जीवनमा केही गर्न सकिन भन्ने उहाँलाई अहिले पनि लागिरहन्छ । आफ्नो लागि भन्दा पनि देश र जनताको लागि केही गर्न सकिन भन्ने मनमा औडाहा लागिरहने उहाँले गरेका सामाजिक क्षेत्रका कामहरु धेरै छन्–तर, अदृश्य । कहिले स्कुले बालबालिकाबीच कपी डटपेन लिएर पुग्नु हुन्छ त कहिले स्कूलका पोशाक लिएर जानुहुन्छ । कहिले ज्येष्ठ नागरिकबीच पुग्नु हुन्छ त कहिले बाल, बृद्धाश्रम, अपाङ्ग, अनि गरिब गुरुवाका भान्छामा छाक टार्ने माध्यम बनेर पुगिरहनु भएको छ । तथापि आफूलाई भने केही नगरेको महशुस भएको भन्दै गुनासो गरिरहनु हुन्छ–त्यस्ता व्यक्तित्व हुनुहुन्छ–डिल्लीकुमार गुरुङ । सिक्किमको तादोङमा सन् १९९४ मा जन्मनु भएका गुरुङ ६ वर्षको हुँदा मातृभूमि नेपाल फर्कनुभयो । नेपालको सुदुरपूर्वी ताप्लेजुङ जिल्लाको सिनाममा बसोबास गर्दै आउनुभएका हरिभक्त र छलिमाया गुरुङका जति सन्तान जन्मिए पनि बाँचेनन् । तव बसोबास गरेको ठाउँ छोडेर सिक्किम जाने निर्णयमा पुगे उनीहरु । त्यसबेला छलिमायाको पेटमा डिल्लीकुमार आइसकेका थिए रे ।
त्यतिबेलाका डाक्टर बैद्य जे भने पनि धामी झाँक्रीलाई नै मान्ने प्रचलन थियो । सोही प्रचलन अनुसार उनीहरुको सल्लाहमा सन्तान बचाउनका लागि छलिमायाको माइती घर सिक्किमको तादोङमा पुगे ।
१९९४ असार १९ गते बिहीबारका दिन तादोङमा जन्मिएका उहाँलाई ६ वर्षपछि सिनामस्थित थाकथलो (गुरुङ गाउँ)–मा फर्काइएको थियो साथमा डिल्लीकुमारकी एक बहिनी थिइन् । ८४ को फेरो लगाउँदै गर्नुभएका गुरुङले भन्नुभयो–‘मदेखि माथि जन्मिएका कुनै पनि नबाँचेपछि धामी झाँक्रीको सल्लाह अनुसार म गर्भमा हुँदा आमा बुबाहरु मावली घर तादोङ जानु भएको थियो रे । त्यो बेला डाक्टर भने पनि बैद्य भने पनि धामी झाँक्री नै थिए’– उहाँले भन्नुभयो ।
सिनामको सरस्वती निमाविबाट कक्षा–६ सम्म अध्ययन गरेका गुरुङ थप अध्ययनका लागि तेह्रथुमको संक्रान्ती बजारस्थित त्रिमोहन माविबाट एसएलसी उत्र्तीण गर्नुभयो । एसएलसीपछि पढाइलाई निरन्तरता दिने अवस्था नभएपछि उहाँ शिक्षण पेशातर्फ लाग्नु भयो रे । आफूले कखरा सिकेकै स्कूल सिनाम निमाविमा शिक्षण पेशा शुरु गर्नुभयो । दुईवर्षे शिक्षण सेवामै रहँदा विराटनगरमा हुलाक सेवाको बैदारमा नाम निकाल्नु भयो । केही समय हुलाकको कार्यानुभव बटुलेपछि उहाँ फेरि शिक्षक पेशामै फर्किएर २०२१ देखि तीन वर्षसम्म मामाङ्खेस्थित लक्ष्मी प्राविको प्रधानअध्यापकको भूमिकामा शिक्षण सेवामा संलग्न हुनुभयो । मामाङ्खेमा शिक्षण पेशाकै क्रममा कुम्भकर्ण हिमालको फेदीसम्म पुगेर कुम्भकर्ण भगवानको दर्शन गर्ने अवसर पाउनु भएका उहाँले व्यापारिक क्षेत्रमा पनि संलग्न हुनुभयो र घरको आर्थिक अवस्थालाई सुधार्ने प्रयत्न गर्नुभयो रे । त्यो बेला उहाँले सुन, चाँदी, लाहुरेले ल्याएका घडी खरिद विक्री गरेर केही आम्दानी गरेको गुरुङले सुनाउनु भयो । गुरुङले भन्नुभयो–‘लाहुरे घर फर्किए रे भनेको सुन्ने वित्तिकै पैसा लिएर लाहुरेले ल्याएका घडी, सुन किन्न पुगिहाल्थें ।’ उहाँले थप्नुभयो–‘सुन भन्दा पनि चाँदीबाट चै पैसा कमियो ।’ उहाँका अनुसार ताप्लेजुङमा एकपटक चाँदी नचल्ने हल्ला चलेपछि गाउँ घरमा स्थानीयले राखेका सुन–चाँदी प्रायः सबै बेचेका थिए । गुरुङले सोही चाँदी खरिद गरेर गाउँबाट बजारसम्म ल्याएर बिक्री गर्नुभएको थियो रे । त्यसबेला सूनको मूल्य प्रतितोला दुईसय रुपैया मात्रै थियो रे । उहाँले भन्नुभयो–‘त्यसैबाट १ खलो खेत समेत किनेको थिएँ ।’
कहिले शिक्षक कहिले बैदार कहिले खरदार र कहिले व्यापारीजस्ता विभिन्न रुपमा दोहोर्याउने क्रममा जिल्ला शिक्षा समिति बोर्डले सिनाम माविकोे संचालक समितिको अध्यक्षमा मनोनित हुनुभयो । सोही क्रममा सिनाम गाउँको प्रधानपञ्चको चुनावमा प्रतिष्पर्धा गरेर सात वर्षसम्म गाउँमा जनप्रतिनिधिका रुपमा काम गरेपछि उहाँले त्यहाँबाट विदा लिनुभयो ।
संघर्षमय जीवनमा गुरुङले आफ्नो जीवन कालखण्डलाई तीनभागमा विभाजन गर्नुभएको थियो रे । पढ्ने, पैसा कमाउने, धर्मकर्म गर्ने । उमेरका आधारमा विभाजन गरेको उमेर अनुसार नै आफू चल्दै आएको उहाँले बताउनुभयो । गुरुङले भन्नुभयो–‘६० वर्षदेखि उकालो लागेपछि दान, धर्म, सामाजिक सेवा गर्छु भनेर समय सोच बनाएको थिए, त्यहि अनुसार चलिराखेको छु ।
ब्रिटिस आर्मि हुने र पैसा कमाउने उहाँको उद्देश्यलाई आमाको मायाले छेक्यो रे । विरामी परेकी आमाको भनाईले पैसा सानो बनाइदिएकै कारण गल्लावालसंग गरिसकेको कुराकानी पनि रद्द गरेर घरैमा बसेको उहाँको भनाई छ । ‘गल्लावालाले पनि हुन्छ भनेको थियो, तर घरमा आमालाई सुनाउँदा आमाको भनाई स्मरण गर्दै गुरुङले थप्नुभयो–‘तँलाई तँ जत्तिकै पैसा खर्च गरेर बचाएको हो, नजा तँ गइस भने फर्केर आउँदा तैले मलाई भेट्न पनि भेट्दैनस् ।’

तीन कार्यकालसम्म एउटा गाविसमा जनप्रतिनिधिको अनुभव संगालेका गुरुङ पछिल्लो समय राजनीतिमा आफैं खाउँ आफैं कमाउ भन्ने कुरा हावी भएको अनुभव पोख्नुहुन्छ । इमानको राजनीति हरायो, नेताको बोलीको ठेगान छैन–उहाँले भन्नुभयो–‘भोट माग्ने सिष्टममा आश्वासनका पोका बाँड्छन्, चुनाव जितेर गएपछि फर्किदैनन्, जनता चिन्दैनन् ।’
