै धेरै औषधि र उपचार गराउनु पथ्र्यो,’ बस्नेत भन्छन् । आफूले पेश गरेको खर्चको विषय र घाउको अवस्थाको विषयमा जिल्ला प्रशासन कार्यालयले चासो नदिएको उनको गुनासो छ । ‘मैले उपचारमा लागेको क्षतिपूर्ति माग गर्दा प्रमुख जिल्ला अधिकारीले नै धरौटीमा राखेको ६ लाख रुपैयाँभन्दा बढी क्षतिपूर्ति भराउन नसक्ने बताए,’ बस्नेत भन्छन्, ‘प्रशासन कार्यालयले मेरो पक्षमा कुरा गर्नुपर्नेमा पीडक पक्षमै लागेर उसले त्यति दिन सक्दैन, लानुहुन्छ भने धरौटी रकम लाने हो भने दिन्छु, होइन भने म अरु क्षतिपूर्ति भराउन सक्दिन भन्यो ।’
दुर्घटनामा परेर उनको दाहिने खुट्टाको हर कच्याककुच्युक भएको छ । उनलाई थप उपचार गर्न १० लाख रुपैयाँ बढी लाग्ने डाक्टरहरु बताउँछन् । ‘हर कच्याककुच्युक भएर सुकेको कारण स्टिलको हर बनाएर हाल्नुपर्ने डाक्टरहरुको सल्लाह छ,’ बस्नेत भन्छन्, ‘त्यसका लागि अझै १० लाखभन्दा बढी खर्च लाग्छ ।’
दुई महिना अस्पतालमा बसेर फर्किएका उनको अहिले पनि कम्मरदेखि मुनीको भाग चल्दैन । दाइने हातको औंला पनि चल्दैन । ‘मेरो मिसेसले सबै थोक गरिरहेकी छिन् । दाहिने खुट्टा त छिन्न लागेको अवस्था थियो, यसलाई अड्याउन सिलाइ गरिएको छ । डेढवर्षसम्ममा वैशाखी टेकेर हिंड्न पनि सक्नु पर्ने हो । तर उपचार सोचेजस्तो सफल नभएको डाक्टरहरुले बताउने गरेका छन्,’ उनी सुनाउँछन् ।
उनले ट्याक्टरवालालाई १५ लाख खर्चको बिल बुझाइसकेका छन् । रकम भने नदिएको उनको गुनासो छ । सिडिओ कार्यालयले पछिल्लो समय गरेको त्रिपक्षीय छलफलमा अनौपचारिक रुपमा १५ लाख रुपैयाँ दिने सहमति भएको थियो । तर, त्यो पैसा व्यवस्थापनको लागि एक हप्ता समय मागेको भएपनि फेरि आलटाल गर्न सुरु गरिरहेको उनले बताए । ‘अहिले आएर त्यो सहमति नै भएको होइन भन्न थालेका छन्,’ बस्नेत भन्छन् ।
‘विराटनगरबाट आउँदा जाँदा एक पटकमा २० हजार बढी खर्च लाग्छ,’ बस्नेत गुनासो गर्दै भन्छन्, ‘त्यहाँको प्रशासन कार्यालयले गम्भीरतापूर्वक चासो दिएन, मलाई सहयोग गरेन, पीडितका लागि सरकार कहाँ रहेछ र ?।’ क्षतिपूर्ति दिने विषयमा पनि अनेक सोर्स फोर्स लगाएर रोक्न खोजेको देखिएको उनी बताउँछन् ।
संविधान र कानूनका धारा उपधारा, दफा, उपदफाले उनलाई उपचार र क्षतिपूर्ति दिनुपर्ने मात्रै होइन सामाजिक पुनःस्थापनासमेत गराउनु पर्ने कुरा प्रष्ट भन्छ । तर, बस्नेतका लागि संविधानका धारा वा कानूनको दफा कुनै कार्यान्वयन भएको छैन ।
‘दुर्घटनास्थलदेखि अहिलेसम्म मेरो कुनै कमजोरी छैन, उनीहरु लाइसेन्स पनि नभएको मानिस मापसे गरेर ट्याक्टर चलाएका छन्, कानूनी प्रक्रियाको विषयमा पनि हामी काँही कमजोरी गरेका छैनौं,’ उनले भने, ‘अब मेरो लागि राज्य छ भने मलाई न्याय दिनुपर्छ कि पर्दैन ? ।’
विराटनगरमा बसेका उनी मासिक १० हजार भाडा तिर्छन् । उनकी श्रीमती स्वस्थानीले किराना पसल चलाउँछिन् । आफ्नो उपचार, स्याहार, सुसार गरेर चलाएको पसलले घरको भाडा १० हजार तिर्न पनि गाह्रो परेको उनले सुनाए ।
बस्नेतले अहिले प्रमुख जिल्ला अधिकारीलाई गर्दै भने ‘अन्तिम निर्णय दिनुहोस्, कि त क्षतिपूर्ति भराइदिनु होइन भने म सक्दिन भन्नुहोला ।’ उमेरले ५० वर्ष पुगिसकेका बस्नेत आफू एउटा हात र औंला चलाउन जान्ने भएकोले कम्प्युटर सम्बन्धी कुनै काम गर्न पाएपनि रोजीरोटी हुन्थ्यो कि भन्ने आशामा छन् । ‘कुनै दाताले व्हील चियर दिए पनि यसो बजारतिर हिंडडुल गरेर केही गर्न सक्थें कि ?,’ उनी भन्छन् ।
छोरा छोरी पढाउन नपाएको गुनासो :
छोराले प्लस टु पास गरेर काठमाडौं गएका छन् । ‘उसलाई पढाउने खर्च पनि दिन सक्दिन । मेरो अवस्था सारै नाजुक भयो,’ गहभरी आँशु पार्दै भने्, ‘छोरालाई विदेश पठाउनका लागि पनि पैसै चाहिन्छ, आफूसँग छैन…।’
उनको छोरी विराटनगरकै सत्यानारायण स्कुलमा कक्षा ८ मा पढ्छिन् । दुई छोराछोरी र आफ्ना श्रीमान्को स्याहार गर्दै घर धान्नुपर्ने दबाबमा छिन् स्वस्थानी बस्नेत । ‘धेरै गाह्रो भयो, नखाएको विष लाग्यो, दैवले पनि अन्याय गर्यो,’ उनी भन्छिन्, ‘हाम्रोलागि गरिदिने र बोलिदिने मानिस पनि कोही भएन । न्याय पाइएन ।’
ओछ्यानमा पल्टिरहेका उनलाई उठाउनु पर्यो भने छरछिमेकको सहयोग लिने गरेको उनी बताउँछिन् । बस्नेत भन्छन्, ‘मैले उपचारको लागि पनि मिटरब्याजमा पैसा खोज्नु पर्यो । त्यो पैसा अझै तिर्न सकेको छैन । आम्दानीको कुनै बाटो छैन, कसरी जीन्दगी बिताउने होला,’ बस्नेत भक्कानिन्छन् ‘बरु त्यसबेला किचेरै मारिदिएको भए सक्जिान्थ्यो… दशाले यस्तो बनायो ।’

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारट्याक्टरको ठक्करबाट घाइते माधव एकवर्षदेखि ओछ्यानमै, उपचार अभावमा छटपटाउँदै
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img