इन्द्रप्रसाद कट्वाल
वर्तमान विगत हुन्छ र भविष्य वर्तमान हुन पुग्दछ, तर विगत अर्थात भूतकाल न वर्तमान हुन सक्छ, न त वर्तमान भविष्य बन्न सक्छ ।यो काल प्रवाहको विशेषता नै हो । यसरी विचार गरिएको खण्डामा यो अनुभूत हुन आउँछ कि कालको प्रवाह स्वतन्त्र छ, यसलाई कसैले रोक्न सक्दैन । अनि भविष्य अज्ञात हँुदोरहेछ, समयले भनौं कालले मानिसलाई कहाँ कहाँ पुर्याउने हो, के के भोगाउने हो र हामीले के के भोग्नु पर्ने हो हाम्रो भविष्य वर्तमान हुँदा थाहा हुँदो रहेछ । विगतका भोगाइबाट पाठ सिकेर सुरक्षित भविष्यको कल्पना गर्दै वर्तमानमा युद्धरत मानवीय यत्न प्रयत्नहरु अज्ञात भविष्य या त भनौ नियतिको निर्मम थप्पड खान विवश बन्नु पर्ने रहेछ । यस अनुभूतिको प्रत्यक्ष प्रमाण हो, विश्वव्यापी विकराल कोरोना भाइरस र यसबाट उत्पन्न परिस्थिति ।
भाइरस, सुक्ष्म जीवाणु विशेषज्ञहरुको भनाईमा मुकुटको जस्तो आकार भएको आँखाको सामथ्र्यबाट देख्न नसकिने ऋचयधल श्रीपेच अर्थात मुकुटाकारको टाउको हुने विशेष यन्त्र औजारको माध्यमबाट श्राव परीक्षण गर्दा मात्र थाहा लाग्ने भएको र मानिसको श्वास–प्रश्वास एवं स्पर्शबाट परमाणुका रुपमा एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने यो सुक्ष्म भाइरस आज विश्वव्यापि रुपमा तपाई हाम्रा सामु विकराल काल बनेर एक अर्कालाई निल्दै आइरहेको देख्नु पर्दा विश्व मानव समुदाय त्रसित बन्नु परेको छ, कोलाहल रोदन र चिच्याहट मच्चाउँदै मानव समुदायमा अघि बढिरहेको यो कोरोना भाइरसबाट कसरी बच्ने ? को संग सोधौं, कसको भरोसा लिऔं मान्छेको मानसिकताले गुहार मागिरहेको छ, त्राहि भैरहेको छ तर अफसोच सबै निरीह बन्नु परेको छ । निरीह ! विल्कुलै निरीह ।
विज्ञान र प्रविधिको उन्मादले मान्छेले प्रकृतिलाई कब्जाभित्र लिएको छ, यन्त्रभित्र कोचेको छ भन्ने ए ! प्रविधिका उपासकहरु हो ! आउनुहोस ! बचाउनु होस ! किन भाग्नु हुन्छ ? किन लुक्नु हुन्छ ? कि यो तपाईहरुबाटै निर्मित परमाणु क्षेप्यास्त्र हो ? जसबाट नरसंहार मच्चाएर रमिता पो हेर्न लागेको हो कि ? विश्वमा सबै खाले पुरुषार्थले ठालु ठहरिएका, अमेरिका, चीन, जापान, बेलायत मस्को जस्ता प्रतिनिधि राष्ट्रका राष्ट्राध्यक्षहरु किन आत्म समर्पण गरिरहेको हो ? कता गए ती आणविक हतियार ? खै ती युद्ध कौशल लडाकु विमान ? किन मान्छे मरेको, मारिएको, मर्दैरहेको रमिता हेरिंदैछ यहाँ ? आज हरेक निरीह मानव समुदायको मानसिकतामा यस्तै प्रश्नहरु वाफ बनेर वास्फिकरण भैरहेको छ, मानसिकतामा द्रवीकरण हुन नपाउँदै खतराको घण्टी बजिरहेको छ । अहिलेसम्म सहारा कसैबाट पाउन सकिरहेको छैन । ठुलै भरोषाका वचनहरु सुन्न पाइन्छ यहाँ ‘मिचीमिची हात धुनुहोस, भीडभाडमा नजानुहोस् खोक्ता वा हाच्छिउँ गर्दा रुमालले मुख ढाक्नुहोस्, साना बालकहरुलाई आमाले आनीबानी सिकाए जस्तो कुरा, लाजै मर्दो छ यो खालको भरोसा ।
