काँकडभिट्टा १७ माघ । १ नं. प्रदेशका मुख्यमन्त्री राजेन्द्रकुमार राईले अन्य विकासे योजनालाई स्थगित राखेर भएपनि झापाको मेचीनगर नगरपालिका–१४ दुहागढीमा निर्माणाधिन होल्डिङ सेन्टरलाई चाँडै सञ्चालनमा ल्याउनुपर्ने बताउनुभएको छ ।
सोमबार मुख्यमन्त्री राई, १ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्की, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, जिल्लाका उच्च पदाधिकारी, स्थानीय सरकारका प्रमुख उपप्रमुखसहितको टोलीले होल्डिङ्ग सेन्टरको स्थलगत निरीक्षण गरेको थियो ।
निरीक्षण पश्चात संक्षिप्त कार्यक्रममा बोल्दैं मुख्यमन्त्री राईले यसको निर्माण कार्य चाडै सम्पन्न गरेर सञ्चालनमा ल्याउन सवै समक्ष आग्रह गर्नुभयो । होल्डिङ्ग सेन्टरका बारेमा प्रधानमन्त्रीदेखि अर्थमन्त्री अनि संघीय सरकारको समेत चासो रहेको होल्डिङ सेन्टरको वित्तिय प्रगतिदेखि देखिएको अन्य समस्या समेत केन्द्रीय सरकार समक्ष पुर्याउनुपर्नेमा जोड दिनुभयो ।
प्रदेश सरकारकातर्फबाट प्रधानमन्त्री अर्थमन्त्री समक्ष कुरा राख्ने मुख्यमन्त्री राईले विश्वास दिलाउनुभयो । होल्डिङ्ग सेन्टरको डिजाइनभन्दा बाहिर पनि थप निर्माण गर्नुपर्ने भएकाले केही समस्या देखिएको छ भन्ने कुरामा सबैको ध्यान पुगेको मुख्यमन्त्री सुनाउनु भयो । सञ्चालनको सन्दर्भमा उहाँले कसरी सञ्चालन गर्ने भन्नेमा हाम्रो अभ्यासमा नभएकाले यसको सन्दर्भमा बैठकमा कुरा उठाउने बताउनुभयो । स्थानीय सरकार, विभिन्न सघ संस्थासँग सहकार्य गदैं अघि बढ्ने प्रदेश सरकारको सोच भएकाले कसैले पनि दायित्व पुरा नगरे प्रदेश सरकार पछि हट्न नहुने उहाँको भनाई थियो ।
आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले चाडै निर्माण सकेर हस्तान्तरणमा लाग्नुपर्नेमा जोड दिनुभयो । यसको व्यवस्थित गर्न र आवश्यक पूर्वाधार तयार गर्न समेत उहाँले सम्बन्धित पक्षलाई निर्देशन गर्नुभयो । होल्डिङ सेन्टरका विषयमा तीनै तहको सरकारको भूमिका अपरिहार्य रहेको बताउँदै मन्त्री कार्कीले आ आफ्नोक्षेत्रबाट सहयोग गर्नुपर्नेमा दिनुभयो । मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले होल्डिङ्ग सेन्टर निर्माण र सञ्चालनका क्रममा स्थानीय सरकारको भूमिका के हुने भन्नेमा प्रश्न राख्नुभयो । मुख्यमन्त्री राईसहित सरकारका उच्च अधिकारीले यसको निरीक्षण गर्दा सम्म स्थानीय सरकारसँग समन्वय नगरेकोमा नगरप्रमुख आचार्यले दुःख व्यक्त गर्नुभयो । नगरप्रमुख आचार्यले यसलाई अन्य कामका लागि समेत प्रयोग गर्नुपर्ने विचार समेत राख्नुभयो । रंगशालादेखि कृषि अनुसन्धान केन्द्र र बाल उद्यान तालिम केन्द्र जस्ता संरचनाका रुपमा समेत यसलाइ प्रयोग गर्न सकिने उहाँको भनाई थियो ।
निर्माण भएका सबै संरचना नगरकै सम्पत्ति हुने भएकाले होल्डिङ्ग सेन्टरलाई नगरपालिकाले जग्गा उपलब्ध गराएको थियो । सो क्षेत्रको ११ विघा जग्गामध्ये चार विघा जग्गा नगरपालिकाले होल्डिङ्ग सेन्टरलाई उपलब्ध गराएको थियो ।
नगर उपप्रमख मीना पोखरेल उप्रेतीले कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले पूर्वी नाका काँकरभिट्टाबाट नेपाल प्रवेश गर्ने नागरिकका लागि होल्डिङ्ग सेन्टर निर्माण शुरु गरेको बताउनुभयो । श्री नयाँ श्रीनाथ गण चारआली ब्यारेक झापाका गणपति अमरजंग थापा होल्डिङ्ग सेन्टरको बारेमा टोलीलाई जानकारी गराउनुभएको थियो ।
करिब २८ करोड २६ लाख ८७ हजार ४ सय ६४ रुपैयाँ लागत बन्ने होल्डिङ्ग सेन्टर निर्माणको ठेक्का हनुमान कन्स्ट्रक्सन ललितपुरले लिएको छ । श्री २१ नम्बर बाहिनी अड्डा तोपगाछी ब्यारेक झापा र श्री नयाँ श्रीनाथ गण चारआली ब्यारेक झापाले यसको रेखदेख गर्दै आएको छ ।
होल्डिङ सेन्टरमा फेब्रिकेटेड प्रविधियुक्त भवन निर्माणको अन्तिम चरणमा छ । सरकारले झापासहित तराईका सात ठाउँमा सुविधायुक्त होल्डिङ्ग सेन्टर निर्माण गर्न लागेको छ । होल्डिङ्ग सेन्टरमा चिकित्सक सहितको सेवाको परिकल्पना अनुसारका भौेतिक संरचना निर्माण हुँदैछ । होल्डिङ सेन्टरमा बस्नेकोनियमित स्वास्थ्य परीक्षण, खाने, बस्ने र नियमित योगाभ्यास हुनेछ ।
हाेल्डिङ सेन्टर चाँडाे सञ्चालनमा ल्याउनुपर्नेमा मुख्यमन्त्री राईकाे जाेड

































































































