रेजिना गौतम
इलामको रोङ गाउँपालिका वडा नं–६ मा करसोङ (सुनाखरी) पदमार्गको ट्रयाक खोलेर सो क्षेत्रमा कच्ची मोटर बाटो पुगेसंगै व्यवसायिक आकर्षण बढ्न थालेको छ । व्यवसायिक आकर्षण बढेसंगै बसाईँ सर्ने लहर बन्द भएको छ भने व्यवसाय सञ्चालन गर्ने उद्देश्यले अन्यत्रबाट त्यहाँ पुग्नेको संख्या बढेको रोङ गाउँपालिका–६ इलामका वडाध्यक्ष मनिकुमार स्याङ्बो (सुवास)ले बताए ।
पदमार्गको ट्रयाक खुलेसंगै व्यापारिक स्वार्थ तथा अन्य क्षेत्रका मानिसहरुको आकर्षण बढेको बताउँदै स्याङ्वोले भने–‘बसाई सर्ने लहर छैन, बरु आउने क्रम चै बढ्यो, गर्मी छल्ने, रिटायर लाइफ आनन्दले बस्ने, व्यवसाय गर्ने लगायतका विभिन्न कारणले यहाँ आउने क्रम बढेको छ ।’ आकर्षण बढ्नुको कारण कृषि उत्पादन पनि रहेको बताइएको छ । पछिल्लो समय सो क्षेत्रमा एभोकार्डो, सुन्तला, मह लगायतका कृषिजन्य उत्पादन बढेको छ । ती उत्पादन गाउँमै विक्री हुनाले पनि सो क्षेत्रको आकर्षण बढेको हो । कच्ची भएपनि मोटरबाटो पुगेपछि सो क्षेत्रमा उत्पादन भएका कृषिजन्य फलफूल, तरकारी तथा मह किन्न घरमै मान्छे पुग्न थालेको अध्यक्ष स्याङ्वोले बताए । यसले गाउँको विकास र आर्थिक समृद्धिमा टेवा पुग्ने अध्यक्ष स्याङ्वोको अपेक्षा छ ।

करसोङ पदमार्गलाई लक्षित गरी साइक्लिङको समेत संभावना रहेको भनिएको करसोङ तथा कन्याम क्षेत्रलाई लक्षित गरी दुई युवाले भाडामा साइकल उपलब्ध गराउने उद्देश्यले व्यवसायिक प्रक्रिया अघि बढाएका छन् ।
पर्यटन आवागमनका लागि पदमार्ग निर्माण, मोटरबाटोको ट्रयाक खुलेसँगै २ वर्षअघिसम्म प्रति रोपनी ५० हजारदेखि बढीमा डेढलाखमा पाइने जमिनको मूल्य त्यसयता आकाशिएको छ । इलामको रोङ गाउँपालिका वडा नं.–३ हाँसपोखरीदेखि शुरु करसोङ पदमार्गको ट्रयाक झण्डीडाँडा, सलकपुर हुँदै पाटापुरसम्म पु¥याउने लक्ष्य राखिएको छ । २०७७ साल कात्तिक २२ गतेबाट शुरु भएको २९ किलोमिटर दुरीको करसोङ पदमार्ग अन्तरगत पहिलो चरणमा १६ किलोमिटर निर्माण सम्पन्न भएको छ । उक्त पदमार्गका ६ ठाउँमा होमस्टे सञ्चालनार्थ केन्द्र छानिएको छ ।
रोङ गाउँपालिकाको वडा नं.–३ हाँसपोखरीदेखि चिण्डे, गिद्धेभिर, झण्डीडाँडा, सलकपुर हुँदै मेची सिद्धिनहर (पाटापुर)–को दुरीलाई पदमार्गका रुपमा विकास गर्नु तथा उक्त मार्ग साइक्लिङका लागि पनि उपयुक्त रहेको भन्ने ठम्याई बढ्दै जाँदा करसोङ पदमार्ग अन्तरगतका जमिन मूल्यवान हुँदै गएका हुन् ।
विक्री नभएर त्यतिकै छोडेको ठाउँ अहिले त मूल्यवान भएको छ । रोङ–६ रम्भ्याङका स्थानीय नारायण प्र्रधानले भने–‘दुईवर्ष अघिसम्म ५० हजारदेखि डेढलाखमा पाइने एकरोपनी जमिनको मूल्य अहिले ६/७ लाख पुगेको छ ।’ उनले थपे–‘बुढेसकालमा सहजजीवन विताउन पहिले झापातिर घर भिटा जोडेकाहरु पनि फर्कन थालेका छन् ।, व्यवसायिक प्रयोजन तथा वातावरणीय हिसाबले पनि यहाँ आकर्षण बढेको छ, भिटाका रुपमा जमिन विक्री हुन थालेको छ ।’
प्रधानले आफ्नी दिवंगत आमा राममाया राई प्रधानको नाममा स्थानीय सामुदायिक स्वास्थ्य इकाईलाई जमिन प्रदान गरेको बताइएको छ ।
त्यसो त पदमार्गमा होटल प्रवद्र्धनका लागि परम्परागत ढाँचामै भौतिक संरचना निर्माण गर्ने गरी जग्गा विक्री हुन थालेसंगै मूल्य आकाशिएको वडाध्यक्ष मनिकुमार स्याङ्बो (सुवास)–ले बताए । उनले भने–‘नीजि क्षेत्रको प्रवेश विना विकास कठिन हुँदोरहेछ, त्यसकारण प्लटिङ गरेर बालुवा गिटी थुपार्ने गरी होइन, परम्परागत ढाँचा कायम रहने शर्तमा जग्गा विक्री हुन थालेसंगै मूल्य आकाशिएको छ ।’ अध्यक्ष स्याङ्वोका अनुसार झण्डीडाँडादेखि सलकपुरसम्मको क्षेत्रमा २०० प्रतिशतले जमिनको मूल्यमा बृद्धि भएको छ ।
झापाबाट लगभग २० किलोमिटरको दुरीमा रहेको रम्भ्याङलाई जोड्ने सहज मोटरबाटो अभावका कारण संभावना भएर पनि ओझेलमा परेको हो । सडक सञ्जालसंग जोडेर त्यहाँका अलौकिक दृष्य नियाल्नेका लागि पदमार्गलाई व्यवस्थित र आकर्षक बनाउन सके सरकारको समृद्धिको नारामा अवश्य टेवा पुग्नेछ ।

































































