यस उत्पन्न विकराल परिस्थितिमा दुख लाग्दो भनौ या रिस उठ्दो भनौ कित घिन लाग्दो भनौं मर्ने त मरिसके, मर्न आँटेकाका लागि भरपर्दो बचाऊको अभियान स्वरुप रोग परीक्षणका उपकरण खरीदमा अनियमितता, राहत वितरणमा अनियमितता, व्यापारीहरुबाट कृत्रिम अभावको सिर्जना, राज्यकोषको रकम जनप्रतिनिधिहरुको सुविधा बृद्धिका माग जस्ता गतिविधिलाई हेर्दा, ‘पोइ मर्यो तेरो ताक पर्यो मेरो, धमिलो पानीमा माछा उगाउनु, पाहुना आउँदा दही र भात खाने अवसर मिल्नु, जस्तो उखानको मर्म कार्यान्वयन भएको प्रष्ट आभाष पाइन्छ । यस्तो विषम र असहज परिस्थितमा रातारात कमाउने नियत राख्नुलाई, लाज लाग्दो, घिन लाग्दो रिस उठ्दो र दुःख लाग्दो नभनेर के भन्ने । मेरो मन युगलाई र गणतन्त्रको मनस्थितिलाई प्रश्न गर्दछ कि विपदको घडीमा जिम्मेवारहरुको भूमिका यस्तै हुन्छ ?

यो सत्य हो कि कुनै वनमा डढेलो लागेको छ भने त्यहाँको सुकेका तृण काष्ठ मात्र नजलेर हरिया वनपात नै सखाप हुन्छ । यस्तै आज कोरोना भाइरसको संक्रमण डढेलाको रुपमा विश्व मानव वस्तीमा दन्किरहेको अवस्थामा डढेलो निभाउन कसैले हिम्मत गरेको देखिंदैन, किनकि, यस डढेलाका सामु जो पर्छ उसलाई उसका ज्वालाले सेक्छ नै । यस्तो आवस्थामा आत्मवल र मनोवलको ढाल पहिरेर ज्वाला निभाउन लागि पर्ने निस्वार्थ स्वास्थ्यकर्मी नै सहाराको बाँध बनेको देखिएको छ । तर कोरोनाको त्रासले सताइएको मानसिकताले अन्य रोगबाट पीडित सिकिस्त विरामीहरुलाई पनि कोरोनाको संक्रमित हुन सक्ने ठानेर त्यस्ता विरामीहरु उपचार पाउनबाट बञ्चित रहेको स्थिति अर्कातिर टड्कारो बनेर उभिएको छ । मानौं कुनै व्यक्तिलाई कुनै मानव दुस्मनदेखि नै डर पैदा भएको छ भने साना तिना झझल्कामा पनि दुस्मनकै त्रासले सताइएको हुन्छ । मनमा डर पैदा भएपछि भस्मेको ठुटो पनि दुस्मनकै आकृति जस्तो देखिन पुग्छ । यस्तै मनोदशामा पुगेका हामी समस्त नेपाली जनताहरु न त सजगता र सर्तकतामा पूर्ण सचेत बनेका छौं न त नेतृत्व तह नै दूरदर्शी कदम चाल्न सक्षम बनेको देखिएको छ । सजगता, सचेतताको अभियानमा लागु गरिएको लकडाउन प्रभावकारी बनेको देखिएको छैन । लकडाउनको दायरा केवल सर्वसाधारण व्यवसायी र गाउँले जीवनमाथि लादिएको छ । यसको उदाहरण स्वरुप कतिपय सहर केन्द्रित आन्दोलनहरु प्रत्यक्ष छन् । बाहिरी मुलुकबाट देश भित्रिएका नेपाली दाजुभाईहरुमा व्यवस्थित क्वारेन्टिनको अभावमा झनै संक्रमणको जोखिम बढिरहेको अवस्था एकातिर छ भने कतिपय क्वारेन्टिनभित्र उपचारको प्रभावकराी व्यवस्था नभएकै कारण कतिको ज्यान गुम्न पुगेको छ । यो देशमा पहुँच पुग्नेलाई नियम लाग्र्दैन नपुग्नेलाई लाग्दछ । आज पहाड मधेशको आवत जावत रोकिएको छ सर्वसाधारण व्यापारी तथा किसान वर्गको वेचविखन, उत्पादन ठप्प बनेको छ। लकडाउन कडा गर्नुपर्नेमा नभएको र नगर्नुपर्नेमा कडा पारिएको छ । पहुँचवाला छेकिएका छैनन् सर्वसाधारण थुनामा परेका जस्तै भएका छन् । यस्तै छ कोरोना भाइरसको पारिस्थितिक असर ।
