विर्तामोड २२ बैशाख । विर्तामोडमा रहेका अधिकांश निजी विद्यालयहरुमा १० देखि २५ प्रतिशतसम्म शुल्क बृद्धि भएको गुनासो अभिभावकले गरेका छन् । शैक्षिक शत्र शुरु हुनुअघि प्रत्येक विद्यालयले १० देखि २५ प्रतिशत सम्म शुल्क बढाएको गुनासो आएको हो । संघीय शासन ब्यवस्था शुरु भएसँगै शुल्क निर्धारण गर्ने जिम्मेवारी नगर शिक्षा समितिलाई हुन्छ । प्रत्येक गाउँ/नगरमा नगरपालिका मेयर वा गाउँपालिकाका अध्यक्षको संयोजकत्वमा गाउँ/नगर शिक्षा समिति क्रियाशील हुन्छ ।

विर्तामोडमा भने नगर प्रमुखको संयोजकत्वमा, नगर शिक्षा समन्वय इकाई प्रमुख सचिव, उपमेयर, शिक्षक महासंघका प्रतिनिधि, प्याब्सन प्रतिनिधि, निजी र सामुदायिक विद्यालयका १/१ जना प्रतिनिधि, वडाअध्यक्षमध्येबाट १ जना, बुद्धिजीवीबाट १ र नगर कार्यकारिणी समितिबाट ३ जना सदस्य रहेको नगर शिक्षा समिति गठन भएको छ । उक्त समितिले सम्बन्धित विद्यालयले शुल्क प्रस्ताव गरेपछि बढेको बजार मूल्य आदिलाई ध्यान दिदै अनुगमन गरेपछि मात्रै शुल्क निर्धारण गर्ने नगर शिक्षा समितिका सचिव तिलचन भण्डारीले जानकारी दिए । उनले भने–‘विद्यालयहरुले जे प्रस्ताव गरे समितिले त्यही मानेको छैन, शुल्क प्रस्ताव गरेपछि विद्यालयको अनुगमन गरेर, हेरेर मात्रै शुल्क निर्धारण गरेको छ ।’ केही विद्यालयको शुल्क बढेपनि केहीको घटेको उनको दावी छ । तर अभिभावकले भने शुल्क बढेको तर नघटेको गुनासो गरेका छन् । भण्डारीका अनुसार यसअघि २०७६ सालमा नगर शिक्षा समितिले शुल्क निर्धारण गरेको थियो भने यसबर्षका लागि चैत १४ गते बसेको बैठकले शुल्क निर्धारण गरेको हो । उक्त निर्णय अनुसार शिक्षा, युवा तथा खेलकुद शाखा विर्तामोडले अधिकांश विद्यालयमा बैशाख ८ गते निर्देशनसहितको परिपत्र गरिसकेको बुझिएको छ । उक्त निर्देशनमा विद्यालयले एक महिनाको शुल्क बराबरको रकम मात्रै भर्ना शुल्क लिन पाउने, बार्षिक शुल्कको हकमा संस्थागत विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिका–२०७२ को १४ (२) बमोजिम बढीमा दुईमहिनाको मासिक शुल्क बराबरको रकम अतिरिक्त क्रियाकलापका लागि लिन पाउने, मासिक शुल्कको ५० प्रतिशत शुल्क मात्रै परीक्षा शुल्कका रुपमा लिन पाइने, विद्यालयको आबास, दिवा भोजन तथा खाजा, परिवहन, विशेष प्रशिक्षण लगायतका शुल्क लिनुअघि दुइतिहाई अभिभावकको भेलाबाट अनुमोदन गराएर मात्रै लिने उल्लेख छ । विद्यालयले जेठ मसान्तसम्ममा विद्यार्थी भर्ना कार्यक्रम सम्पन्न गरी आइ.इ.एम.आइ.एस. भर्न समेत निर्देशनमा आग्रह गरिएको छ । विर्तामोडमा ५५ वटा निजी विद्यालय छन् भने ४० बढी मा.वि. तहका रहेको बताइएको छ ।

































































































