माेरङ २२ माघ । हत्यामा संलग्न रहेको अभियोगमा ३ जनालाई पक्राउ गरी बिहीबार जिल्ला प्रहरी कार्यालय मोरङले सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेहरुमा जहदा गाउँपालिका- ४ सिस्वनी बस्ने २९ वर्षीय अमित साह भनिने दिनानाथ सोनार, सिरहा नगरपालिका-२१ घर भई हाल काठमाडौं बल्खु बस्ने ३१ वर्षीय अनिल कुमार मण्डल र मोरङ धनपालथान गाउँपालिका-७ कमलपुर पश्चिम टोल बस्ने ६२ वर्षीय नासिर आलम रहेका छन् ।
पक्राउ परेका मध्ये दिनानाथलाई मोरङ विराटनगर महानगरपालिका ५ दामाबन्दी चोकबाट अनिल कुमारलाई काठमाडौं महानगरपालिका १३ बल्खु र नासिर आलमलाई मोरङकै विराटनगर महानगरपालिका १७ मटेरूवाबाट बुधबार पक्राउ गरेको हो ।
गत माघ १२ गते मोरङको धनपालथान गाउँपालिका-७ बस्ने दिलिप सिंहको उखुबारीमा सप्तरी शम्भुनाथ नगरपालिका-४ ठेगाना भएका ३२ वर्षीय शम्भु कुमार चौधरी र माघ १३ गते सुनसरी धरान उपमहानगरपालिका-३ ठेगाना भएका ४८ वर्षीय राजेन्द्र कुमार श्रेष्ठको गाडिएको अवस्थामा शव फेला परेको थियो । घटनाको अनुसन्धानको क्रममा काठमाडौं महानगरपालिका-८ गोठाटार बस्ने तेह्रथुम सक्रान्ति- २ घर भएका ६३ वर्षीय मोहन लिम्बुको पनि हत्या गरी गाडिएको भनि खुल्न आएपछि महानगरीय अपराध महाशाखा काठमाडौंसँग समन्वय गरी ललितपुर गोदावरी नगरपालिका-१२ ठेचो चरङ्गखेलस्थित गोदाम घर रहेको कम्पाउण्डमा उनको शव फेला परेको हो । खाल्डो खन्न र पुर्न प्रयोग भएको १ थान कोदालो तथा ६ प्याकेट आयो नुन प्रहरीले बरामद गरेको छ ।
कारोवारको रकम एकलौटी बनाउने उद्देश्यले उनीहरुको हत्या गरिएको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको छ घटनाको सम्बन्धमा थप आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
काराेवार एकलाैटी बनाउन हत्या, ३ पक्राउ



















