सुरुङ्गा २७ मंसिर । तत्कालिन पञ्चायती शासकहरुद्धारा माइखोलाको किनारमा हत्या गरिएका शहिद लक्ष्मी पाण्डेको स्मृतिमा आज उहाँको शालिक स्थान कनकाई ४ इलुवावारीमा स्मृतिसभा सम्पन्न भएको छ ।
अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन जिल्ला कमिटिको आयोजनामा भएको कार्यक्रममा शहिद पाण्डेकी माता मायादेवि पाण्डेलाई सम्मान गरिएको थियो । मायादेविलाई नेकपा जिल्ला कार्यालय सदस्य कुबेर श्रेष्ठ अरुण, अनेरास्ववियु केन्द्रीय सदस्य खगेन्द्र सुवेदी, भक्त शंकर, नरेश चुडाल, आइसिडी प्रदेश सदस्य भीष्म पौड्याल, अखिल पूर्व जिल्ला अध्यक्ष रोसन सुवेदी, विद्यार्थी नेताहरु राजेश कार्की, नविन राई, नविन सिटौला, उत्सव बास्तोला लगायातले सम्मान गरेका थिए ।
कार्यक्रममा बोल्दै विद्यार्थी नेताहरुले विद्यार्थी हकहितका लागि शहिदको बलिदानी भएपनि शिक्षामा तल्लो तहका विद्यार्थीहरुको पहँुच नपुगेको भन्दै गुनासो गरेका थिए । विद्यार्थी नेताहरुले शहिदले देखाएको बाटोलाई आत्मसाथ गर्नुको साटो नेताहरु आफ्नो सानो गुटलाई चलायमान बनाउदै हिडेर शहिदकै रगतको अवमूल्यन गरेको आरोप समेत लगाए । तत्कालिन सरकारले विं.स २०४४ सालमा भारतीय सरकारले मेघालयमा नेपाली भाषिमाथि गरेको दमनको विरुद्धमा विद्यार्थी आन्दोलन गरिरहेको वेला शहिद पाण्डेलाई कनकाई नगरपालिका ४ को माईखोलामा तत्कालिन शासकहरुले बाटो छेकेर छातीमा गोली ठोकेर मारेका थिए । उनै लक्ष्मी पाण्डेले पुलिसहरुले नेपाली चेलीबेटीमाथि अभद्र व्यावहार गर्न थालेपछि उनले बरु मेरो छात्तीमा गोली हान चेलीबेटीलाई छाड भनेर सर्टको टाक खोली छात्ती थापेका थिए । त्यसबेलै प्रहरीले गोली हान्दा उनको घटनास्थलमै मृत्यु भएको थियो ।
शहिद पाण्डे मारिएको आजकै दिन हरेक बर्ष शहिद लक्ष्मी पाण्डेको शालिक स्थल कनकाई ४ लक्ष्मीमार्गमा स्मृतिसभाको आयोजना गरिदै आएको छ । कनकाई ४ मा रहेको उक्त शहिद पाण्डेको सालिक पुर्व प्रधानमन्त्री मनोमोहन अधिकारीद्धारा उदघाटन गरिएको हो । आजको कार्यक्रम अनेरास्ववियु झापाका अध्यक्ष अनिल सुवेदीको सभापतित्व र सहसंयोजक दुर्गा धमलाको संचालनमा भएको थियो ।
शहिद पाण्डेको स्मृतिमा सभा,नेताले गुट चलाएको आरोप

































































































