दमक २५ असार । दमक ९ स्थित सरस्वती माविका प्रधानाध्यापकको कार्य कक्षमा नेपाल विद्यार्थी संघ झापाले विहिबार तालाबन्दी गरेको छ । संघका जिल्ला नेतासहितको समुहले निमित्त प्रधानाध्यापक नरबहादुर थापालाई कार्यकक्ष बाहिर निकालेर तालाबन्दी गरेका हुन् ।
सो विद्यालयमा गत माघ ५ गतेदेखि तत्कालिन प्रधानाध्यापक गणेशकुमार पौडेलले राजीनामा दिएपछि रिक्त रहेको ठाउँमा राजनीतिकरण गर्दै निमित्त प्रधानाध्यापक तोकिएपछि सरोकारवालाहरुले आपत्ती जनाउँदै आएका थिए ।
शिक्षा ऐन २०२८ तथा शिक्षा नियमावली २०५९ को परिच्छेद १७ नियम ९३ को उपनियम १२ बमोजिम विद्यालयमा कार्यरत वरिष्ठतम शिक्षकलाई प्रधानअध्यापकको जिम्मेवारी दिनुपर्ने व्यवस्थालाई कुल्चिदैं व्यवस्थापन समितिले नरबहादुर थापालाई निमित्त प्रअको जिम्मेवारी दिएको भन्दै सरोकारवालाले असन्तुष्टि जनाउँदै आएका थिए ।
केही दिन अघि नेपाली कांग्रेस नगर समितिले सो बिषय लगायत समग्र शैक्षिक सरोकारका बिषयमा ध्यानाकर्षण गराउँदै नगरपालिकामा ज्ञापन पत्र समेत बुझाएको थियो । सो बिषयमा नगर शिक्षा समितिले सुनुवाई नगरेपछि बाध्य भएर आफूहरुले तालाबन्दी गर्नुपरेको नेविसंघ झापाका उपसभापति भवानी काफ्लेले जानकारी दिनुभयो ।
सरस्वती मावि दमकका निमित्त प्रअ थापाको कार्यकक्षमा नेविसंघद्वारा तालाबन्दी
































































































