स्थानीय तह निर्वाचनमा सत्तामा रहेका कांग्रेस र माओवादी केन्द्रबीच झापामा चुनावी गठबन्धन छ । सोही अनुसार यी दुई दलले निर्वाचनमा पद बाँडेर उम्मेद्वार उठाएका छन् । बुद्धशान्ति गाउँपालिकामा पनि कांग्रेसका तर्फबाट गाउँपालिकामा अध्यक्षका प्रत्यासी मनोज प्रसाई र माओवादी केन्द्रका तर्फबाट खड्ग तिम्सिना (पवन) उपाध्यक्षका आकांक्षी छन् । बुद्धशान्तिलाई आगामी ५ वर्ष नेतृत्व गर्ने आकांक्षाका साथ उम्मेद्वारी दिएका उनीहरु चुनावी अभियानमा घर–घर, टोल–टोल पुगिरहेका छन् । आफ्ना प्रतिवद्धता लिएर । बुद्धशान्तिलाई नमूना पालिका बनाउने योजनासहित विभिन्न २० बुँदामा समेटिएको प्रतिवद्धतापत्रसहित गठबन्धन दल चुनावी मैदानमा छ । जसमा शिक्षा, स्वास्थ्य सरसफाई खानेपानी, कृषि, पर्यटन, उद्योग/ब्यापार, पूर्वाधार, सडक, सहकारी, सिंचाई, तटबन्ध निर्माण लगायत स्थानीय जनजीविकासंग जोडिएका थुप्रै विषयबस्तुलाई समेटिएको छ भने महिला, युवा, अपाङ्गता भएका ब्यक्ति, मजदुरको समुन्नतिका लागि स्पष्ट रोडम्याप तय गरिएको छ । साथै बुद्धशान्तिको प्रमुख समस्याका रुपमा रहेको हात्ती नियन्त्रण, सामाजिक सुरक्षा, जेष्ठ नागरिक, सुकुम्बासी लगायतका क्षेत्रमा पनि स्पष्ट नीति अघि सारिएको छ ।
‘विषयगत विज्ञहरुको भेला गराएर बुद्धशान्तिको शिक्षा, स्वास्थ्य, पर्यटन, खानेपानी, पूर्वाधार विकास एवं नमूना बुद्धशान्तिका लागि थप स्पष्ट योजना ल्याउँछौं’ गाउँपालिका अध्यक्षका उम्मेद्वार प्रसाइले भने–‘विरिङ, हडिया, दामा, टिमाई, खारखोला, कुरुङ आदि खोलाबाट हुने कटान रोक्दै यहींबाट सिंचाई सुविधा विस्तार गर्ने काममा अल्पकालीन र दीर्घकालीन नीति लिइनेछ ।’ नदीकटान रोक्न ब्यवस्थित तटबन्ध गर्ने र यी नदीहरुबाट सिंचाईका लागि निकालिएको कुलो–पैनीको स्तरीकरण गरी नहरका रुपमा विकसित गर्दै खोलाको पानी नपुग्ने स्थानमा स्यालो, ट्युववेल, इनार, बोरिङ, पम्पसेट, स्प्रिङकल आदिको विस्तार गरिने प्रसाईले बताए ।
‘एक वडा एक नमूना मार्ग’ को नीति लिएको गठबन्धन दलले मुख्य सडकलाई कालोपत्रे र शाखा सडकको स्तर उन्नति, सडक बत्तीको ब्यवस्था, सबै क्षेत्रमा विद्युत विस्तार, धार्मिक मठमन्दिर, सामुदायिक भवन, गुम्बा, मस्जिद, चर्चहरुलाई संरक्षण र संवद्र्धनमा सहयोग गर्दै धार्मिक एवं प्राकृतिक स्रोत साधन, सिमसार, ऐतिहासिक स्थलहरु जरेबर, ठुटेबर, एक्लेबर, धारागोला भ्यूटावर, ऐतिहासिक मेला महोत्सवको संरक्षण र विकास गरी धार्मिक एवं पर्या–पर्यटकीय क्षेत्र निर्माणको नीति अघि सारेको हो ।
