भद्रपुर २८ फागुन । नेपाल रेडक्रस सोसाइटी झापा जिल्ला शाखाको ४८ औं जिल्ला साधारण सभा सम्पन्न भएको छ ।
नेपाल रेडक्रस सोसाइटी झापा जिल्ला शाखाको सभापति लोकराज ढकालको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथि प्रदेश न. १ का कृषि मन्त्री माननीय झलक सिंह दर्लामी, विशिष्ठ अतिथि प्रदेश न.१ का भुमि व्यवस्था तथा सहकारी एवं गरिबी निवारण मन्त्री माननीय ओमप्रकाश सरावगी, झापा जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी र अतिथिहरुमा सुरक्षा निकायका प्रमुखहरु,अन्य संघ संस्था ,समाजसेवीहरुको रहनु भएको थियो ।

कार्यक्रमको शुभकामना मन्तव्य नेपाल रेडक्रस सोसाइटी झापा जिल्ला शाखाका उप सभापति मित्रदेव काफलले गर्नु भएको थियो । सो अवसरमा नेपाल रेडक्रस सोसाइटी झापा जिल्ला शाखाका पूर्व सभापति स्वर्गीय रेवतीरमण नेपालको स्मृतिमा स्थापना गरिएको “रेवतीरमण स्वयंसेवा पुरस्कार” ने.रे.सो. झापा(कुमरखोद) उपशाखाका सभापति सुन्दरलाल गणेशलाई स्वर्गीय नेपालकी धर्मपत्नी वेदकुमारी नेपालको उपस्थितिमा प्रदान गरिएको हो ।
कोभिड–१९ को प्रभावको बेलामा निशुल्क एम्बुलेन्स सञ्चालन गर्न र विपदको अवस्थामा समेत विदेशमा रहेर सहयोग गर्ने सुजना कडरियालाई सम्मान गरिएको थियो । सो कार्यक्रममा सबै भन्दा धेरै रक्तदान गर्ने विराट अर्जुन उपभोक्ता सहकारी संस्था विर्तामोड,युवा संघ नेपाल हल्दिबारी र ने.रे.सो. भद्रपुर उपशाखालाई सम्मान गरिएको थियो ।
रगतको अभाव भएको बेला रक्तदान गर्ने र आपतकालिन अवस्थामा रगतको उपलब्धताका लागि तल्लिन रहने ४४ जना स्वयंसेवीहरुलाई समेत सम्मान गरिएको थियो , साथै रेडक्रसमा लामो समय कार्य गरी सेवा निवृत हुने कर्मचारीहरु लाई समेत सम्मान गरिएको थियो । कार्यक्रममा मन्त्री चन्द्र प्रसाद चुडालले प्रगति प्रतिवेदन र कोषाध्यक्ष हेम खडकाले आर्थिक प्रतिवेदन पेश गर्नु भएको थियो । मन्त्री चन्द्र प्रसाद चुडाल र उप मन्त्री विश्व थापाले सञ्चालन गर्नु भएको कार्यक्रममा जिल्ला भरीका उपशाखाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

































































































