भद्रपुर । भद्रपुर १० स्थित चन्द्रगढी खानेपानी उपभोक्ता तथा सरसफाई समितिको आसन्न निर्वाचनका लागि त्रिपक्षीय भिडन्त हुने भएको छ । असार ४ गते सम्पन्न हुने निर्वाचनका लागि नेकपा एमाले—राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रगतिशील समूहबाट वर्तमान अध्यक्ष पुरूषोत्तम अधिकारी, नेपाली काँग्रेसको तर्फबाट गोविन्द लम्साल र स्वतन्त्रबाट यादवप्रसाद भट्टराईको उम्मेद्वारी परेपछि नेतृत्वका लागि त्रिपक्षीय भिडन्त हुने देखिएको हो ।
खानेपानीको नेतृत्व लिनका लागि विगतदेखि नै काँग्रेस एमाले बीच कडा प्रतिष्पर्धा हुने गरेको समितिमा परिणाम भने मिश्रित आउने गरेको छ । यस पटक एमाले एक्लै मैदानमा छैन भने काँग्रेस एकल मैदानमा उत्रिएको छ । एमालेको तर्फबाट नेतृत्वका लागि उम्मेदवारी दिएका पुरूषोत्तम अधिकारी तेस्रो कार्यकालका लागि मैदानमा छन् भने काँग्रेसका तर्फबाट उम्मेदवार रहेका गोविन्द लम्साल पहिलो पटक शिक्षा क्षेत्र बाहिर आएर पूर्ण रूपमा सामाजिक कार्य मानिएको समितिको नेतृत्व दावी गर्न आएका हुन् ।
भद्रपुर विर्तामोडलाई केन्द्र बनाएर सामाजिक क्षेत्रमा कृयाशील रहेका युवा यादवप्रसाद भट्टराईले खानेपानी समितिलाई विशुद्ध सेवामुलक सामाजिक संस्था बनाउने उद्घोष सहित उम्मेदवारी दर्ता गरेका छन् । दलीय सिण्डिकेट बिरूद्ध एक्लै नेतृत्व दावी सहित पहिलो पटक चन्द्रगढी खानेपानी समितिको नेतृत्वका लागि उम्मेदवारी दिएका भट्टराईले तलबी सेवा सुविधा लिने दलीय उम्मेदवारले चन्द्रगढी खानेपानीको उन्नति गर्न नसक्ने दावी समेत गरेका छन् ।
चन्द्रगढी खानेपानीमा दलका उम्मेद्वारलाई स्वतन्त्रको टक्कर

































































































