झापा । बिर्तामोड नगरपालिकाले कृषकहरुको लागि व्याडको वोयर जातका बोका, कृषि औजार तथा कृषि सामाग्री वितरण गरेको छ । नगरपालिकाको कार्यालयमा बिहिबार आयोजित एक कार्यक्रमका बीच नगरका १० वटा वडाका कृषक तथा विभिन्न कृषक समुहलाई बोयर जातका बोका, कृषि औजार तथा साइलेज मेसिन वितरण गरेकोे हो ।
नगरपालिकाको पशुपंक्षी तथा मत्स्य विकास शाखा र कृषि विकास शाखाले आर्थिक वर्ष २०७७/७८को स्वीकृत कार्यक्रम अनुसार श्रीजंघा बाख्रा पालन समुह बिर्तामोड–७, लखिबारी युवा बाख्रापालन कृषक समूह बिर्तामोड– ९, बद्रीवाडी बाख्रापालन कृषक समुह बिर्तामोड–९ र नयाँ नमुना बाख्रापालन कृषक समुह बिर्तामोड–८लाई बोका वितरण गरेको हो ।
यसैगरी सोही कार्यक्रम अन्तरगत बिर्तामोड कृषि तथा पशुपालन समुह बिर्तामोड–७ लाई साइलेज मेशीन हारवेस्टर हस्तान्तरण गरिएको छ । व्यवसाियक कृषकहरुको लागि पशु आहार व्यवस्थापन गर्ने उद्देश्यले १० लाख ५० हजार मूल्य बराबरका मेसिन हस्तान्तरण गरिएको बताइएको छ । उक्त सामग्रीे ८०/२० को लागत सहभागीतामा वितरण गरिएको हो।

यस्तै नगरपालिकाले १० वटै वडाका ४४ जना कृषकहरुको लागि च्यापकटर (कुटी काट्ने मेशिन) वितरण गरेको छ । बिर्तामोड नगरपालिका र सहारा नेपाल साकोसको साझेदारीमा उक्त मेसिन वितरण गरेकोे हो । यस्तै नगरपालिकाले तरकारी उत्पादन गर्ने नगरका १० वटै वडाका ६० जना व्यवसायीक कृषकहरुको लागि स्पेयर ट्याँकी, अर्गानिक विषादी लगायतका विभिन्न सामाग्रीहरु समेत वितरण गरेको छ ।
सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै नगरप्रमुख धु्रवकुमार शिवाकोटीले सहयोगी संस्था सहारा नेपालप्रति धन्यवाद ज्ञापन गर्नुभयो ।
यस्तै उपप्रमुख पवित्रा महतरा प्रसाईले कृषि र पशुपंक्षीमा उत्पादन बढाउन सकेमात्रै देश अगाडि बढ्न सक्ने बताउँदै कृषकहरुलाई नगरले दिएको सामाग्री सदुपयोग गर्न आग्रह गर्नु भयो ।
कार्यक्रममा बोल्दै प्रमुख प्रशासकिय अधिकृत गणेशप्रसाद दाहालले कृषि र पशु देशको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको भन्दै यस क्षेत्रलाई व्यवसायिक बनाएर लैजानु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा सहयोगी संस्था सहारा नेपाल साकोसका सहसचिव ज्ञानुनाथ मैनालीले किसानहरुलाई थोरै भएपनि राहत पुगोस् र उत्पादन मुलक काममा आयात वृद्वी होस् भन्ने अभिप्रायले विगतदेखि अहिलेसम्म गर्दै आएको बताउनु भयो ।
कार्यक्रममा बिर्तामोड–९का वडाध्यक्ष पवित्रा पाठक, शिक्षा शाखा प्रमुख तिलचन भण्डारी,शाखा अधिकृत देवराज कार्की,कृषि विकास शाखा प्रमुख राजेन्द्र कडरीया,पशुपंक्षी तथा मत्स्य विकास शाखा प्रमुख सावित्रा दाहाल,प्राविधिक विष्णुप्रसाद भट्टराई,सहारा नेपाल साकोसका शंकर रिजाल लगायत जनप्रतिनिधि तथा कृषकहरुको सहभागिता रहेको थियो ।

































































































