विर्तामोड ३१ जेठ । नेपाली कांग्रेसका विभिन्न तहका नेताहरुले कम्युनिष्ट नेतृत्वको वर्तमान सरकार ‘इतिहासकै निकम्मा र नालायक’ भएको आरोप लगाएका छन् ।
नेपाली कांग्रेस झापाको आयोजनामा सम्पन्न भर्चुअल बैठकमा कोभिड महामारी नियन्त्रणको पूर्वतयारी, संविधानको रक्षाका सवालमा कामै गर्न नसकेको सरकार ‘इतिहासकै लाछी’ भएको जिकिर गरेका हुन् ।
कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले सरकारले बेलैमा सरकारी अस्पतालको स्तरउन्नति, खोप खरिद, अस्पतालहरुमा अक्सिजन प्लान्ट जडान लगायतका पूर्वतयारी गरेको भए यतिधेरै जनताको ज्यान कोभिडका कारण नजाने उल्लेख गर्दै सरकारको अकर्मण्यताका कारण धेरैले ज्यान गुमाउनुपरेको बताउनुभयो ।
संविधान मिचेर सत्ता टिकाउने काममा सरकार सक्रिय रहेको उल्लेख गर्दै पूर्व उपप्रधानमन्त्री तथा संविधान मस्यौदा समितिका संयोजक समेत रहनुभएका नेता सिटौलाले भन्नुभयो–‘सरकारकै कारण देशको राजनीति संकट उन्मुख छ, सर्वोच्च अदालतले संसद पुनस्र्थापना गरेरै छाड्ने मलाई विश्वास छ ।’
भौतिक रुपमा सडक संघर्ष गर्ने अवस्था नरहेपनि वैचारिक र नीतिगत दृष्टिकोणबाट सरकारका गलत कामको विरोध गरिरहेको बताउँदै उहाँले पार्टीभित्र बृहद एकता गरेर पार्टीको आन्तरिक चुनावमा स्वस्थ प्रतिष्पर्धा गर्न पनि कार्यकर्तालाई निर्देशन दिनुभयो । कोभिड संक्रमणबाट थलिएका प्रत्येक जनताको घरदैलोमा पुगेर सहानुभुति प्रकट गर्न सुझाउनुभएका नेता सिटौलाले अति विपन्न परिवारलाई राहतको ब्यवस्था गर्न समेत निदेशन दिनुभयो ।
कार्यक्रमका विशेष अतिथि तथा युवा नेता नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपाली कांग्रेसले प्रविधिको प्रयोगमार्फत क्रियाशिल सदस्यता नवीकरण र नयाँ सदस्यता वितरणको कार्य अन्तिम चरणमा पु¥याएको बताउँदै प्रविधिमार्फत नै मनोनयन दर्ता र महाधिवेशनका सम्पूर्ण प्रक्रिया पूरा गर्न सकिने जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै कांग्रेस केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीले विपदमा कांग्रेस अभियान चलाएर कोभिड, बाढी, पहिरो, नदीकटान जस्ता प्रकोपमा प्रकोप पीडितको घर–घरमा पुग्ने अभियान सञ्चालनको पूर्वतयारी योजना बनाउन आग्रह गर्नुभयो ।
कांग्रेस केन्द्रीय सदस्य सुधिरकुमार शिवाकोटीले संवैधानिक रुपमा पार्टीको महाधिवेशन नगरी पनि नहुने र गर्दा पनि असाधारण हुने अवस्था रहेको बताउँदै यसको उचित निर्णय केन्द्रीय समितिले लिने बताउनुभयो ।
कांग्रेस केन्द्रीय सदस्य सरिता प्रसाईले मुलुकको संविधानको रक्षा, कोरोना भाइरसको ब्यवस्थापन र पार्टीको महाधिवेशन कांग्रेसका प्रमुख जिम्मेवारी रहेको उल्लेख गर्दै पार्टीको बैधता समाप्त हुने हुँदा महाधिवेशन निर्धारित समयमा गर्नैपर्ने बाध्यता रहेको बताउनुभयो ।
