बिर्तामोड । बिर्तामोड नगरपालिका अन्तर्गतका १० वटै वडाहरुलाई आगामी आर्थिक वर्ष २०७९/०८० का लागि १ करोड १५ लाख रुपैयाँको पूँजिगत बजेट सिलिङ दिइने भएको छ । नगरप्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा बुधबार बसेको कार्यपालिकाको पहिलो बैठकले वडाहरुबाट नीति तथा कार्यक्रम तय गरी २०७९ जेठ मसान्तसम्ममा नगरमा पेश गर्ने गरी उक्त निर्णय भएको हो ।
यस्तै बैठकले नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको संयोजकत्वमा रहेको योजना अनुगमन समितिमा कार्यपालिकाको तर्फबाट वडानम्बर ३ का वडाध्यक्ष मदन बुढाथोकी र वडानम्बर ६ का वडाध्यक्ष सूर्यप्रसाद कन्दङ्गवालाई सदस्यको जिम्मेवारी प्रदान गरेको छ ।
बैठकले नगरप्रमुख प्रसाईले पदभार ग्रहणका क्रममा गरेको निर्णय समेत अनुमोदन गरेको छ । बिर्तामोड नगरभित्र रहेका सम्पुर्ण गरिब तथा असहाय परिवारहरुको मापदण्ड तयार गरि निःशुल्क स्वास्थ्य बीमा गरी बिपन्नहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने र नगरक्षेत्रभित्र रहेका सम्पूर्ण खेतीयोग्य जमिनहरुमा स्यालो ट्युवेल, कुलो तथा पैनीहरुको निर्माण गरी ५ वर्षभित्रमा खेतीयोग्य जमिनमा सिँचाईको व्यवस्था गर्ने निर्णयलाई अनुमोदन गर्दै आगामी आर्थिक वर्षको वजेट तथा कार्यक्रममा समावेश गर्ने निर्णय भएको हो ।
बैठकले बिर्तामोड नगरपालिकामा रहेका सवारी साधनहरु ग्रेडर, रोलर, जेसिभी, ट्रिपर र पानी ट्याङ्करको नयाँ भाडादर पनि कायम गरेको छ । बैठकमा चालु आवको कुल वार्षिक बजेट १ अर्व ४० करोड ४७ लाख ४२ हजार बजेट प्रस्ताव गरिएकोमा बैशाख मसान्तसम्मको आयतर्फ ७९ करोड ३४ लाख ३५ हजार तथा व्यय मध्ये चालु तर्फ ३३ करोड ४० लाख ८५ हजार र पूँजिगत तर्फ ३२ करोड ९८ लाख ३९ हजार गरी जम्मा ६६ करोड ३९ लाख २५ व्यय भएको आयव्यय विवरण समेत प्रस्तुत गरीएको थियो ।
बैठकले २०७४ सालको स्थानीय निर्वाचनबाट बिर्तामोड नगरपालिकामा निर्वाचित भएर २०७९ साल जेठ ५ गतेसम्म कार्य गर्ने जनप्रतिनिधिहरुलाई विकास र समृद्विमा पुर्याएको योगदानका लागि धन्यवाद दिनुका साथै निर्वाचन तथा मतगणना अवधिमा कर्मचारीलाई दिएको विदा समेत अनुमोदन गरेको जनाइएको छ । बैठकमा नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, प्रमुख प्रशासकिय अधिकृत विनोदकुमार न्यौपाने, वरिष्ठ कार्यक्रम अधिकृत जय तिम्सिना, लेखाशाखा प्रमुख तेजेन्द्र तामाङ लगायत १० वटै वडाका वडाध्यक्षहरुको उपस्थिति रहेको थियो ।
बिर्तामोडका वडालाई १ करोड १५ लाख रुपैयाँको पूँजिगत बजेट सिलिङ दिइने

































































































