विराटनगर १२ माघ। प्रदेश १ राष्ट्रियसभामा गठबन्धनका तर्फबाट महिलामा जयन्ती राई र अल्पसंख्यकतर्फ एमालेका सोनम ग्याल्जेन शेर्पा विजयी भएका छन् । गठबन्धनबाट राष्ट्रियसभामा महिलातर्फ उम्मेद्वार बनेकी राई नेकपा एकीकृत समाजवादी पार्टीकी हुन् ।
अल्पसंख्यकतर्फ नेकपा एमालबाट विजयी शेर्पालाई प्रदेशसभाका ४२ जना र १५२ जना स्थानीय तहका जनप्रतिनिधिको मत पाएका हुन् । ४ हजार ७ सय ५२ मतभार उनले प्राप्त गर्दा शेर्पाका प्रतिष्पर्धी अर्थात गठबन्धनका हेमराज राईले ४९ प्रदेशसभातर्फ र स्थानीय तहका ११३ जनाको मत प्राप्त गरे । जसपाका उनको कूल मतभार ४ हजार ३ सय ८६ मत भएको छ । महिलातर्फबाट निर्वाचित राईले भने प्रदेशसभाको ५२ र स्थानीय तहको १२२ जनप्रतिनिधिको मत पाइन् । गठबन्धनकी राईले ४ हजार ६ सय ९२ मतभार पाउँदा । उनकी प्रतिद्वन्द्वी नेकपा एमालेकी उम्मेदवार सुमित्रा भण्डारीले प्रदेशसभाका ३८ र स्थानीय तहका १४१ जनप्रतिनिधिको मत पाइन् । उनको मतभार ४ हजार ३ सय ६२ पुगेको छ ।
तेस्रो स्थान पाएकी राप्रपाकी उम्मेद्वार रन्जु प्याकुरेलले प्रदेशमा १ र स्थानीयमा ४ जनप्रतिनिधिको मत पाएकी छिन् । महिलातर्फ ३ मत बदर भएको छ । बदर भएको मत स्थानीय तहका जनप्रतिनिधिको रहेको निर्वाचन कार्यालयले जनाएको छ ।
त्यस्तै राष्ट्रियसभा निर्वाचनकै खुलातर्फ सत्ता गठबन्धनका उम्मेद्वार र एमाले उम्मेद्वारको बराबरी मत आएको छ । गठबन्धनका गोपाल बस्नेत र एमालेका गुरु बरालको बराबरी मत आएको हो । काँग्रेसका गोपाल बस्नेतले ४ हजार ४ सय ८८ मत पाउँदा एमालेका बरालले पनि त्यति नै मत पाएका हुन् ।
प्रदेश १ राष्ट्रियसभामा निर्वाचनमा गठबन्धन र एमाले १/१, खुलामा बराबरी