महामारीको ऐतिहासिक दृष्टान्त
चाहे अतिबृष्टि होस् या त अनाबृष्टि, भूकम्प, बाढी पहिरो, अर्थात दारुण महामारीको प्रकोप, यी सबै दैवी प्रकोप हुन् । हिन्दू धर्मका पौराणिक ग्रन्थहरु विशेषतः विष्णु पुराणको छैटौं अंशमा त्रितापको बारेमा स्पष्ट व्याख्या भएको छ । जस अनुसार प्राणीको शारीरिक र मानसिक रुपबाट दीर्घकालीन रुपमा सताउने रोग विशेष, कुष्ठ रोग चर्मरोग, मस्तिष्कघात, ह्ृदयरोग, जलोदर, क्षय रोग जस्ता रोग र मानसिक विकारबाट पैदा हुने रोगहरुलाई आध्यात्मिक ताप भनिएको छ । त्यसैगरी, जाडो–शीतलहर, गर्मी–तातो हावा (लु) प्राकृतिक विद्युतीय प्रहार चट्याङ, भूकम्प, उल्कापात, ज्वालामुखी विष्फोटन, सामुद्रीक ज्वारभाटाबाट सतहमा आउने सामुद्रीक छाल र समय समयमा देखा पर्ने अज्ञात महामारी विफर भाइरल हैजा जस्ता सरुवा संक्रामक रोगहरु आदि दैविक ताप हुन भनिएको छ । त्यसैगरी मानव निर्मित अस्त्र, विद्युतीय झड्का करेन्ट लाग्न, वम विस्फोटन, आणविक हतियारको प्रयोगबाट जोखिम गराइनुका साथै विषालु जनावरको आक्रमणबाट हुने मृत्यु र सर्प, विच्छीको टोकाई जस्ता मानवीय पीडाहरु आधिभोतिक ताप हुन् भनिएको छ र मानव जातिले सामना गर्नुपर्ने यस्तो सृष्टिदेखिनै उत्पन्न पीडाहरुलाई ‘तापत्रय’ भनिएको छ । प्राचीनकालमा यस्ता तापहरुबाट सुरक्षित रहन प्राचिन चिकित्सा पद्धतिमा महर्षि पतञ्जलीले योग साधनाको सर्वोत्तम मार्ग प्रशस्त गरिदिए । त्यस्तै धन्वन्तरी विधानबाट प्राकृतिक जडीबुटी, प्रशोधित वनस्पतीय जडीबुटी जस्ता अनेकौ औषधी उपचार पद्धतिको ऋगवेद, अथर्ववेदमा सविस्तार वर्णन गरिएको छ । स्मरण रहोस तात्कालीन औषधोपचारमा पहिले औषधी तयार पारेर देवताको नामोच्चारण गरी रोगीलाई सेवन गराइन्थ्यो । तात्कालीन उपचार पद्धतिमा ओखतमुलो नै प्रयोग गरिंदा पनि त्रितापनासक भगवान अच्युतको प्रार्थना यसरी गरिदिन्थ्यो ।–हेरौं एक वैदिक मन्त्र–
अच्युतानन्द गोविन्द नामोच्चारणभेष जात ।
नश्यन्ति सकला रोगा सत्यं सत्यं वदाम्यहम ।।
धन्वन्तरीर्वृकोदास ः काशीराजश्च वीर्यवान ।
नकुल सहदेवश्च पञ्चैते ब्याधि घातका ः।।
शरीरञ्च नवच्छिद्रं ब्याधिग्रस्त कलेवरंम् ।
औषधं जान्ह्वीतोयं वैद्यो नारायणे हरि ः ।।
यसरी औषधी प्रयोग गर्दा भगवानको नाम लिएर देवतालाई चढाएर सेवन गराइन्थ्यो । अद्यापि कतिपय आस्तिक भावका चिकित्सकहरु गम्भीर प्रकृतिको शल्य चिकित्सा गर्नुपर्दा पहिले ‘इ।।। न्यम ’ हे इश्वर !’ भनेर इश्वरमा भरोसा राख्ने गरेको पाउँछौं । यसरी हेर्दा के थाहा हुन्छ भने चाहे प्रकृतिको श्रृजना होस् चाहे दैवी रचना होस्, तात्पर्य यौटै हो । अघि पनि यस्ता महामारी र दैवी प्रकोपका पीडा मानिसले सामना नगरेको होइन तर अहिलेको यो कोरोना भाइरस फरक संक्रमण रोग देखिएको छ । यो गम्भीर प्रकृतिको र रहस्यमय छ । यसबारेमा पछाडि केही प्रसंङ्गमा एउटा ऐतिहासिक घटनाको दृष्टान्त जोड्न चाहन्छु ।
