झापा २५ असार । कोरोना सक्रमण जोखिमका कारण दैनिक छाक टार्न कठिन भएकाहरुको चुल्लो बाल्ने उद्देश्यले शुरु गरिएको एकका लागि एक अभियानको अगुवाईमा जनस्तरबाट स्थापना हुन लागेको पिसिआर ल्याव सञ्चालनका लागि सहयोग जुट्ने क्रम निरन्तर चलिरहेको छ ।
बुधबार १९ लाख बढी सहयोग जुटेको पिसिआर परीक्षण स्थापनाका लागि बिहीबार झापाका सहकारी संस्थाहरुले ३ लाख बढी सहयोग गरेका छन् ।
झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालको अध्यक्षतामा भएको कार्यक्रममा हाम्रो नेपाल वचत तथा ऋण सहकारी संस्था बिर्तामोड –४ ले एक लाख एक हजार, पब्लिक वचत तथा ऋण सहकारी संस्था बिर्तामोडले एक लाख एक हजार र सिम्रिक वचत तथा ऋण सहकारी संस्था विर्तामोड–४ ले एक लाख रुपैयाँको चेक हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा हाम्रो नेपाल साकोसको तर्फबाट अध्यक्ष भवानी दंगाल, राजेन्द्र गौतम, पब्लिक साकोसको तर्फबाट अध्यक्ष प्रमिला गौतम, सिम्रिक साकोसको तर्फबाट अध्यक्ष कमल बस्नेत र सचिव सुवास भट्टराई ,विभागिय प्रमुख विजय वस्नेत, मिनबहादुर अधिकारी लगायतले अभियानका सहसंयोजक विनोद बस्नेत, अभियानका साझेदार संस्थाका सदस्यहरु कुमार भट्टराई, वेदप्रकाश अग्रवाल, गोपाल ओली, ओमकृष्ण बिमली, हरि शर्मा, मिजास पोखरेल, सञ्जीव घिमिरे, राजेन्द्र चौलागाईं, वीरु दर्नाल लगायतलाई चेक हस्तान्तरण गरेका थिए ।
यसअघि बुधवार कर्णाली बचत तथा ऋण सहकारी संस्था बिर्तामोडले एक लाख ११ हजार एक सय ११ रुपैयाँको चेक प्रदान गरेको संस्थाका अध्यक्ष टिएस प्रधानले बताए ।
कार्यक्रममा एकका लागि एक अभियानका सहसंयोजक विनोद बस्नेतले अभियानको उद्देश्यमाथि प्रकाश पार्दै छाक बसेका परिवारको चुलो बाल्ने उद्देश्यले स्थापना गरेको अभियानले यस अघि गरेका कार्यक्रमबारे जानकारी जानकारी गराउनु भएको थियो ।
उनले ‘एकका लागि एक’ अभियानमा हालसम्म देश तथा विदेशका ७० संघसंस्था र एक हजार एक सय व्यक्तिबाट सहयोग प्राप्त भएको बताउँदै पीसीआर परीक्षण प्रयोगशालाका लागि हालसम्म एक करोड रुपैयाँ जुटिसकेको जानकारी दिए ।
उनले झापा जिल्ला सहकारी संघको अगुवाईमा हालसम्म पीसीआर परीक्षण प्रयोगशालाका लागि १७ लाख रुपैयाँ सहयोगको प्रतिवद्धता आएको र केही सहकारीले रकम समेत जम्मा गरिसकेको जानकारी दिए ।
कार्यक्रममा नेपाल वचत तथा ऋण सहकारी संघ नेफ्स्कुनका केन्द्रीय सदस्य घनश्याम अधिकारीले सरकार–समुदाय–सहकारीबीच साझेदारीको नमूनाको रुपमा कोटीहोमस्थित समर्पण राष्ट्रिय भवनमा कोरोना भाइरस परीक्षण गर्ने पीसीआर परीक्षण प्रयोगशाला स्थापना हुने वताए ।
कोटिहोमस्थित समर्पण राष्ट्रिय भवनमा कोरोना भाइरस परीक्षण गर्ने पीसीआर परीक्षण प्रयोगशाला सञ्चालनका लागि भौतिक संरचना तयार भइरहेको एकका लागि एक अभियानका संयोजक महेन्द्रकुमार गिरीले जानकारी दिए ।
उनले कोरोना भाइरस परीक्षण गर्ने पीसीआर परीक्षण प्रयोगशाला साउन १ गतेबाट सञ्चालनमा आउने तयारी गरिएको र त्यसका लागि पीसीआर परीक्षण मेसिन तथा प्रयोगशालाका लागि आवश्यक अन्य उपकरणका खरिद प्रक्रिया अघि बढाइएको जानकारी दिए ।
झापा जिल्ला सहकारी संघका सहसचिव भवानी दंगालले स्वागत गरेको कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष एकराज गिरीले गरेका थिए ।
पीसीआर प्रयोगशालाका लागि विर्तामोडका तीन सहकारीको सहयोग
































































































