झापा ८ माघ । मौलिक जरोकिलो पार्टीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवको राजीनामा माग गरेको छ । पदीय मर्यादा लत्याएर कानुनी राज्यको धज्जी उडाउने गरी खुल्लम खुल्ला ज्यान मार्ने धम्की दिने मन्त्री यादवको मन्त्री पदमा बस्ने नैतिक अधिकार समाप्त भएको पार्टीले जनाएको छ । दण्डहीनतालाई प्रश्रय दिने मन्त्री यादवले राजीनामा नदिए उनलाई प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने पार्टीले माग गर।ेको छ ।
साथै, गौर हत्याकाण्ड भनेर चिनिने रौतहटको गौरमा गरिएको नरसंहारको दोषीलाई कडा कारवाही गर्न पार्टीले पुनः माग गरेको छ । नरसंहार भएको झण्डै १५ वर्ष पुग्न लाग्दा समेत दोषीलाई कारवाही नभएको कारण अपराधीहरूको मनोबल बढेको र त्यसै कारण खुल्लम खुल्ला हत्याको धम्की आएको पार्टीले ठहर गरेको छ ।
त्यस्तै, शान्तिपूर्ण विरोध प्रदर्शनको नाममा पछिल्लो समय जनमत पार्टीले प्रदर्शन गरेको बन्द, तोडफोड, आगजनी र अराजक प्रदर्शनले तराई मधेश क्षेत्रको राजनीति हिंसात्मक एवं आपराधिक बन्दै गएको कुरामा चिन्ता व्यक्त गरेको छ । जसपा, लोसपा, जनमत पार्टी लगायतका बहुराष्ट्रियता तथा द्विराष्ट्रियता मान्ने पार्टीहरूको सैद्धान्तिक आधारमै खोट रहेको कारणले खासगरी मधेश प्रदेशमा हिंसात्मक झडपको खतरा देखिएको हुनाले त्यस्तो हुन नदिन सुरक्षा निकाय विशेष सावधान रहनुपर्ने देखिन्छ ।
नेपालको सत्तावृत्तमा कपूतन्त्र रहँदासम्म यस्तै दण्डहीनता रहिरहने भन्दै कपूतन्त्रको समूल अन्त्य गर्न मौलिक जरोकिलो पार्टीले आह्वान गरेको छ।
अराजक अभिव्यक्ति दिने मन्त्री यादवको राजीनामा माग

































































































