विर्तामोड । झापाको विर्तामोडमा आयोजित एक कार्यक्रमका बीच नेपाली साहित्यका अग्रज भाषाविद् चुडामणि रेग्मीको चूडामणि रेग्मी ग्रन्थावली–३ घुम्टीखोली लोकर्पण गरिएको छ ।
जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषको आयोजनामा कोषको विर्तामोडस्थित सभाहलमा आयोजित कार्यक्रममा चूडा मणि रेग्मी ग्रन्थावली–३ घुम्टी खोलीको घुम्टो खोलिएको हो ।

साहित्यकार सरोज ओलीको प्रमुख आतिथ्यता तथा जयेन्द्रप्रसाद साहित्य सेवा कोषका अध्यक्ष गोपीकृष्ण प्रसाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि ओली, साहित्यकार कोमलप्रसाद पोखरेल, प्राज्ञसभा सदस्य सुभद्रा भट्टराई, पुण्य खरेल लगायतले शुभकामना मन्तव्य राख्दै उमेरले बुढ्यौली अवस्थामा पुगेका साहित्यकार रेग्मीले प्रविधिको प्रयोग गरेर अहिलेपनि साहित्य लेखनमा झक्झक्याइरहेको बताएका थिए ।
साहित्यका विविध विधामा कलम चलाउन सक्षम रेग्मीले समालोचनामा आलोचनात्मक शैलीको प्रस्तुती नगरेकै कारण सबैलाई संगसंगै लिएर हिड्ने व्यक्तित्व रेग्मी साहित्य क्षेत्रको पाठशाला भएको उनीहरुको भनाई थियो ।
साहित्यकारहरु होम सुवेदी, पुण्यप्रसाद खरेल र हरिनारायण भट्टराईले सम्पादन गरेको कृतिका बारेमा सम्पादकद्वय होम सुवेदी र पुण्यप्रसाद खरेलले धारणा राखेका थिए ।
प्रगतिशील लेखक संघ झापाका अध्यक्ष राजेन्द्र संग्रौलाले कोषका सचिव राजेन्द्र प्रसाईले सञ्चालन गरेको कार्यक्रममा रेग्मीको भावना लघुकाव्यबाट शिवोहम कविता गीता सुवेदी र खगिन्द्रा खुशी तथा रेग्मीकै अर्को कविता मीना अधिकारीले वाचन गरेको कार्यक्रममा विरही अधिकारी र शिव अधिकारीले आ–आफ्ना रचना वाचन गरेका थिए ।
सो अवसरमा श्रष्टा चूडामणि रेग्मीले ग्रन्थावली निकाल्ने आफ्नो इच्छा पूरा गरिएकोमा प्रकाशक तथा सम्पादन मण्डललाई धन्यवाद दिंदै बुढ्यौलीका कारण अब कृति प्रकाशनमा ल्याउन कठिन हुने धारणा व्यक्त गर्नुभयो । रेग्मीको लोकार्पित पछिल्लो ग्रन्थावली आफ्नो ८४ औं जन्मोत्सवका रुपमा आएको लेखक्यौलीमा उल्लेख गरिएको छ । २३२ पृष्ठ लामो ग्रन्थावली भाग ३ को प्रकाशन जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषले गरेको छ ।

































































