आफू ब्रिटिस आर्मी हुन नसकेका डिल्लीकुमारका ३ भाई छोरा ब्रिटिस र सिंगापुरमा छन् । ८४ को फेरो काटिरहँदा हाल उहाँ विर्तामोड वडा नं.–४ मा बसोबास गर्नुहुन्छ, जीवन संगिनीका साथमा । केही वर्षअघि युके र सिंगापुरमा छोराहरुको साथमा पुग्नु भएका उहाँलाई त्यहाँ ६ महिना पनि अडिन कठिन भयो रे, विराम र भाषिक समस्याका कारण । धामी झाँक्रीको सल्लाहबाट बाँचेको म त्यो बेला पनि धामी झाँक्री कै आवश्यकता पर्यो । कुनै बेला राईको घरमा गएर सुतेको थिए, मलाई (राईको) कालो साप देवा भेटेछ, त्यसले अहिले पनि दुःख दिंदै गर्छ । सिंगापुरमा पनि त्यसैको कारण मरिन्छ जस्तै भयो उहाँले भन्नु–‘यहाँ भएकी छोरीलाई टोपी लगेर धामीलाई के–के गर्न लगाएपछि अलि अथवा भयो र हतार–हतार फर्किएको उहाँले बताउनु भयो । ऊ बेलासम्म नेपालबाट गएका सिंगापुर वा युके आर्मीका बुबा–आमा वा अन्य आफन्तको कारणबस मृत्यु भइहालेमा अन्त्येष्टीका लागि नेपालमै ल्याउनु पर्ने प्रावधानका कारण स्वदेश फर्कन हतारो लागेको उहाँले बताउनु भयो । यही मरे भने त छोराहरुले दुःख पाउँछन् भन्ने पीर लागेपछि हतार गरेर फर्किएको उनले बताए । युके बसाईसंगै जीवनको अन्तिम सम्झिएका गुरुङले त्यो बेला छोरा–बुहारीसंग भन्न नसकेको व्यवहारका कुरा लेखेर सिरानीमुनि राखेको स्मरण गर्दै भन्नुभयो–‘सबै कुरा लेखेर आफू सुत्ने सिरानीमुनी राखेको थिए, त्यो पनि उनीहरुले भेटेर हेरुन र बुझुन भन्ने थियोे, तर, पहिले नै भेटेछन् ।’ उक्त कागजमा लेखिएको कुराबाट छोराबुहारी सबैबीच हाँसो भएको स्मरण गर्दै भने–‘जग्गा किन्दा कान्छो छोराले मलाई डेढ दुइलाख दिनुथ्यो त्यो पनि तिर्नुपर्दैन भनेर लेखेको थिए, कान्छा त बाबुलाई अब मैले तीर्नु परेन भने खुशी हुँदै उफ्रियो खुब हाँसो भएको थियो ।’
युके पुगेका उहाँ राई देवाका कारण इच्छाएजति बस्न नपाएको बताउनु हुन्छ । गुरुङले भन्नुभयो–उहिले नै च्याङथापुमा राईको घरमा बास बसेको थिए । त्यहाँ राईको कालो सापदेवाले भेटेको थियो । त्यसले दुख दिइरहन्थ्यो त्यो बेला पनि खुट्टा दुखेर मर्छुकी जस्तो भएपछि हेर्न मन लागेका एकदुई ठाउँ जान पाइन ।’ लण्डन ब्रिज जान मन लागे पनि जान सकिएन ।
सामाजिक कार्य
उमेरले ८४ भएपनि विचार र जाँगर भने अझै युवावस्थाको झैं लाग्ने गुरुङको अबको योजना भने आफू पढेको र पढाएको ताप्लेजुङको सिनाम माविमा अक्षयकोष स्थापना गर्ने, पाँचथर र ताप्लेजुङको सिमाना क्षेत्रमा पर्ने जमिन बुद्धको मुर्ति बनाउनका लागि दिने मन भएपनि उक्त जमिन छोराहरुको असहमतीका कारण रोकिएको बताउनु भयो । अपुताली परेको उक्त जग्गा चलाए नराम्रो (अनिष्ट) पो हुने हो कि भन्ने डरले छोराहरुले नमानेको उहाँको भनाई छ । त्यस्तै पुराण (बुङ काङगुमुर) लगाउने, गरीब–गुरुवालाई चामल तथा सामुदायिक विद्यालयका बालबालिकालाई स्टेशनरीको सामग्री वितरण गर्ने योजना रहेको उहाँले बताउनु भयो । यसअघि पितृ उद्दारका लागि श्रीमद्भागवत महापुराण लगाउने इच्छा पूरा हुन नसकेको गुरुङ बताएका गुरुङले भन्नुभयो–बसाई सराईसंगै आफ्नो जात बन्धुसंग मिल्नका लागि बौद्धमार्गी भएँ, बौद्धमार्गी भएपछि भागवत लगाउन भएन । तर, बौद्धधर्म अनुसार लामा (बुङ) पढाएँ र दान दक्षिणा गरें ।’ दिन दुःखीको सेवामा रमाउने अनि सबैभन्दा ठूलो अन्न दान भन्ने सुन्नु भएका गुरुङले कोरोना संक्रमणमा १५ सय केजी चामल वितरण गरेको बताउनु भयो । भोकले कोही पनि मर्नु हुन्न भन्ने कुरामा जोड दिने गुरुङ अझै पनि चामल दान गर्न इच्छुक हुनुहुन्छ र गरिपनि रहनु भएको बताइएको छ । त्यसो त बृद्धबृद्धालाई सम्मान गर्दा टोपी खदा मात्र ओढाएर सम्मान गर्ने चलनलाई तोड्दै उहाँले पूर्ण पहिरनसहित सम्मान गर्नुभएको थियो ।
भ्रमण ः
सिक्किममा जन्मेका उहाँ ६ वर्षपछि पूख्र्यौली थाकथलो फर्काइएका गुरुङ विभिन्न जिम्मेवारीका क्रममा गृह जिल्लाका विभिन्न गाउँमा पुगे । त्यस्तै नेपालका अन्य धार्मिक तथा पर्यटकीय क्षेत्रहरु लुम्बिनी, हलेसी दर्शन, मुक्तिनाथ, पशुपतिनाथ, गुहेश्वरी, स्वयम्भु, बौद्ध, दक्षिणकाली लगायतका ठाउँका भ्रमण गरेको बताउनु भयो । त्यस्तै गरी भारतको बोधगया, सारनाथ, कुसीनगर, वैशाली, राजगिरी, सरस्वती, ढुङ्गेश्वर, काँशी, बनारस, विश्वनाथ, गयागंगा, फाल्नुनदीको दृश्यावलोकन गर्नुभएका गुरुङले लण्डन, स्कटलेण्ड, मेन्चेष्टर सिटी, लिवरपुल, ब्रमिङहाम, टावलब्रिच, लण्डनब्रिच, वेल्स, थाइलैण्ड लगायतका ठाउँहरुको भ्रमण गर्नुभएको बताइएको छ । भ्रमणका रमाइला दृष्यहरु ताजै रहेको उहाँले बताउनु भयो । स्वदेश तथा विदेशका विभिन्न ठाउँको भ्रमण गर्नुभएका उहाँलाई नेपालको मुक्तिनाथ भने अझै पुग्ने रहर भएको बताउनु भयो । एकपटक पुगे उहाँले भन्नुभयो–‘सक्छु सक्दिन थाहा छैन, तर अझै एकपटक पुग्ने इच्छा छ, जाने ठाउँ चै त्यो रहेछ ।’
योजना ः
त्यसो त विर्तामोड १० सैनिक बजारमा अवस्थित बौद्ध गुम्बा निर्माणदेखि दैनिक वात्ती बाल्ने खर्च जुटाउन अक्षयकोष स्थापनाका लागि महत्वपूर्ण भूमिका खेल्नु भएका गुरुङको उक्त गुम्बालाई अझै व्यवस्थित र राम्रो बनाउने इच्छा छ । सोही अनुरुप गुम्बामा बैधानिक गेट बनाउने योजना छ–गुरुङले भन्नुभयो । त्यस्तै आफूले पढेको र पढाएको स्कूलमा अक्षयकोष स्थापना गर्नुका साथै एउटा समुदायको मात्र नभई सबै समाजले आफूलाई सदा स्मरण गर्ने किसिमको कुनै काम गर्ने इच्छा भएको गुरुङले बताउनु भयो ।
आफ्नो पालामा जीवनको सबैभन्दा ठूलो कुरा इमान्दारिता, धर्म, विश्वास र ज्ञान नै रहेको बताउने गुरुङले कुनै सम्झौता नगरी पढाईमा अघि बढ्न अहिलेको पुस्तालाई सुझाउनु भयो । उहाँले भन्नुभयो–‘ज्ञान जति ठूलो केही होइन त्यसैले पढाईमा ध्यान दिनु, इमान्दारिता नै सफलताको कसी हो, इमान्दारिता धर्म पनि हो, अनि विश्वास– उहाँले थप्नुभयो–‘धर्म, विश्वास र इमान्दारिताले मात्र मान्छेलाई सफल बनाउँछ ।

































































































