विर्तामोड ३० भदौ । विर्तामोड नगरपालिकाको आर्थिक सहयोग तथा सहारा नेपाल र ह्याबीटाट फर ह्युमानिटीको प्राविधिक सहयोगमा विपन्न परिवारका लागि निर्माण गरिएका घर सोमबार आयोजित एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको छ ।
विर्तामोड नगरपालिका वडा नंं–८ मा तराई मधेश समृद्धि कार्यक्रम अन्तरगत निर्माण गरिएका ३७ वटा घर हस्तान्तरण गरिएको हो ।
कार्यवाहक वडाध्यक्ष दिपक भट्टराईको अध्यक्षता, प्रदेश सांसद एकराज कार्कीको प्रमुख आतिथ्यता तथा विर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रमममा निर्माण गरिएका घरमुलीलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।
एकलाख ५० हजार लागतमा प्रतिघर निर्माण गरिएको विपन्न परिवार घर निर्माण समितिका अध्यक्ष युवराज गौतमले जानकारी दिनुभयो ।

नगरपालिकाले जग्गा भएका घर बनाउन नसकेकाहरुलाई घर निर्माण गरिदिएको विर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीले बताए । उनका अनुसार नगरपालिका नगर क्षेत्रका सवै वडाका विपन्नलाई घर निर्माण योजना अघि सारेको छ । चालु आर्थिक बर्षमा दुईसयवटा घर निर्माणको लक्ष राखिएको शिवाकोटीको जानकारी दिनुभयो ।
नगरपालिकाले घर भएकाहरुलाई टाउको ओत्याउने घर हस्तान्तरण गरिरहँदा नगरपालिकाका प्रशासकीय अधिकृत पशुपति खतिवडाले भने जग्गा नभएकाहरुको पनि समस्या समाधान गर्न सुझाव दिनुभयो ।
जग्गा धनीपूर्जा नहुनेहरुका सम्बन्धमा देखिएको समस्या समाधानका लागि नगरबाट प्रयास गरिने नगरप्रमुख शिवाकोटीले बताउनु भयो । उहाँले भन्नुभयो–‘जग्गाधनीसंग पनि बस्न दिएकाहरुलाई जग्गा देउ घर हामी बनाइदिन्छौं भन्दै समन्वय गर्दैछौं ।’ विर्तामोड नगरभित्र पुस्तौंदेखि अर्काको जमिनमा बसोबास गर्दै आएका विपन्न समुदायको आफ्नो नाममा जग्गा धनीपूर्जा नहुँदा राज्यबाट प्रदान गरिने आधारभूत सेवाबाट समेत बञ्चित हुँदै आएका छन् ।
कार्यक्रममा प्रदेश सांसद एकराज कार्की, सहारा नेपालका कार्यकारी निर्देशक महेन्द्र गिरी, कृष्ण हुमागाईलगायतले मन्तब्य राखेका थिए ।
यो बर्ष वडा नं–८ मा ५५ लाख ५० हजार रुपैया बराबरको घर निर्माण गरेर विपन्न परिवारलाई हस्तान्तरण गरिएको गौतमले बताउनु भयो ।
जय तिम्सिनाले सञ्चालन गरेको कार्यक्रममा घर निर्माणमा प्राविधिक सहयोग पुर्याउने सहारा नेपाल, ह्याविटाट फर ह्युमानिटीज, निर्माण समिति लगायतलाई सम्मान गरिएको थियो । कार्यक्रमका सञ्चालन जय तिम्सिनाले गर्नुभएको थियो ।
सो अवसरमा जग्गा अभावका कारण घर प्राप्त गर्न नसकेका सियाराम रायकी नातिनी सविता रायलाई पढाईका लागि आर्थिक सहयोग गर्ने नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले आश्वासन दिनुभयो ।
अत्याधिक रक्सी सेवनका कारण बाबुको निधन भएपछि मजदुरी गरेर उनकी आमा इन्दिरा रायले बृद्ध हजुर बा आमाको सेवा गर्नुका साथै सवितालाई पढाई खर्च जुटाउँदै आएकी छन् । सविता अहिले बिएमा अध्ययनरत रहेकी छन् ।

































































































