झापा । जंगली हात्ती प्रभावित विर्तामोड नगरपालिका वडा नं–६ का एक युवाले हात्ती धपाउनका लागि नयाँ प्रविधिको ‘बन्दुक’का विकास गरेका छन् ।
विर्तामोड नगरपालिका वडा नं.–६ शेर्मा टोल निवासी रोहित लिम्बूले बनाएको हात्ती रोधक प्रविधिको विहीबार सफल प्रयोग गरिएको छ । विर्तामोड नगरपालिका वडा नं–६ का वडाध्यक्ष सूर्यप्रसाद कन्दङ्वा र वडा सदस्य पवित्रा कोइराला ढुङ्गानाको उपस्थितिमा गरिएको उक्त प्रयोग सफल भएसंगै उक्त प्रविधि हात्ती धपाउन निकै उपयोगी हुने ठहर गरिएको छ ।
रातैपिच्छे हात्तीले दुःख दिन थालेपछि हात्तीपनि नमर्ने, ठूलो खर्चपनि नगरि हात्ती धपाउने उपायको खोजी गर्ने क्रममा आफूले उक्त प्रविधिको विकास गरेको लिम्बूले बताउनु भयो ।
प्लाष्टिकको पाइप, सुपर ग्लु प्रयोग गरि बनाएको हात्ती रोधक बममा फलफुल पकाउन प्रयोग गरिने कार्पेट अलिकति पानी हालेर एकछिन हल्लाएपछि ग्यास लाइटको प्रयोग गरि बन्दुक पड्किंदा निकै ठूलो आवाज आएको थियो । त्यही आवाजले हात्ती भाग्ने लिम्बूको दावी छ ।
आफूले बनाएको बमको प्रयोग दोस्रो पटक भएको लिम्बूले बताए । केही दिन अघि शेर्मा टोलदेखि केही तलको क्षेत्रमा हात्ती आएका बेला सोही बन्दुक पड्काएको र त्यसपछि अहिलेसम्म हात्ती नआएको स्थानीयले बताएका छन् ।
युट्युवमा हेरेर विकास गरिएको प्रविधिलाई स्थानीय सरकारले सहयोग गरे उक्त प्रविधि निर्माण तथा प्रयोगका लागि आफूले तालिमसमेत दिन सक्ने लिम्बूको भनाई छ ।
लिम्बूको विकास गरेको नयाँ प्रविधिको वडा र स्थानीय वन समूहको सहकार्यमा केही थान बनाएर स्थानीयलाई हात्ती नियन्त्रणका लागि उपलब्ध गराउने वडाध्यक्ष कन्दङ्वा र बन समूहका अध्यक्षले जनाएका छन् ।
सानो खर्चमा मानिस र हात्ती दुवैलाई कुनै हानी नहुने उक्त प्रविधिको प्रयोग गर्न अन्य हात्ती प्रभावित क्षेत्रका स्थानीय तह तथा वन समूहलाई पनि अध्यक्ष कन्दङ्वाले आग्रह गर्नु भएको छ ।

































































































