भद्रपुर । झापामा हात्तीपाईले रोग विरुद्धको १० औं पटकको आम औषधी वितरण अभियान २०७७ शुक्रबारदेखि प्रारम्भ भएको छ । स्वास्थ्य कार्यालय झापाद्वारा चन्द्रगढीमा एक कार्यक्रमको आयोजना गरि अभियानको प्रारम्भ गरिएको हो । कार्यक्रमका बीच भद्रपुर नगरपालिकाका नगर प्रमुख जीवनकुमार श्रेष्ठ, उपप्रमुख चन्द्रमाया श्रेष्ठ,मेची अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा पिताम्बर ठाकुर ,जिल्ला समन्वय समितिका प्रमुख सोम पोर्तेल, संचारकर्मी लगायतले एक साथ औषधी सेवन गरेर अभियानको शुभारम्भ गरिएको थियो ।
शुभारम्भ कार्यक्रममा बोल्दै समन्वय समिति संयोजक पोर्तेलले सचेत नागरिक रहेको जिल्लाको पहिचान बोकेको झापाका सबै नागरीकले अनिवार्य औषधी सेवन गरेर अभियान सफल पार्नुपर्ने बताउनु भयो । त्यस्तै भद्रपुर नगरपालिकाका नगर प्रमुख श्रेष्ठले यसअघि औषधी सेवन गरेकालाई यो पटक पनि नियमित गर्न आग्रह गर्दै अभियानको अनुगमन गर्न नगरपालिकाले जनप्रतिनिधहरुलाई खटाएको जानकारी दिनुभयो ।
स्वास्थ्य कार्यालय झापाका प्रमुख ईश्वरीप्रसाद पौडेलले औचित्यमाथि प्रकाश पार्दै आगामी चैत्र मसान्त सम्म संचालन गरिने अभियानमा झापाका ८ लाख १६ हजार बढी नागरिकलाई यस पटक हात्तीपाईले रोग विरुद्धको औषधी सेवन गराउने योजना रहेको बताउनु भयो ।
मेची अंचल अस्पतालका डा. पिताम्वर ठाकुरले एकहप्ता सम्मका सुत्केरी ,२ बर्ष भन्दा कम उमेरका बालबालिका र सिकिस्त विमारी बाहेकका सबैले अनिवार्य औषधी सेवन गर्न आग्रह गर्दै औषधीले कुनै असर नगर्ने बताउनु भयो ।
पोर्तेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममको संंचालन कार्यालयका फोकल पर्सन जीवन चौम्लागाईले गर्नु भएको थियो । कार्यक्रममा जनप्रतिनिधि, पत्रकार लगाएतका स्थानीयहरुको समेत सहभागिता रहेको थियो ।
हात्तीपाइले विरुद्धको औषधी खुवाउने अभियान शुरु



















