विर्तामोडमा विगत १२ वर्षदेखि कर्पोरेट हाउस सञ्चालन गर्दै आएका अर्जुनकुमार मैनाली आसन्न फागुन १६ गते हुने विर्तामोड नगरउद्योग वाणिज्य संघ झापाको महासचिवका लागि मनोनयन दर्ता गरी चुनावी मैदानमा उत्रिएका छन् । विर्तामोड उद्योग वाणिज्य संघमा निरन्तर एउटै विचारकेन्द्रित नेतृत्व भएपनि उद्योगी/व्यवसायी, व्यापारीको हक–हितका लागि काम गर्न नसकेका कारण विकल्पका रुपमा आफ्नो उम्मेद्वारी प्रस्तुत गरेको बताउने मैनालीसंग निर्वाचनसंग केन्द्रित रहेर गरिएको कुराकानीको ।
तपाईलाई भोट किन दिने ?
– उद्योग वाणिज्य संघको ४० वर्षे इतिहासमा व्यवसायीका हितमा नेतृत्वले के काम गर्यो ? यो अवधीमा व्यवसायीका बीचमा चुनावमा जाँदा के–के प्रतिवद्धता लिएर गएको थियो ? र, प्रतिवद्धता गरेका कति कुरा गरे ? आज हामी नयाँ अनुहार लिएर चुनावमा जाँदै गर्दा व्यवसायीले भन्छन् तपाईहरु पनि त्यहि ड्याङको मूला त हो नी ! तपाईहरुलाई भोट किन ? पहिले पनि केही गरेनन् तपाईहरुले पनि के गर्नुहुन्छ भन्ने गर्छन् । यसको मतलव के हो भने व्यवसायीमा अत्यन्तै ठूलो वितृष्णा छ । उद्योग व्यवसाय जस्तो सार्वजनिक संस्थामा बसेर साथीहरुले पहिले गर्नु भएका व्यवहार र कामका कारणले यहाँका व्यवसायीहरु अत्यन्तै रुष्ट र आक्रान्त छन् । त्यसले गर्दा ती सब आक्रान्त भएको व्यवसायीको उचित व्यवस्थापन र न्यायिक निरुपणका लागि विकल्पका रुपमा हाम्रो उम्मेद्वारी अघि सारेका हौं । हामी नयाँ काम र नौलो प्रगति पथमा अघि बढ्दै नयाँ कार्यदिशामा लानका लागि उम्मेद्वारी दिएको हुँं ।
चुनावमा राजनीतिक रंग देखियो ? यस्तो अवस्थामा तपाईले चाँही काम गर्न सक्नुहुन्छ त ?
– विशुद्ध व्यवसायीको हैसियतले भन्नुपर्दा एउटा न एउटा पार्टीको कनेक्सनमा नगइ स्वतन्त्र उम्मेद्वार भनिन्छ । त्यस्ता प्रकृतिका उम्मेद्वारले चुनावमा गएर विजय हासिल गर्न गारो छ । हाम्रो यो संस्कारको पराकाष्ठा भनौ या हामीले हिजोदेखि गर्दै आएको अभ्यासका कारण पनि कुनै न कुनै दलसंग आवद्ध भएर उम्मेद्वारी दिनु बाध्यता हो । तर यो ‘नन पोल्टिकल प्लेट’ फर्म भएको र गैरराजनीतिक गतिविधि भएका कारणले गर्दा हाम्रो भनाई के हो भने निर्वाचनमा निर्वाचित भएर गएपछि विशुद्ध उद्योग/व्यापारी/व्यवसायी साथै यहाँ भएका तमाम साना ठूला व्यापारी र मजदुरहरुको हितका पक्षमा बोल्नुपर्ने हुन्छ । त्यस्तो बेलामा जुनसुकै सरकार भएपनि हामीले सरकारका नीतिसंग पनि लड्नुपर्ने हुन्छ । त्यो भएका कारणले गर्दा हामीले बलियो नेतृत्वको अभाव महशुस गरेका छौं । त्यो भएका कारणले विकल्पका रुपमा सुवास भट्टराईको नेतृत्वमा उम्मेद्वारी प्रस्तुत गरेका छौं । हामीलाई अत्याधिक मत दिएर विजयी गराउनु होस् । हामीले व्यवसायीका तमाम समस्यालाई सम्बोधन गर्ने कुरामा विश्वास दिलाउन चाहन्छु ।
भन्न त सबैले यहि भन्छन् ! तपाईको प्रतिष्पर्धीले पनि भन्ने कुरा यही नै हो तर काम गर्ने कुरामा तपाई आफु कतिको विश्वस्त र प्रतिवद्ध हुनुहुन्छ ?
–पहिलो कुरा के हो भने अर्को पक्षले पनि भन्ने कुरा यही हो भनिरहँदा उनीहरुले यसो भन्ने नैतिक आधार नै छैन । दुई/दुई पटक त्यो प्लेट फर्ममा बसेर काम गरी सक्नु भा, छ । त्यसो भएको हुनाले उहाँहरुले काम गर्न सक्नु भएन हामीले पनि गर्न सक्दैनौ भनेर बुझियो भने त्यो गलत हुन्छ । हामी विकल्प हो । २७ बुँदे प्रतिवद्धता सहित चुनावी मैदानमा आएका छौं । ति प्रतिवद्धता प्रस्तुत गरिरहँदा उहाँहरु र हामीमा फरक छ । उहाँहरुले नगर्ने कुराको पुष्टि गर्नु भो । हामी गछौं भनेर आइरहेका छौं । हाम्रो बोलीलाई कति विश्वास गर्नुहुन्छ भन्ने कुरा हो । व्यक्तिगत स्वभाव र पृष्ठभूमिलाई हेरेर पनि आम व्यवसायीलाई विश्लेषण गर्न अनुरोध गर्न चाहन्छु । किन भने यहाँ उठेका हाम्रा प्रतिष्पर्धी सबै यहीका हुनुहुन्छ । एकले अर्कालाई नचिनेका शायदै नहोलान् । अनुहारको हिसाबले नयाँ भएपनि विगत १०/१२ वर्षदेखि यहि क्षेत्रमा बसेर व्यवसाय गर्दै आएको छु । त्यसैले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा चिन्नुहुने महानुभावले म के हुँ भन्ने कुरा पुष्टि गरिदिनु हुन्छ भन्ने अनुरोध गर्न चाहन्छु ।
बुँदागत रुपमा विश्वास गर्ने आधार के के हुन् ?