नेपाली कांग्रेस झापाका सभापति उद्वव थापाको सभापतित्व र प्रवक्ता लोकराज ढकालको सहजीकरण तथा प्रविन निरौलाको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा कांग्रेस नेताहरु पूर्णानन्द शर्मा, रामकुमारी पौडेल, सिता पौडेल, राजेन्द्र रिजाल, दीपक तामाङ, पदम प्रसाई, सुन्दरा लुहागुन, गोमा भट्टराई, देउमान थेवे, भक्ति सिटौला, अन्तर्राष्ट्रिय झापाली समाज उपाध्यक्ष नवी न पोखरेल, गोविन्द पौडेल, क्षेत्रीय सभापतिहरु मणि उप्रेती, खगेन्द्र मैनाली, गणेश पोखरेल, जयनारायण शाह, ढुण्डिराज भण्डारी लगायतले कोरोना भाइरस संक्रमणको अवस्था, राहत वितरण, पार्टीको चौधौ महाधिवेशन, सरकारका गतिविधि लगायतका विषयमा आ–आफ्ना धारणा राखेका थिए ।
धारणा राख्ने अधिकांश बक्ताहरुले सरकारको कोभिड नियन्त्रणमा प्रभावकारी पूर्वतयारी गर्न नसक्दा धेरै जनता ज्यान गुमाउन बाध्य भएको, आफू पनि खरिद नगर्ने र निजी क्षेत्रलाई खरिदको अनुमति समेत नदिने सरकारी अकर्मण्यताका कारण अबको तीनबर्षमा पनि सबै जनताका लागि खोप आउने सम्भावना कम रहेको, प्रधानमन्त्री के.पी. ओलीले आफ्नो सत्ता टिकाउने रक्षाकवचको रुपमा राष्ट्रपति र कोभिड संक्रमणलाई लिएको, राष्ट्रपति पनि देश र जनताको पक्षमा नभई प्रधानमन्त्रीको कूर्सी जोगाउन मात्रै लागि परेको धारणा राखेका थिए ।
संवैधानिक ब्यवस्थाका कारण पार्टीको महाधिवेशन गर्नैपर्ने बाध्यता रहेको जनाउँदै अधिकांश बक्ताहरुले अब भने तोकिएकै समयमा महाधिवेशन गर्ने आधार तय गर्न केन्द्रीय समितिलाई आग्रह गर्दै ‘एक ब्यक्ति एक पद’को अवधारणा अनुसार पार्टी महाधिवेशन गर्न सके संगठन पनि सुदृढ बन्ने र योगदान गरेका पार्टी कार्यकर्ताले उचित स्थान पाउने धारणा राखेका थिए । जिल्लामार्फत नै मतदानको ब्यवस्था गरेर भए पनि महाधिवेशनमा जोड दिएका बक्ताहरुले पार्टीको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्ने, पार्टी महाधिवेशन सँगसँगै नजिकिएको स्थानीय तहको निर्वाचनको तयारी समेत गर्नुपर्ने, प्रधानमन्त्री के.पी. शर्मा ओलीको निरंकुशता र निरन्तर संविधानमाथिको प्रहार रोक्न उपयुक्त नीति निर्धारण र विरोधका कार्यक्रम गर्नुपर्ने, भ्याक्सिन आयातका लागि सरकारलाई दबाब दिनुपर्ने र कोभिड संक्रमणका कारण जारी लकडाउनले चुलो बाल्न नै समस्या भएका सर्वसाधारणलाई राहतको ब्यवस्थापन गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा धन्यवाद ज्ञापन पार्टीका उपसभापति राम कट्टेलले गर्नुभएको थियो ।
‘सरकार इतिहासकै निकम्मा’–कांग्रेस



















