रेजिना गौतम
झापा । पूर्वी नाका काँकरभिट्टाबाट दैनिक पाँचसयदेखि एकहजार जनासम्म मानिसहरु नेपाल भित्रिन थालेका छन् । भारतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण फैलिएसंगै विभिन्न कारणले नेपालबाट भारत गएकाहरु स्वदेश फर्किन थालेका हुन् ।
यसरी स्वदेश फर्किएकाहरुको नाकामा तथ्याङ्क संकलन, एन्टिजेन परीक्षण र भ्याक्सिनेसनको कार्य भइरहेको भएपनि पोजेटिभ देखिएकालाई कसरी व्यवस्थित गर्ने भन्ने चुनौति देखिएको छ ।
प्रदेश–१ मा बन्दै गरेको होल्डिङ सेन्टर निर्माण सम्पन्न हुनु अगावै कोभिडको तेस्रो भेरियन्टको संक्रमण बढ्दै जाँदा नाकाबाट स्वदेश भित्रिएका नागरिकलाई कहाँ व्यवस्थित गर्ने भन्ने चिन्ता र चुनौति थपिएको हो । निर्माण सम्पन्न गरी पुस मसान्तभित्रमा सरकारलाई जिम्मा लगाउनुपर्ने समयावधि भएपनि त्यो कार्यान्वयन हुने अवस्था देखिंदैन । समय सकिन अब १ दिन मात्र बाँकी छ ।
होल्डिङ सेन्टर निर्माण सम्पन्न गरी पुस मसान्त भित्रमा जिम्मा दिने सम्झौतासहित हनुमान कन्ट्रक्सन कम्पनी प्रा.लि.ले ठेक्का लिएको झापाका सहायक प्रमुख जिल्ला अधिकारी रुद्र न्यौपानेले जानकारी दिनुभयो ।
पहिलो र दोस्रो चरणको कोरोना संक्रमणका समयमा होल्डिङ सेन्टर चलाएका स्थानीय तहहरुले तेस्रो चरणमा आइपुग्दा सामुहिक होल्डिङ सेन्टर सञ्चालनमा खासै चासो नदेखाएको स्रोतले बताएको छ ।
कोरोना संक्रमण रोकथामका लागि निरन्तर खटिएका एक अभियान्ताले आफ्नो नाम उल्लेख नगर्ने शर्तमा भने–‘स्थानीय तहले आफ्नै पालिकाभित्रका नागरिकलाई राख्ने व्यवस्था गरेपनि अन्तरपालिका, अन्तर जिल्ला, अन्तर प्रदेशका नागरिकका लागि हुने गरी होल्डिङ सेन्टर सञ्चालनमा खासै चासो देखाएका छैनन्, होम आइसोलेसनमा उनीहरुको ध्यान गएको बुझिन्छ ।’

प्रदेशकै होल्डिङ सेन्टर जिल्लामा निर्माण हुन थालेपछि कोरोनाको तेस्रो भेटियन्टको जोखिम बढिरहेका बेला होल्डिङ सेन्टर संचालनका लागि चासो कम भएको बुझिएको छ । यद्यपी पछिल्लो एकसाता यता निरन्तर बढ्दो कोरोना संक्रमण जोखिम कम गर्न संघीय सरकारले जिल्लालाई दिएको निर्देशन अनुसार जिल्लास्थित जिल्ला कोभिड व्यवस्थापन समिति (डिसिएमसी) को पुस २७ गते सम्पन्न बैठकले कोभिडको पहिलो र दोस्रो चरणमा सञ्चालनमा ल्याइएका होल्डिङ सेन्टर, आइसोलेसन र अस्पतालहरुलााई पुनः तयारी अवस्थामा राख्न स्थानीय तहलाई अनुरोध गर्ने निर्णय गरेको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जानकारी दिनुभयो ।
भारतमा ओमिक्रोनको संक्रमण दर एक्कासी बढ्न थालेसंगै कामका शीलशिलामा भारतको विभिन्न ठाउँमा पुगेका नेपालीहरु पूर्वी तथा पश्चिमी नाका हुँदै दैनिक ठूलो संख्यामा स्वदेश भित्रिने गरेका छन् । सभापति ढकालले भन्नुभयो–‘दोलखा, दैलेख, कालिकोटसम्मका छन्, ती मध्ये कुनै एकमा मात्र संक्रमण देखियो भने रिजर्व गरेर जान÷पठाउन खर्चिलो छ, सार्वजनिक यातायातमा जान कति सम्भव छ ?’
पूर्वीनाका हुँदै अधिकतम पश्चिम नेपालका नागरिकहरु भित्रिनुमा पूर्वी भारतका विभिन्न ठाउँमा काम गर्ने र उनीहरुलाई बागडोगरा एयरपोर्ट हुँदै आउन कम खर्चिलो हुनाले पनि पश्चिमका धेरै नागरिक काँकरभिट्टा आइपुग्ने गरेको बताउँदै ढकालले भन्नुभयो–‘सिक्किम, मेघालय, आसाम, मनिपुर लगायतका ठाउँमा काम गर्नेलाई पूर्वीनाका सहज छ भने बागडुग्रा एयरपोर्ट सस्तो भएकाले पनि धेरै नेपालीहरु पूर्वी नाकामा आइपुग्छन् ।’
नाकाबाट नागरिक भित्रिने क्रम बढेसंगै ‘काँकरभिट्टा हेल्थ हेल्प डेक्स’ सञ्चालनमा ल्याइएको छ । मेचीनगर नगरपालिकाको अगुवाईमा सञ्चालनमा ल्याइएको हेल्प डेक्समा नेपाल रेडक्रस सोसाइटीले विवरण संकलनदेखि एन्टिजेन परीक्षण, खोप अभियानमा सहयोग पु¥याइरहेको छ । पछिल्लो समय कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’को सन्त्रास बढेकाले नेपाल प्रवेश गर्ने पूर्वी नाकामा हेल्थ हेल्प डेस्क सञ्चालनमा ल्याइएको हो ।
नाकाबाट भित्रिएका नागरिकमा संक्रमण देखिएमा उनीहरुलाई सुरक्षित रुपमा गन्तव्यमा पुग्ने वातावरण नभएसम्म होल्ड गरेर राख्नुपर्ने हुन्छ । यसअघिका दुईचरणको कोरोना जोखिममा देखिएको समस्याका कारण होल्डिङ सेन्टरको आवश्यकता महशुस गरी काठमाडौं उपत्यकासहित देशभर ७ वटा होल्डिङ सेन्टर निर्माण प्रारम्भ गरिएको हो । संघीय सरकारको लगानीमा निर्माण गरिने होल्डिङ सेन्टर निर्माणको जिम्मा हनुमान कन्ट्रक्सन कम्पनी प्रा.लि काठमाडौंले पाएको थियो । होल्डिङ सेन्टरको रेखदेख गर्ने जिम्मेवारी नेपाली सेनालाई दिइएको छ ।