विश्वास गर्ने आधार पहिलो कुरा हामीले प्रतिवद्धता पत्र सार्वजनिक गरेका छौं । त्यो अध्ययन गर्न अनुरोध गर्दछौं । साथै विगत लामो समयदेखि सार्वजनिक शौचालय, सडक वत्ती, सीसी टिभी क्यामेरा, सार्वजनिक पार्किङ, रात्रीकालीन बजार सञ्चालन लगायतका तमाम मुद्दालाई उठान गरेका छौं । यहाँ प्रश्न आउँछ ठाउँ छैन–सार्वजनिक शौचालय कहाँ बनाउनु हुन्छ ? विर्तामोड नगरपालिका क्षेत्र भित्र धेरै ठाउँमा साल्ट ट्रेडिङ, खाद्य गोदाम, सडकको जग्गा पनि अतिक्रमण र खाली बसेको अवस्था छ । हामीले समन्वयकारी भूमिका खेलेर त्यो ठाउँलाई अधिकतम उपयोग गर्न सक्छौं । त्यो भन्दा माथि उठेर हामीले लिमिटेड कम्पनीको समेत परिकल्पना गरेका छौं । यहाँ साना ठूला व्यवसायीलाई एकतावद्ध गर्नका लागि र सानो पूँजी भएकालाई पनि मालिकको अपनत्व गराउनका लागि त्यो परिकल्पना गरेर घोषणा पत्र तयार गरेका हौं । हाम्रा प्रतिवद्धता अध्ययन गरेर कुनै पनि जिज्ञासा भए सोध्न पनि सक्नुहुन्छ । हाम्रो आग्रह के हो भने हामी विशुद्ध सामाजिक क्षेत्रमा लागेर व्यवसायिक हकहितमा काम गर्छौं भन्ने आत्म विश्वास र प्रतिवद्धताका शब्द बाहेक प्रमाणका रुपमा केही पनि छैन । त्यसो भएको हुँदा अगाडिको समितिले काम गरेन भनेर फेरि त्यही समितिलाई निर्वाचित गर्नु बुद्धिमानी हुन्छ कि विकल्पलाई प्रयोग गरेर हेर्नु बुद्धिमानी हुन्छ ? त्यो कुरामा विवेक प्रयोग गर्नुहुन अनुरोध गर्दछु ।
विर्तामोडका व्यवसायीका मुख्य समस्यालाई कसरी अध्ययन गर्नुभएको छ ? र के छन् ?
वस्तुगत संगठन धेरै छन् । धेरै प्रकारका वस्तुगत खरिद विक्री र उत्पादन हुने यो बजारमा ती बस्तुगत व्यवसायका समस्या आ–आफ्नै छन् । एकको समस्या अर्कोसंग मिल्दैन । उदाहरणका लागि एउटै बजारमा होलसेल र रिटेल पसल खुलेका छन् । होलसेलरले रिटेलरलाई र उपभोक्तालाई बेच्ने दाम पनि एउटै छ । यो समस्या अर्को वस्तुगत व्यवसायसंग नमिल्न सक्छ । त्यसको समाधान कसरी गर्न सकिन्छ ? सम्बन्धित वस्तुगत व्यवसायीसंग छलफल गरेपछि मोडल बनाएर हामी अभिप्रेरित गर्छौं ।
भनेपछि निर्वाचित भएपछि मात्र समस्याको निक्र्यौल हुन्छ ?
–समग्रमा हामीले प्रतिवद्धता पत्रमा धेरै कुराहरु समेटेका छौं । त्यो अध्ययन गर्न अनुरोध गर्दछु । चुनावी माहोलमा सबै समस्याको समाधान यसरी गर्छु भनेर मोडल लिएर आउँदै गर्दा धेरैका मुद्दा छुट्न सक्छन् । त्यसो भएको हुँदा समस्याको पहिचान गर्ने विधीको कुरा गरेको छु । हामीले विषय र प्रसंगलाई सहि ढंगले उपयोग गर्न सक्यौ भने समस्याको समाधान निस्कन सक्छ ।
अन्त्यमा ?
गुनासो राख्ने ठाउँ नभएर हामी ४० वर्षदेखि गुम्सिएर बस्यौं ति आम मतदातालाई मेरो अनुरोध के छ भने विकल्पमा हामीलाई भेट्नु भएको छ । विकल्प हामी हौं । उपयुक्त विकल्प हौं । यो पटक तपाईहरुको अमूल्य मत दिएर यो विकल्पलाई विजयी गराउन अनुरोध गर्दछु ।
विर्तामोड उद्योग वाणिज्य संघ निर्वाचन : ‘विकल्पका रुपमा मेरो उम्मेद्वारी’–मैनाली

































































