यसैगरी उद्योग ब्यवसायलाई प्राथमिकतामा राखिएको जानकारी दिदै प्रसाईले ब्यवसायीको आकस्मिक क्षतिमा राहत कोष खडा गर्ने, उद्योग स्थापनालाई प्रोत्साहन गर्दै सहुलियत दिने, महिला ब्यवसायीलाई प्रोत्साहन गर्ने, उद्योगमा चाहिने जनशक्ति उत्पादनका लागि प्राविधिक तालिम, बजार क्षेत्रका अब्यवस्थित टहराको ब्यवस्थापन, स्थानीय उत्पादन सुपारी, पत्ता, पराल, नरिवलको पत्ता, बास आदिबाट बन्ने सामग्रीको ब्यवस्थित उत्पादनका लागि मझौला उद्योग स्थापना गर्ने लक्ष रहेको बताए ।
सामुदायिक शिक्षण संस्थाहरुको संवद्र्धन र स्तरोन्नति, सितारमेश क्याम्पसलाई प्राविधिक शिक्षालय बनाउन पहल गर्नेसहितका २९ बुँदे प्रतिबद्धता अघि सारिएको शिक्षा क्षेत्र अन्तर्गत वाइफाई जोन, इ–लाइव्रेरी, प्रत्येक वडा–वडामा सार्वजनिक पुस्तकालय एवं पुरानाको संरक्षण, कृषि क्षेत्र र इन्जिनियर विषय पठन–पाठन हुने प्राविधिक विद्यालय, बालविकास केन्द्र थप एवं बालबालिकालाई अध्यापन गराउने शिक्षक–शिक्षिकाका लागि मनोसामाजिक परामर्श तालिम, सिपमूलक शिक्षा, जेष्ठ नागरिकका लागि सिकाइ केन्द्र स्थापना, उत्कृष्ठ शिक्षकलाई प्रोत्साहन, गरिब र जेहेन्दार विद्यार्थीलाई छात्रबृत्ति, सामुदायिक विद्यालयहरुमा संस्कारसहितको शिक्षा विस्तार, शिक्षा सम्बन्धी अनुसन्धातालाई विशेष प्रोत्साहन, आवश्यकता अनुसार मातृ भाषाको संरक्षण र शैक्षिक ब्यवस्थापन लगायतका काम गर्नेे प्रसाइले प्रतिबद्धता जनाए ।
यसैगरी बुद्धशान्ति क्षेत्रमा बाँझो जमिन राख्न नदिने एवं निर्वाहमुखी खेती प्रणालीको आधुनिकीकरण र ब्यावसायिक बनाउन विशेष तालिम, कृषिमा सहुलियत ऋण, जैविक विषादीको प्रयोग बढाएर अग्र्यानिक उत्पादनमा प्राथमिकता, नश्ल सुधार एवं कृषि परामर्श सेवा केन्द्र, पशु वीमा, शीत भण्डार केन्द्र निर्माण, नगदे बाली प्रशोधन उद्योग स्थापना, पैनीहरुको स्तरउन्नति गरी नहरका रुपमा विकास गर्ने, तरकारी बजारहरुको संवद्र्धन, संरक्षण र ब्यवस्थापन, फलफुल एवं खाद्यान्नको परीक्षणका लागि खाद्य प्रयोगशाला, कृषि क्षेत्रको विकासका लागि पाँचबर्षे योजना तर्जुमा गरी कृषि क्षेत्रलाई मुख्य आयको रुपमा स्थापित गर्ने नीति लिइएको गठबन्धनका तर्फबाट उपमेयरका उम्मेद्वार खड्ग तिम्सिना पवनले बताए ।
यसैगरी कृषि क्षेत्रको समग्र विकासका लागि कार्यपत्र निर्माण गरी उत्कृष्ठ कार्यपत्र निर्मातालाई पुरस्कृत गर्ने, कृषी अनुसन्धानलाई प्राथमिकता, कृषि वीमा, ‘कृषकसँग पालिका, कृषकका समस्यामा पालिका’ कार्यक्रम सञ्चालन, युवा लक्षित कृषि अनुदान, युवा कृषि प्रोत्साहन कार्यक्रम, मुहान सुधार लगायतका कार्य गरिने तिम्सिनाको भनाई छ ।