प्रदेश–१ को होल्डिङ सेन्टरका रुपमा झापाको मेचीनगरमा ४ विगाह जमिनमा १ हजार जना बस्न सक्ने आवास गृह २ वटा मेडिकल ब्लक, शौचालय र अलग्गै भान्साघर निर्माण भइरहेको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जानकारी दिनुभयो ।
होल्डिङ सेन्टरको पुरै काम सक्न समय लाग्ने भएपनि समस्या आए काम चलाउन सक्ने अवस्थामा रहेको निर्माण कम्पनीका सडक म्यानेजर जागृत चौरेलले बताउनु भयो । ९५ प्रतिशत निर्माण कार्य सम्पन्न भएको बताउँदै चौरेलले भन्नुभयो–‘कसैले चासो लिएको छैन, जिम्मा नै लिन चाहेको छैन, हाम्रा सामानहरु हराउन थालेका छन् ।’
होल्डिङ सेन्टर पूर्ण गर्नका लागि कम्पनीका तर्फबाट ३ महिना म्याद थपको प्रस्ताव गरिसकेको बताउँदै चौरेलले भन्नुभयो–‘९५ प्रतिशत काम सकिएको छ, सम्झौता अनुसार पुस मसान्त आउन अब १ दिनमात्र बाँकी छ, अब सरसफाई, बेड र धारा जडान गर्न बाँकी छ, बजेटको कुरा पनि छ, बजेट उपलब्ध हुने हो भने अबको १ महिना सम्ममा सम्पन्न गरेर जिम्मा लाउछौं ।’ सम्झौताको समय सकिनैलाग्दा एकसय बेड भने तयारी भइसकेको चौरेलले बताउनुभयो । सो सेन्टरमा तीनसय बेड तयार गर्ने उहाँको भनाई छ । चौरेलले दोहोर्याउँदै भन्नुभयो–‘हामी जिम्मेवारी पूरा गर्छौ महामारी बढ्दै छ, भोली हामी आफैं पनि बस्नु नपर्ला भन्न सकिन्न । मुख्य बजेट हो, बेडको क्यास पेमेन्ट गर्नुपर्छ, बजेट र जिम्मेवारी लिने निस्कनु पर्यो ।’
२८ करोडमा ठेक्का पाएको होल्डिङ सेन्टरको निर्माण कार्य ९५ प्रतिशत सम्पन्न गरेपनि भुक्तानी भने १२ करोड मात्र पाएको चौरेलले जानकारी दिनुभयो ।

धाराहरु जोड्न बाँकी छ, बाहिर जोड्नुपर्ने ति धारा अहिले जोड्दा हराउँछ, कसले जिम्मा लिने भन्ने स्पष्ट नै छैन, त्यो नभएसम्म धारा हालेर के गर्ने ? हराउँछ मात्रै ।’
होल्डिङ सेन्टर रेखदेखको जिम्मेवारी पाएको नेपाली सेनाका तर्फबाट नयाँ श्रीनाथ गण चारआलीका प्रमुख सेनानी अमरजंग थापाले निर्माण कार्य सम्पन्न गर्न आफूहरुले पनि दवाव दिइरहेको बताउनुभयो । स्ट्रक्चर सबै तयार भइसकेको जानकारी दिदै उहाँले भन्नुभयो–‘दैनिक प्रयोजनका सामग्री (भाडाकुडा, पानी, खाद्यान्न) ब्यवस्थापनबाहेक एकसय बेड क्षमता तयार छ । बाँकी काम सम्पन्न गर्न म्याद थपका लागि प्रस्ताव गरेको बुझिएको छ । बजेटको कुरा पनि जोडिएको छ । सरकारबाट हामीलाई प्राप्त रकम सबै दिइसकेका छौं ।’
प्रमुख सेनानी थापाका अनुसार ८० देखि ८५ प्रतिशत काम सम्पन्न भएको छ भने निर्माण कम्पनीले ९५ प्रतिशत सकिएको दावी गरेको छ । बजेटका सम्बन्धमा सरकारका तर्फबाट सेनालाई प्राप्त भएको रकम सबै भुक्तानी गरिसकेको सेनानी थापाले बताउनु भयो ।

































































































