
विर्तामोड २८ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)–का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले विकास निर्माणका कामलाई तीब्र गतिमा अघि बढाएको दावी गर्नु भएको छ ।
झापाको बिर्तामोडमा शनिवार आयोजित गौरीशंकर खड्का स्मृति प्रतिष्ठानको आठौं वार्षिक साधारण सभामा बोल्दै उहाँले बाटो घाटो निर्माणदेखि ठूल – ठूला उद्योगधन्दा, कलकारखाना निर्माणको प्रक्रिया शुरु भएको बताउनुभयो । झापामा पनि इन्डष्ट्रियल पार्क बन्न लागेको बताउँदै अध्यक्ष दाहालले भन्नुभयो– ‘अस्ती काठमाडौं, चितवन लगायतका ठाउँमा समेत इन्डष्ट्रिजको उद्घाटन भएको छ अब सातै प्रदेशमा ठूल–ठूला औद्योगिक पार्क बन्न सुरु हुन्छ ।’
सातै प्रदेशमा एउटा – एउटा इन्डष्टियल पार्क बनाउने र हजारौं हजार बेरोजगार युवालाई रोजगारी दिलाउने सरकारले तयारी थालेको दाहालको भनाई छ । सरकारले गर्दै गरेका कामलाई आन्तरिक कारणले जनताको बीचमा पु¥याउन नसकेको बताउँदै अध्यक्ष दाहालले भन्नुभयो – योजनाबद्ध र संस्थागत रुपमा हामीले गरेको काम जनताको बीचमा पु¥याउन नसक्दा विरोधीहरु कम्युनिष्ट पार्टीलाई बदनाम गराउन संस्थागत रुपमा लागेका छन् ।’
पार्टी एकताको विषयमा बोल्दै अध्यक्ष दाहालले भन्नुभयो – ‘स्थानीय, प्रदेशिक र संघीय सरकारलाई समेत पार्टीले संस्थागत रुपमा सहयोग गर्नुपर्ने भएकाले पार्टी एकीकरण प्रक्रिया पूरा हुन सकेको छैन ।’
एक वर्ष जति पार्टी नै नभएको जस्तो अवस्थामा रहनु परेका कारण समयमा पार्टीले भनेजस्तो गरी पार्टी परिचालन गर्न नसकेको दाहालको भनाई थियो । त्यसबाट आफ्नो पार्टीलाई केही क्षति पुगेको बताउँदै अध्यक्ष दाहालले भन्नुभयो – यहीकारण केही प्रतिक्रियावादीले कम्युनिष्ट पार्टी र सरकारको नै बदनाम गराउने गरी काम गरे तर आगामी दिनमा नेकपा एक ढिक्का भएर अघि बढ्छ ।’
अध्यक्ष दाहालले समृद्ध नेपालीको सपना साकार पार्न सरकारले विशेष पहल थालिसकेको बताउनुभयो ।
यता नेकपाका संसदीय दलका उपनेता तथा संविधान सभा अध्यक्ष सुवाषचन्द्र नेम्वाङले सबै दल, सबै समुदायको कुरा सुनेर संविधान बनाएको र यो संविधान विश्वमा उत्कृष्ट संविधानको रुपमा विश्वाले स्वीकार गरेको बताउँदै यही संविधानको मर्म र भावना अनुरुप यो सरकार अघि बढेको बताउनुभयो ।
उहाँले संविधान निर्माण गर्ने काम हाम्रो पार्टीको नेतृत्वले गरेको हो भन्दै यसलाई कार्यान्वयन गर्ने काम पनि यही पार्टीले गरिरहेको बताउनुभयो ।
गौरीशंकर खड्का स्मृति प्रतिष्ठानका अध्यक्ष पुरुषोत्तम चुडाल राजुको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिष्ठानकी पूर्व अध्यक्ष तथा सांसद धर्मशीला चापागाईले समेत बोल्नु भएको थियो ।
































































































