शनिश्चरे । पूर्वको पशुपतिनाथका नामले परिचित अर्जुनधारा जलेश्वरधाममा महाशिवरात्रीको अवसर पारेर आगामी फागुन २७ गते ‘एक साँझ शिवका माझ’ कार्यक्रम अन्तर्गत ताण्डव नृत्य तथा भजन प्रतियोगिताको आयोजना गरिने भएको छ ।
धामद्वारा बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । कार्यक्रममा धामका मुख्य पूजारी अग्नीप्रसाद सिग्देलले महाशिवरात्री पर्वको महिमा बारे जानकारी गराउँदै २५ गते विहान ९ बजे यज्ञ समुद्घाटन त्रिदिवसीय यज्ञ, पूजा–पाठ, हवन, रुद्राभिषेक प्रवचन, भजन किर्तन २७ गते प्रातकालिन साढे ३ बजेदेखि भक्तजनहरुद्वारा शिवको पूजा आराधना जलाभिषेक, तिलकप्रसाद वितरण दिवा सत्रमा धार्मिक प्रवचन साथै चारप्रहर पूजा रुद्राभिषेक, श्रृङ्गार आरती आदी गरिने जानकारी गराउनु भयो ।
सांस्कृतिक कार्यक्रमका संयोजक देवीभक्त श्रेष्ठले ताण्डव नृत्य भगवानको शिवाको पहिलो नृत्य मानिएकोले ताण्डव नृत्यको महत्वबारे समाजमा बुझाउन महाशिवरात्रीको अवसरमा प्रदेश नं.–१ मा पहिलो पटक एकल ताण्डव नृत्य प्रतियोगिताको आयोजना गरिन लागेको जानकारी दिनुभयो । नृत्य प्रतियोगिता २७ गते सन्ध्याकालिन देखि सञ्चालन गरिने छनौट प्रतियोगिता २५ र २६ गते धाममा हुने बताइएको छ ।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय हुने कलाकार वा संस्थालाई क्रमशः ५१, ३१ र २१ हजार र शान्त्वना जनही रु. ५/५ हजार २ जनालाई नगद पुरस्कार प्रदान गरिने बताइएको छ । त्यस्तै प्रदेश स्तरीय एकल भजन गायन प्रतियोगिता फागुन २५ र २६ गते बेलुका ७ बजेदेखि ९ बजेसम्म सञ्चालन गरिने उत्कृष्ट हुने ५ जनालाई २७ गते बेलुका प्रतियोगिताका लागि गायन प्रस्तुत गराइने पहिलो, दोस्रो, तेस्रो हुने कलाकारलाई ३१, २१ र ११, हजार र सान्त्वना पुरस्कार २ जनालाई जनही रु.२/२ हजार प्रदान गरिने बताइएको छ । पत्रकार सम्मेलन मार्फत धामका अध्यक्ष नवीन गट्टानीले जलेश्वरधामको बृहत्तर गुरुयोजनालाई अगाडि बढाउँदै धामको विविध भौतिक संरचना निर्माण गर्न लागि आवश्यक जग्गा अभाव भएकोले सिमानामा रहेको जग्गा खरिद पहलमा १० कठ्ठा जमिनको प्रतिवद्धता गरिएको बताइएको छ । धामले भूमिदान महाअभियान सञ्चालन गरिरहेको जानकारी दिनुभयो ।
धाममा महाशिवरात्री पर्वका दिन ५० हजार भक्तजनको आगमन हुने अनुमान गरिएको बताइएको छ । गट्टानीको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनको सञ्चालन सचिव शिवलाल खतिवडाले गरेका थिए भने स्वागत उपाध्यक्ष भिमचन्द्र भट्टराईले गरेका थिए ।

































































































