विर्तामोड १७ पुस । प्रदेश–१ का आन्तरिक मामिला कानून तथा गृह मन्त्री केदार कार्कीले जनताको भोटले जितेका जनप्रतिनिधिले शासक बन्न नहुने बताउनु भएको छ ।
झापाको विर्तामोडमा भाउजु मिट मार्ट प्रालिद्वारा सञ्चालित मिट माउण्ट को उद्घाटन गर्दै मन्त्री कार्कीले समाज परिवर्तन गछौं भन्ने जनप्रतिनिधि र नेताहरु पहिले आफैं सच्चिन जरुरी रहेको बताउँदै जनताले तिरेको सेवा सुविधा उपभोग गरेर जनप्रतिनिधिहरु शासक बन्नु दुःखद भएको बताउनु भयो । कार्यक्रममा बोल्दै मन्त्री कार्कीले भोट दिएर जिताएका जनप्रतिनिधिलाई शासक बनाउन लम्पसार पर्ने प्रबृत्ति छोडेर जनप्रतिनिधिहरु सेवक हुन भन्ने भावनाको विकास गर्न सुझाव समेत दिनुभयो ।
चुनाव जितेपछि जनताको भोटलाई बिर्सिएर जनता कर बुझाउने स्रोतमात्र हुन भन्ठानेका कारण विकासका काम हुन नसकेको बताउँदै मन्त्री कार्कीले नेताले देशविदेशका कुरा गर्नुभन्दा गाउँका मानिसको सपना के छ भन्ने कुरा बुझ्नु पर्नेमा जोड दिनुभयो ।
नेपाली समाजमा पढेर डाक्टर, इन्जिनियर बन्ने शिक्षाबाट प्रेरित भएका कारण पनि कृषिमा आकर्षण कम भएको बताउँदै मन्त्री कार्कीले कृषिमा आकर्षण बढाउन सरकारले विभिन्न अनुदानका कार्यक्रम सञ्चालन गरिरहेको बताउनु भयो ।
भाउजु मिट मार्ट प्रालिका संचालक रेखाकुमारी केसी कार्कीको अध्यक्षता तथा मन्त्री कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिना, विर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार शिवाकोटी, राष्ट्रिय उपभोक्ता मञ्च झापाका अध्यक्ष मदनगोपाल सुब्बा लगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रममा स्वागत तथा औचित्यमाथि मार्टका प्रबन्ध निर्देशक अबिचन्द्र रिजालले प्रकाश पार्नु भएको थियो भने सञ्चालन विष्णु खरेलले गर्नुभएको थियो ।
मिट माउण्टले देवभूमि बहुउद्देश्यीय कृषि फार्म इलाम र पूर्वी किरण कृषि फाम झापासँगको सहकार्यमा मासु पसल सञ्चालनमा ल्याएको बताइएको छ । यी फामहरुले कुखुरा, खसि, बँदेल, माछा लगायतका पशुपंक्षी उत्पादन गर्दै आएको छन् ।
मिट माउण्ट सञ्चालनका लागि नेपाल सरकारको मापदण्ड अनुरुप करिब आठ सय वर्ग फिटमा पशुपक्षी बधशाला र लगभग १३०० वर्ग फिटलाई खण्डिकत गरी विभिन्न मासुहरुको बिक्री कक्ष निर्माण गरिएको छ ।
उपभोक्ताहरुले खसी, भेँडा–च्याङ्ग्रा, बँदेल, टर्की, अष्ट्रिज, कुखुरा, बट्टाइ, हाँस, कुखुरा लगायत विभन्न प्रकारका माछा गरी १७ देखि २० प्रकारका माछा–मासु एउटै छातामुनी सहज रुपमा पाउने आयोजकको दावी छ ।
जनताको भोट पाएका जनप्रतिनिधि शासक बन्न नहुने
