Homeसमाचारमासिंदै गएका बर–पिपल संरक्षणको पहल

मासिंदै गएका बर–पिपल संरक्षणको पहल

– इन्दु पूर्वेली

‘ढुङ्गाको काप फोरेर पनि उम्रन्छ पिपल
सिर्जना शक्ति संसारमा कैल्यै हुँदैन विफल ।।’

माधवप्रसाद घिमिरेले आफ्नो खण्डकाब्यमा अविवाहित नारीले सन्तान जन्माएपछि समाजले गरेको तिरस्कार र घृणालाई ब्यंग्य गर्दै सिर्जना शक्ति विफल नहुने लक्ष्यार्थसहित यो श्लोक उल्लेख गरेका छन् । ब्यंग्यार्थ र लक्षार्थलाई छाडेर उक्त श्लोकको सहज अर्थ लगाउने हो भने पिपल ढुङ्गाको काप वा असजिलो स्थानमा मात्रै उम्रन्छ, त्यही हुर्कन्छ र मानव स्वास्थ्यका लागि अत्यावश्यक अक्सिजन उत्पादन तथा प्रवाहमा महत्वपूर्ण भूमिका खेल्छ भन्ने कुरा बुझ्न सकिन्छ ।
पछिल्लो समय विश्व वातावरण संरक्षणका लागि वरपिपल बचाऊ अभियान थालेका अर्जुनधारा–१० झापाका पर्शुराम कटुवालको अनुभव पनि यस्तै छ । पशुपंक्षी पालन तथा विरुवा नर्सरी वितरण केन्द्र स्थापना गरी घरैमा बर–पिपलका विरुवा संरक्षण गर्दै आएका छन्–कटुवाल ।
उमेरले ७० को नेटो काट्दैगर्दा उनी बर–पिपल बचाऊ अभियानमा लागेका हु्न् । ‘विभिन्न मठ–मन्दिर, दोवाटो, चौतारो भएका ठाउँमा वैदिक विधिपूर्वक रोपिएका बर–पिपलहरु मासिन थालेपछि सारै दुःख लाग्यो’–कटुवालले भने–‘विवाह नगरेको बरपिपल पूजा गर्नु हुँदैन भन्थे पहिला–पहिला । रुखको त कुरै छाडौं हाँगाविगा पनि काट्ने चलन थिएन । अचेल रुख नै काट्छन्, मान्छेले धर्म छाड्दै गए ।’
बर–पिपलले पर्यावरणीय सन्तुलन कायम राख्छ, अत्यधिक अक्सिजन उपार्जन गर्छ र त्यो मानव स्वास्थ्यका लागि अत्यधिक लाभदायी हुन्छ भन्ने बुझेका कटुवालको पनि पिपल असजिलो स्थानमा उम्रने अनुभव छ ।
‘पिपलको दाना चराले खाएर विस्ट्याएको मात्रै उम्रिन्छ भन्ने सुनेको छु, त्यो सत्य हो कि होइन था छैन’ उनले भने–‘रुखका कापमा, ढुङ्गाका कापमा, घरको छतमा, ओसिलो भित्तामा, ट्वाइलेट–बाथरुमका छेउछाउमा मात्रै पाइन्छ । अफ्ठ्यारा ठाउँमा उम्रिएको विरुवा संकलन गर्न नै कठिन हुन्छ ।’ अरु विरुवाको तुलनामा बर–पिपल हुर्काउन निकै कठिन हुने उनको अनुभव छ ।
एउटा विरुवा हुर्काउन पाँचसय रुपैयाँ खर्च हुने गरेको उनले बताए । ‘विरुवा पाइने ठाउँमा जान लाग्ने यातायात खर्च, विरुवा हुर्काउन अत्यावश्यक प्लाष्टिक, माटो, मल, पानी आदि जोड्दै पाँचसय खर्च हुन्छ’–उनले भने–‘त्यहाँ परिश्रम जोडिदैन ।’ लगभग १२ सय बढी विरुवा वितरण गरेका उनले अहिलेसम्म निःशुल्क दिदै आएको बताए ।

