रेजिना गौतम
स्थानीय तहका विभिन्न ठाउँमा निर्वाचित भएर आएका जनप्रतिनिधिहरुको २०७९ साल जेठको ५ गते५ वर्षे कार्यकाल पूरा हुँदैछ । राज्यको पुनः संरचना पछि पहिलो पटक ठूलो संख्यामा महिलाहरु स्थानीय तहका विभिन्न पदको जिम्मेवारी संहाल्न पुगे । जनताले निर्वाचित गरेर स्थानीय तहमा वडा सदस्यदेखि वडा अध्यक्ष, पालिकाका प्रमुखमा पुर्याएका महिलाहरुले निर्वाचन अघि के गर्छु भनेर संकल्प गरेका थिए ? वडामा गणपुरक संख्याका रुपमा मात्र उपस्थिति रह्यो वा जिम्मेवारी पनि पाए ? जस्ता स–साना र उपयोगी अभ्यासका बारेमा समिक्षा आवश्यक देखिन्छ ।
स्थानीय तहको पाँचबर्षे कार्यकालको यो अवधीसम्ममा चारपटक सम्म कार्यवाहक वडाध्यक्षको जिम्मेवारी सम्हालेकी मेचीनगर–१४ कि बिन्दा प्रसाई सोचाई अनुसार काम गर्न नसकेको स्विकार गर्नुहुन्छ । ‘जति गरौंला भनेर सोचेको थियो त्यति गर्न सकिएन, सोच अनुसार काम गर्न कठिन रहेछ ।’–उहाँले भन्नुभयो । वडाको जिम्मेवारी सम्हालेको पहिलो वर्षको बजेट विनियोजन वडाध्यक्ष आफैंले गरेर ल्याए । र सदस्यहरुलाई सही गर्न भने । वडाध्यक्षले ल्याएको उक्त योजना वडासदस्यहरुले अस्विकार गरे । र सबै बसेर सम्झौतामा बजेट बनाए । वडा सदस्य प्रसाईले थप्नुभयो–‘केही उहाँका केही हाम्रा योजना समेट्यौं र साझा बनाएर लग्यौं, त्यसयता वडाबाट हामी योजना ल्याउँछौं, बसेर छलफल गर्छौं र पास गर्छौं सहज छ ।’ त्यसपछि भने साविक गाविसको वडालाई आधार बनाएर वडा विभाजन गरेर काम गर्ने गरेको प्रसाईको भनाई छ । साविक दुवागढी गाविस हाल मेचीनगरको वडा नं. १४ भएको छ । गाविस हुँदा छुट्टिएको वडा अनुसार नै अहिलेको वडामा प्रतिनिधित्व रहेको मेनपा १४ का जनप्रतिनिधिले साविक वडा अनुसार वडा सदस्यको जिम्मेवारी तोकेको छ । सोही अनुसार वडासदस्यहरुले ल्याएका योजना, समस्याका विषयमा वडाध्यक्षसंग छलफल गरेर काम गर्ने गरेको उनीहरुको भनाई छ । –‘वडा विभाजन गरेर काम गर्न सहज भएको छ’–प्रसाईले भन्नुभयो ।
नगरपरिषद सदस्य समेत रहेकी प्रसाईले वडामा पाएको जिम्मेवारी र गरेका कामबाट चित्त बुझाउने ठाउँ भएपनि नगरबाटका तर्फबाट भने केही पनि गर्न नसकेको गुनासो गर्नुभयो । ‘कर्मचारी र जनप्रतिनिधि र कानूनी व्यवधानका कारण नगरबाट वडाको हितमा केही गर्न सकिएन्–प्रसाईले थप्नुभयो–‘बोर्ड सदस्य भएपछि कमजोरी स्विकार गर्नैपर्ने हुन्छ ।’

मेचीनगर नगरपालिका वडा नं.–६ कि महिला वडा सदस्य लक्ष्मी तामाङले महिला सदस्यलाई ‘पिंजडाको सूँगा’को संज्ञा दिनुभयो । सामाजिक क्षेत्रमा काम गरेकी लक्ष्मी राजनीतिक अभ्यास विनानै वडासदस्य भएर पनि काम गर्न कठिन भएको हुन सक्ने अनुमान गरेकी वडा सदस्य तामाङले भन्नुभयो–‘राजनीति र सामाजिक क्षेत्र फरक भएर पनि हुनसक्छ, सामाजिक क्षेत्रमा काम गरेका तर, राजनीति नगरेका महिला जनप्रतिनिधिका लागि पिंजडाको सुँगा ।’ राजनीतिक क्षेत्रबाट नभएका कारण बजेटमा हुने राजनीति शुरु शुरुमा आफूले पनि नबुझेको र राजनीतिक क्षेत्रबाट आएका वडाका अरु साथीहरुबाट पनि साथ नपाएको बताउँदै तामाङले भन्नुभयो–‘सबै जनप्रतिनिधि राजनीतिमा निखारिएर आएका हुँदैनन्, उहाँले थप्नुभयो–‘सामाजिक क्षेत्रबाट आएकोले सबैलाई मिलाएर लैजाउँ भन्ने हुँदोरछ । तर, राजनीतिबाट आउनेले अघि बजेटमा राजनीति गर्दारछन् ।’ लक्षित समुदायतर्फ सोचेजति बजेट बिनियोजन गर्न नसकेकोमा पश्चाताप लागेको तामाङको भनाई छ । नगरपरिषद सदस्य रहनु भएकी तामाङलाई नगरबाट भने वडामा बजेट लान नसकेकोमा पनि आफ्नो राजनीतिक अभ्यास पो कम भएको हो कि ! भन्ने लागेको छ ।
अर्की वडा सदस्य कुसुम चौधरीले पहिलो पटक भएकाले महिला जनप्रतिनिधिहरुले अनुभव बटुल्दै अघि बढ्दै गरेको सुनाउनु भयो । एकैपटक पुरुषसंग प्रतिष्पर्धा गर्छुभन्दा नसकिने बताउँदै उहाँले भन्नुभयो–‘अनुभव बटुल्दै छौं, पुरुष प्रदान देश भएका कारण फाइट गर्न नसकिने अवस्था अझै कायम छ ।’ संविधान अनुरुप स्थानीय तहमा प्रमुख र उपप्रमुख भन्दा अधिकांस ठाउँमा उपप्रमुखमा मात्र महिला खुम्चनु परेको उल्लेख गर्दै महिलालाई प्रमुख बनाउने कुरामा राजनीतिक दललाई नीतिगत दबाब दिनुपर्नेमा चौधरीको जोड छ ।
वडा नं. ७ कि दलित वडा सदस्य शान्ता दर्जीले महिलाले काम गर्नै सक्दैनन भन्ने कुरा आएपनि जिम्मेवारी मागेर काम गर्ने गरेको बताउनु भयो–‘महिलाले काम गर्न सक्छन् भन्नेमा विश्वास गर्दैनन्, तर, जिम्मेवारी दिनुस् भनेर गर्ने गरेका छौं ।’ लक्षित बजेटमा भने वडाध्यक्षले हस्तक्षेप गर्ने गरेको बताउँदै दर्जीले भन्नुभयो–‘लक्षित बजेटको प्रतिशतमा वडाध्यक्षले हस्तक्षेप गरेर विकास निर्माणमा लगाउन जोड गर्छन् ।’
नगर परिषद सदस्य निरु परियारले पहिलो अभ्यास भएकाले केहि समस्या भएको बताउँदै भन्नुभयो–‘महिला वा दलित बजेट एक्लै बनाउन पाइदैन ।’ परियारको पनि नगरपरिषद भएपनि परिषदबाट गरिने कामबारे आफूहरुले थाहा नै नपाएको गुनासो पोखिन् ।
राजनीतिक रुपमा कुनै पनि सामाजिक कामकाजमा संलग्न भएका महिलाले वडाको नेतृत्व गर्नु परेका कारण पनि समस्या भएको सामाजिक अभियान्ता विना तामाङ बताउनु हुन्छ । अब जनप्रतिनिधि हुनका लागि कम्तीमा पनि १० वर्ष सामाजिक संघसंस्थामा काम गरेका महिलालाई उम्मेद्वार बनाइनु पर्नेमा जोड दिंदै भन्नुभयो–‘पार्टीले बस भन्दा बूस्ने र उठ भन्दा उठ्ने लानु भएन ।’
अर्की सामाजिक अभियान्ता तथा लामो समयदेखि महिलाको अधिकारका क्षेत्रमा काम गर्दै आएकी राधा कार्की महिलाको कार्यक्रमलाई नै पुरुष जनप्रतिनिधिहरुले हल्का रुपमा लिने गरेको उहाँको अनुभव छ ।
महिलालाई हेर्ने दृष्टिकोण अझै पनि सकारात्मक नभएको बताउँदै त्यसका लागि आफैंले क्षमता अभिबृद्धि गर्नुपर्नेमा जोड दिनुभयो । कार्कीले भन्नुभयो–महिलाले म सिक्छु भन्ने भावना राख्नुपर्छ, कोटा होइन आफ्नो भूमिका आफैंले बनाउने हो, त्यसका लागि आफैं अग्रसर हुनुपर्छ ।’ मेचीनगर नगरपालिकाको सहयोगमा नारी सञ्चार गृहले आयोजना गरेको जनप्रतिनिधिसंगको अन्तरक्रियामा महिला जनप्रतिनिधिहरुले यस्तो अनुभव व्यक्त गरेका थिए ।