प्रत्येक नागरिकको जीवनशैली स्वस्थ राख्न विशेषज्ञ सेवा, भागीरथा बुद्धशान्ति अस्पतालको ब्यवस्थापन, डम्पिङ साइड निर्माण, वातावरण मैत्री सवारी साधनको प्रयोग, शुद्ध खानेपानी आपूर्ति, स्वास्थ्य चौकीमा विशेषज्ञसहितको सेवा विस्तार, प्रत्येक वडामा निशुल्क घुम्ती स्वास्थ्य शिविर सञ्चालन, एम्बृुलेन्स तथा शवबाहन सञ्चालन, जेष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य सहयोग कार्यक्रम, राज्यले लिएको नीतिअनुसार स्वास्थ्य वीमाको विस्तार एवं ब्यवस्थापन, दीर्घरोग (मुटु, मृर्गौला, क्यान्सर) पीडितको उपचारमा आर्थिक सहयोगको नीति अघि सारिएको तिम्सिनाले बताए ।
यसैबीच गठबन्धन दलका उम्मेद्वारले महिला र युवा लक्षित कार्यक्रम अघि सार्दै एकल, सिमान्तकृत, विपन्न, दलित, आदिबासी, लोपोन्मुख महिलाको क्षमता अभिबृद्धि, महिला शिक्षा एवं साक्षरता कार्यक्रम अघि सारेको छ भने युवाहरुो सर्वाङ्गीण विकासका लागि खेलमैदान निर्माण एवं खेल सामग्री वितरण, विद्यालय तहदेखि नै खेलकुद शिक्षा, स्पोर्ट एकाडेमीको स्थापना गरी निरन्तर खेलकुद प्रतियोगिताको आयोजनालाई प्राथमिकतामा राखिएका छन् ।
बुद्धशान्तिको मुख्य समस्यामध्येको एक हात्ती आतंक नियन्त्रणका लागि विद्युतीय तारबार, टुङ, खाडल खन्ने प्रविधि, सोलार फेन्सिङ, विद्युतीय साइरन र हात्तीबारको ब्यवस्था गर्दै हात्ती आतंक नियन्त्रणका लागि प्रदेश र संघीय सरकारको सहयोगमा विशेष योजना ल्याइने प्रसाइले बताए ।
गाउँबासीलाई सुरक्षित राख्न इलाका प्रहरी कार्यालयको स्तर बृद्धि र वडा–वडामा प्रहरी कार्यालय स्थापना, विकासोन्मुख वडालाई नमूना वडाको रुपमा विकास गर्ने, ऐतिहासिक, धार्मिक एवम् पुरातात्विक धरोहरहरुको संरक्षण र जगेर्नाका लागि संग्रहालय निर्माण, सार्वजनिक शौचालयको निर्माण गर्दै दिशामुक्त क्षेत्र निर्माणका योजना पनि गठबन्धनले अघि सारेको छ ।
गठबन्धन दलका योजना सुनाउँदै गाउँपालिका अध्यक्ष एवं उपाध्यक्षका उम्मेद्वार तिम्सिनाले भने–‘हामी बुद्धशान्तिको मुहार परिवर्तन गर्ने योजनासहित आएका छौं । अहिले गरेका प्रतिबद्धता कार्यान्वयन गरेरै देखाउँछौं । एकपटक युवालाई अवसर दिनुस् ।’
नमूना बुद्धशान्ति बनाउने गठबन्धन प्रतिवद्धता, प्रसाईं र तिम्सिना भन्छन्–काम गर्छौं, नेतृत्व दिनुस्

































































