नेपालको इतिहासमा उल्लेखित एक प्रसङ्ग अनुसार राजा नरेन्द्रदेवको पालामा लामो समयसम्म खडेरी पर्नाले पानीको अभाव हुन जाँदा जनतामा ठूलो खट्पटी मच्चियो । राज्यको तहबाट पानी पार्ने हरेक उपायहरु साधना गरिए । यसैक्रममा एकजना तान्त्रिक व्याक्तिले राजामा यस्तो विन्ती चढाए कि ! नागहरुको आसन गरेर गुरु गोरखनाथ तपस्यामा रहनु भएका कारण यो खडेरी परेको हो। यसको एउटा उपाय छ । गुरु गोरखनाथका पनि गुरु मच्छिन्द्रनाथलाई भारतबाट नेपालमा ल्याउन सकियो भने आफ्ना गुरुको स्वागतार्थ गोरखनाथ उठ्ने छन्, राजाबाट यस्तै गरियो । तब नागहरु फुक्का भइ घनघोर वर्षा हुन पुग्यो र जनतामा आनन्द छाएको थियो रे । त्यसै बेलादेखि नेपालमा मच्छिन्द्र नाथको रथयात्रा चलाइने गरिएको हो ।
यस ऐतिहासिक घटनाको स्मरण गर्दा अरु राष्ट्रको कुरा छाडौं नेपालको हकमा राज्यको तर्फबाट केही दैवी विधानतर्फ ध्यान दिइनु पर्दथ्यो । आखिर प्रयास र प्रयोग न हो दिनानुदिन संक्रमितको संख्या बढेर त्यसको व्यवस्थापनमा हुने खर्चको पर्वाह नहुने तर दैवी विधान, वैदिक अनुष्ठान, पद्धति गर्दा केही हद प्रकोप शान्ति भै हाल्यो भने कति बचाउ हुने थियो । तर विडम्बना छ यो प्राविधिक युगमा आएर ईश्वरीय लीलाको उपासना गर्न शासकहरु लज्जास्पद ठान्छन्, ओठ लेप्रयाउछन् । हाम्रा पौरस्त्य पद्धति र प्रविधिको उपहास गर्दछन् । दुःखको कुरा छ, एउटा निम्न स्तरको व्यक्तिबाट केही श्रृजनात्मक कुरा भै हाल्यो भने पनि ठूलावडाको नजरमा कुत्कुती लाग्ने गर्दछ, अरुको लोकप्रियता देखि नसहने ठूलावडाको धर्म हो, र नै सर्गिक गुण हो । त्यसतै हेटौंडा वन विज्ञानका अध्ययन संस्थाका प्राध्यापक ललितकुमार दासले तयार गरेको औषधीको प्रयोगबाट सकारात्मक प्रतिक्रिया देखिन्थ्यो भने पनि नेपाल जस्तो मुलुकबाट विश्वव्यापी रोगको निराकरण हुन सक्ने भूमिका भारत, चीन, अमेरिका, बेलायत जस्तो राष्ट्रलाई पाच्य हुँदैन । अहिले कोभिड नाइन्टीनको प्रकोप विश्वव्यापी भएका कारण यहाँ नेतृत्वको जोड घटाऊ तल देखि माथिसम्म सूत्र प्रयोग गरिन्छ । यसको प्रत्यक्ष प्रमाण अमेकिरा र चीनबीचको आक्षेपले पुष्टि गर्दछ । शक्ति सम्पन्न राष्ट्रको दब्दबा यस्तो देखिंदा के यो कोभिड–१९ अप्रत्यक्ष पारमाणविक विश्व युद्ध त होइन ? जिज्ञासाको विषय छ यो । यसमा शंका उठ्ने प्रशस्त ठाउँ छन् किनकि महामारी त केही समय चर्किएएर केही समयपछि निस्क्रिय हुन्छ र एकादेशीय र एकक्षत्रीय पो हुन्छ । यो त औद्योगिक राष्ट्रहरुबाट सल्किएर विस्तारै कम औद्योगिक राष्ट्रतिर सर्दै आएको छ । चीनबाट फैलिएको भाइरस पहिले अमेरिका, इटली जस्ता विकसित राष्ट्रलाई यसले निशाना बनाएको जस्तो असर प्रष्ट नै छ । आखिर के भयो र ‘साँढेको जुधाइ बाछाको मिचाई’ ‘विल्लीको ख्याल कर्ता तो मुुसीको प्राण पड्ता’ न भयो आधुनिक सभ्यताको रङ्ग रोकन यस्तै गरी चम्किएको छ ।