‘विरुवा हुर्काउनुभयो र फलानाले दिएको भन्नुभयो भने पुग्छ भनेर बाँड्दैछु’–उनले भने । हालसम्म ताप्लेजुङ र पाँचथरका लगभग १५ जनाले वर पिपलका विरुवा लगेको उनले बताए । त्यसअघि कटुवाल बन्धुहरुको बर–पिपल बचाऊ अभियानका क्रममा विरुवा रोप्न लगभग १२ सय विरुवा पश्चिम पोखरातिर लगेको कटुवालले जानकारी दिए ।
अरु विरुवाको तुलनामा बर–पिपलका विरुवा हुर्काउन निकै कठिन हुने अनुभव संहालेका उनले भने–‘मैले डि.एफ.ओ र सि.डि.ओ.लाई पनि रोप्ने वातावरण मिलाइदिनुहुन्छ भने विरुवा हुर्काउँछु भन्दा हुकाइदिनुस् हामी रोप्न लगाउँछौं भन्ने आश्वासन पाएको छु ।’
पर्यावरणीय सुद्धता कायम राख्न बर–पिपल र अन्य जरिबुटीको भूमिकाका विषयमा भविष्य पुराण तथा वेद–पुराणादि धर्मग्रन्थले पनि उल्लेख गरेको कालिका संस्कृत विद्यापीठका प्राचार्य आ.रघुनाथ रिजालले बताए ।
‘अस्वत्थमेकं पिचुमन्दमेकम्, न्यग्रोधमेकं दश पुष्पजाति ।
द्विद्वेतथा दाडिममातुलिङ्गे, पञ्चाम्रब्यापि नरकं न पश्येत् ।। भविष्यपुराण ।।

उक्त श्लोकको अर्थ हुन्छ–‘एउटा पिपल, एउटा निमपत्ति, एउटा बर, जातजातका दशथरी पुष्प, दुईवटा दारिम, दुईवटा कालीज्यामिर, विभिन्न प्रजातिका पाँचवटा आँपका विरुवा रोप्ने र सोही बगैंचामा एउटा पौशाला (पानीको तलाऊ) बचाउने ब्यक्तिले नरकको दुःख देख्नुपर्दैन । यति कार्य गर्ने ब्यक्तिले सिद्ध पुरुषले प्राप्त गर्ने गति प्राप्त गर्ने कुरा भविष्यपुराणमा उल्लेख रहेको आ. रिजालले बताए । मानिसले गर्ने इष्ट र पूर्त कर्ममध्ये ईश्वरीय शक्तिको आरधना, देवीदेवताको पूजा–आरधना, ध्यान, जपादि कर्मले मानिसको आन्तरिक सुद्धि हुन्छ, यी कर्महरु इष्टकर्ममा पर्दछन् । आन्तरिक सुद्धि सँगसँगै बाह्य सुद्धि भएमात्रै मानव, पशुपंक्षीको कल्याण हुन्छ भने वातावरणीय सुद्धता प्राप्त हुन्छ–जसले शरीरलाई स्वस्थ राख्न मद्दत पुग्छ ।
बहुउपयोगी बरको जरा र बोक्रालाई औषधीकै रुपमा प्रयोग गर्न सकिने आयुर्वेद विशेषज्ञहरु बताउँछन् । बरको जराले रजश्वलामा देखिएको समस्या समाधान हुने, बोक्राले घाऊ खटिरा तथा काटेको घाऊ पनि निको हुने वैद्यको भनाई छ । बर–पिपल र आँपको पात विभिन्न संस्कारादि कार्य तथा देवकर्ममा पनि प्रयोग हुने गरेको छ ।
वेदादि, पुराणादि ग्रन्थहरुले आदिमकालमै पर्यावरणीय सुद्धताका लागि बर, पिपल, निम, पुष्प, फलफुल, पानीको सन्तुलन कायम राख्नुपर्ने कुरा उल्लेख गरेको छ तर मानव जातिले विकासको फड्को मारेसँगै प्राकृतिमाथिकोे दोहन बढेको छ । जसका कारण मानव स्वास्थ्य दिनदिनै जोखिममा पर्दैछ भने ‘हरियो बन, नेपालको धन’ भन्ने उक्ति पनि अव इतिहास बनेको छ भन्दा अत्युक्ति हुँदैन । विश्व वातावरणमा देखिएको संकटको अन्त्य गर्दै पर्यावरणीय सन्तुलन कायम राख्नका लागि वेदोक्तिको पालनासहित बहुउपयोगी बटबृक्षहरुको संरक्षण अत्यावश्यक देखिन थालेको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारमासिंदै गएका बर–पिपल संरक्षणको पहल
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img