बिर्तामोड १५ बैशाख । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनपछिको पाँच वर्षे कार्यकालमा नेकपा एमालेका उम्मेद्वार विजयी भए विर्तामोड नगरपालिकालाई कस्तो बनाउने भन्ने योजना समेटिएको प्रतिवद्धता पत्र सार्वजनिक भएको छ ।
जनजीविकासंग प्रत्यक्ष जोडिएका आधारभूत विषयबस्तु, राष्ट्रियता र परिवर्तन, शिक्षा, स्वास्थ्य, रोजगार, विकास समृद्धि, कृषि, पशुपंक्षी लगायतका विषयवस्तुलाई समेटेर प्रतिवद्धता पत्रमा सार्वजनिक गरिएको हो । मुख्य गरेर १७ बुँदामा समेटिएको २० पेज लामो प्रतिवद्धता पत्रमा विर्तामोड बजारलाई रात्रिकालीन बजार सञ्चालनदेखि खुल्ला स्पिच स्पेसको समेत व्यवस्था गर्ने प्रतिवद्धता गरिएको छ । साथै शिक्षा तथा स्वास्थ्यको हब बनाउने प्रतिवद्धता व्यक्त गरिएको प्रतिवद्धता पत्रमा कृषि उत्पादनलाई आधुनिक प्रविधिसंग व्यापार व्यवसायलाई जोड्ने, जैविक मल उत्पादन, बालबालिका तथा ज्येष्ठ नागरिकको सम्मान लगायतका क्षेत्रमा काम गर्ने प्रतिवद्धता गरिएको छ ।
नेकपा एमाले स्थायी कमिटी सदस्य तथा झापा इन्चार्ज अग्नि खरेलको आतिथ्यतामा भएको प्रतिवद्धता पत्र सार्वजनिकीकरण कार्यक्रममा एमालेबाट बिर्तामोड नगरपालिकामा मेयरका उम्मेद्वार पवित्रा महतारा प्रसाई र उपमेयरका उम्मेद्वार नगेन्द्र संग्रौलाले पार्टीका तर्फबाट तयार प्रतिवद्धता पत्र नै ५ वर्षका लागि आफ्नो अघि बढ्ने आधार भएको बताउँदै सोही अनुसार काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
पार्टीका नगरअध्यक्ष सुवास भट्टराईले स्वागत तथा गोपाल काफ्लेले सञ्चालन गरेको कार्यक्रममा प्रतिवद्धता पत्रको विशेषताबारे संक्षिप्त जानकारीे प्रतिवद्वता पत्रका संयोजक रोमणाी भट्टराईले प्रकाश पार्नुभएको थियो । पत्रकारले उठाएका जिज्ञासाको जवाफ प्रतिवद्धता पत्रका परिकल्पनाकार डा. कुमार सुवेदीले दिनुभएको थियो ।
बिर्तामोड नगरपालिकामा एमालेको प्रतिवद्धता पत्र जारी