विगतका महामारीमा जनताको भूमिका
यस भन्दा अगाडि संक्रामक महामारी थुप्रै आए, कतिले ज्यान गुमाए । यस्ता महामारीमा विफर, प्लेग आदि पर्दछन् । विफरलाई ठूलो खटिरो अर्थात माई खटिरो भन्ने गरिन्थ्यो । यसको प्रकोप चलिरहँदा हाम्रा अग्रजहरुले सजगता अपनाउथे, गाईको गोवरले घर लिपेर शुद्ध सफा राख्ने, विमारीको छेउमा नजाने, बाहिरैबाट सहयोग गर्र्ने, शनिबार पारेर संसारी माइको पूजा गर्ने चलन थियो । यो श्रब्य दृश्य नभएका बेलाको सचेतता थियो । हाम्रा पूर्खाहरु भगवान भरोसामा बाँचेका थिए । प्रविधिको प्रयोगसंगै यो बेला मानिस आफैं धेरै सचेत भइसकेका छन् । कुराको खेती र व्यापार चलेको छ नै होला हात धुन पनि सिकाइन्छ, गीत गाइन्छ, मजा पो छ प्रकोपको विषय त तर, आफूलाई नभेट्तासम्म ।
हाम्रा प्राचीन ऋषि महर्षिहरुले त्रिकाल स्थान गर्ने सन्ध्या गर्ने, दिशा पिसाव पछि माटाले दिशा गरेको अवस्थामा १४ पटक हात धुने र पिसावमात्र गरिंदा ६ पल्ट हात धुने गर्दथे भन्ने शौचाचारक पद्दतिमा पाइन्छ । अहिले पिसाव गरेर त कतिले हातै नधाएको देखिन्छ । र त साबुन पानीले मिचीमिची हात धोऔं भन्ने विज्ञापन फलाकिन्छ । यो ठूलै र नौलो कुरा सिक्न पाइएको छ ।
महामारी जटिल बन्नाको कारण
–बढ्दो औद्योगिकीकरण, सहरीकरणको चापले वायु मण्डल तथा नदीनाला दूषित बन्दै जानुले भाइरस फैलिने वातावरण श्रृजना भएको छ ।
–मानिसमा प्राकृतिक शाकाहारी आहार विहार नहुनुका साथै केमिकल युक्त फास्टफुट जंकफुड, चिसो पेयपदार्थ जस्ता निर्मित खाद्य पदार्थ सेवन गर्नाले जीव जन्तसहरुको काँचै मासु सेवन गरिनाले ।
–सात्विक आहार र सात्विक भावनाको लोप हुँदै जानाले ।
उपयुक्र्त अवस्थामा मानिसको शरीरभित्रका परमाणुहरु विषाक्त बन्ने भएका कारण यो कोरोना भाइरस देखा पर्न आएको हुन सक्छ । यदि यसो होइन भने यो विकसित प्रविधिको प्रायोगिक भाइरस हुनुपर्छ । मुकुटलाई श्रीपेच भनिन्छ । श्रीपेच वा मुकुटको अंग्रेजी शब्द ऋचयधल हो । यो भाइरस पनि मुकुटाकारको हुन्छ भन्ने भाइरस विशेषज्ञहरुको ठहर भएकाले यसको नाम क्रोनबाट कोरोना भएको र यसको संक्षेपी कारणमा कोभिड–१९ भनिएको हो । कोरोना भाइरस डिसेम्बर २०१९ भएकाले यसलाई अंग्रेजीमा कोभिड–१९ भनिएको हो । यसको लक्षण र असर हामी दैनिक सञ्चारमाध्यमबाट सुन्ने गरेका छौं । समयले यस महामारीको रहस्य उद्घाटन गर्ने कु्रामा जनताको जिज्ञासा यथावत रहेको पाइन्छ ।


































































































