विर्तामोड ५ झापा । झापाको विर्तामोड र दमकमा प्रेसरकुकर बम जस्तो देखिने बस्तु राखेको अभियोगमा पक्राउ परेका ९ जनालाई बिहीबार प्रहरीले सार्वजनिक गरेको छ ।
पक्राउ परेकालाई इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।
पक्राउ परेकाहरूमा बम जस्तो बस्तु राख्ने योजनाकार भनिएका झापा गौरादह–२ का सुमनकुमार कार्की, कनकाई ३ का भीष्म थापा, दमक ९ की देवी बाँस्कोटा गुरागाईं, कनकाई ३ का यमदत्त सिटौला, शिवसताक्षी १ का दिलकुमार सामेखाम, संखुवासभा खाँदबारी १० का मनमोहन दाहाल, गौरीगञ्ज–३ का अनन्तप्रसाद गिरी, र विजयकुमार दास हलुवाई र गौरादह ५ का प्रदीप थापा रहेका छन् ।
पक्राउ परेका सिटौला कनकाई कोटीहोममा पुजारी काम गर्ने व्यक्ति भएको प्रहरीले जनाएको छ । बिर्तामोडमा माघ ९ गते र दमकमा माघ १३ गते प्रेसरकुकर बम जस्तो शंकास्पद बस्तु भेटिएको थियो। सँगै हिमाल सुरक्षा परिषद्को नाममा एउटा पर्चा बरामद पनि भएको थियो ।
झापाका दमक र बिर्तामोडमा शंकास्पद बस्तु भटिएपछि प्रहरीले ती बस्तु राख्ने व्यक्तिहरूको खोजी कार्यलाई तीब्र बनाएको थियो। उनीहरूलाई विभिन्न मितिमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापा प्रमुख प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ परेकाहरु यसअघि जिल्लामा भएका विष्फोटका घटनामा पनि संलग्न व्यक्ति हुन् । अहिले पनि पुरानै समूहले हिमाल सुरक्षा परिषद्को नाममा विष्फोटक पदार्थ राखेको प्रहरीको भनाइ छ ।
पर्चामा हिन्दु राष्ट्र स्थापना हुनुपर्ने, संघीयता खारेज गर्नुपर्ने, एमसीसी सम्झौता खारेज हुनुपर्ने लगायतका माग उल्लेख गरिएका थिए । पक्राउ परेका विरुद्ध विष्फोटक पदार्थ ऐन, २०१८ अनुसार म्याद थप गरेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
बम जस्तो बस्तु राखेको आरोपमा मन्दिरका पुजारीसहित ९ जना पक्राउ, विष्फोटक पदार्थ ऐन अनुसार अनुसन्धान

































































































