बिर्तामोड २० बैशाख । बिर्तामोड नगरपालिकामा नेकपा एमालेको तर्फबाट नगरप्रमुखको उम्मेद्वार पवित्रा महतारा प्रसाईले बिर्तामोडलाई स्वास्थ्य र शिक्षाको हव बनाउने बताउनु भएको छ ।
स्थानीय तह निर्वाचनको लागि चुनावी प्रचारको क्रममा वडा नम्बर ३ मा आयोजित कोणसभामा यस्तो बताउनु भएको हो । उम्मेद्वार प्रसाईले २०७४ सालको निर्वाचनपछि नगरमा रहेका सामुदायिक विद्यालयहरुको अवस्था फेरिए पनि अझै व्यवस्थित ढंगले विकास गरिने बताउनु भयो ।
बिर्तामोडमा १८ वटा सामुदायिक र ३ वटा धार्मिक विद्यालय रहेका छन् । नेकपा एमालेले कक्षा १२ सम्मको शिक्षा पुर्णरुपमा निःशुल्क गर्ने, एक विद्यालय एक प्राविधिक शिक्षा भन्ने नीतिलाई आत्मसाथ गर्दै हरेक सामुदायिक विद्यालयको माध्यमिक तहमा प्राविधिक शिक्षा प्रदान गर्ने, प्राविधिक तथा व्यवसायिक क्याम्पस स्थापना गर्ने, शिक्षक तालिम केन्द्र स्थापना गर्ने लगायतका कार्यक्रमहरु प्रतिवद्वता पत्रमा सार्वजनिक गरेको छ ।
कोणसभामा बोल्र्दै उपप्रमुखका उम्मेद्वार नगेन्द्रप्रसाद संग्रौलाले अबको ५ वर्ष भित्रमा बिर्तामोडमा १२५ किलोमिटर सडक कालोपत्रे गर्ने समेत बताउनु भयो । यस्तै वडाध्यक्ष पदका उम्मेद्वार मदन बुढाथोकीले आफु लगायत नगरकोे सिङ्गो टिमलाई अत्यधिक मत दिएर जिताउन मतदाताहरुसंग आग्रह गर्नु भयो । वडामा रहेका समस्या समधानका लागि आफु संधै जनताको सेवक भएर काम गर्ने प्रतिवद्वता समेत जनाउनु भयो ।
नेकपा एमालेको चुनावी प्रचार अभियान अन्तरगत मंगलबार बिर्ताबजार, सैनिकमोड, प्रगतिनगर टोल, शान्ति टोल लगायतका क्षेत्रमा पुगेर कोणसभाको आयोजना गरिएको थियो । कोणसभालाई एमाले झापा इञ्चार्ज अग्नि खरेल, प्रतिनिधिसभा सदस्य पवित्रा निरौला खरेल, राष्ट्रियसभाका पूर्वसदस्य हरिचरण शिवाकोटी, प्रदेश सांसद एकराज कार्की लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।
‘बिर्तामोडलाई स्वास्थ्य र शिक्षाको हव बनाउने’

































































































