
झापा २१ जेठ । पहिलो चरणमा कोरोना संक्रमण जोखिमबाट बच्नका लागि गरिएको लकडाउनका कारण दैनिक हातमुख जोड्न कठिन परेका विपन्नलाई राहत बाँडेको एकका लागि एक अभियानले अभियानको चौथो चरणमा बैकल्पिक पिसिआर परीक्षण प्रयोगशाला बनाउने घोषणा गरेको छ ।
देशभर कोरोना संक्रमण जोखिम बढ्दै जाँदा एकका लागि एक अभियानले जनस्तरबाटै पिसिआर परीक्षण प्रयोगशाला बनाउने तयारी गरेको हो । अभियानका साझेदार संस्थाहरुबीच बुधबार विर्तामोडमा आयोजित बैठकले यस्तो निणर्य गरेको अभियानका परिकल्पनाकार तथा संयोजक महेन्द्रकुमार गिरीले बताउनु भयो । निर्णयसंगै प्रयोगशाला निर्माणको बुधबारै अभियानले घोषणा समेत गरेको छ ।

अभियानका संयोजक समेत रहेका गिरीले भन्नुभयो–‘कोरोना परीक्षणको दायरालाई अझै फराकिलो बनाउन झापामा पिसिआर परीक्षण प्रयोगशालाको खाँचो छ’,त्यसैले प्रयोगशाला निर्माणको निर्णय गरिएको हो ।’
प्रयोगशाला स्थापना गर्न लगभग एक करोड रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरेको अभियानले पिसिआर परीक्षण प्रयोगशाला स्थापनामा सघाउन देश विदेशमा रहेका सबैमा अपिल पनि गरेको छ ।
सरकारी तहबाट झापाको भद्रपुरमा पिसिआर परीक्षण प्रयोगशाला राख्नका लागि स्थान चयन भएपनि बजेट अभावका कारण अन्योगमा भएका बेला एकका लागि एक अभियानले प्रयोगशाला निर्माणको घोषणा गरेको हो ।
तीनवटा स्थानीय तहको समन्वयमा सञ्चालन हुने बैकल्पिक पिसिआर परीक्षण प्रयोगशाला झापाको बिर्तामोड, अर्जुनधारा र कनकाई नगरपालिकामध्ये कुनै एक ठाउँमा बनाउने संयोजक गिरीले बताउनु भयो ।
पिसिआर परीक्षण प्रयोगशाला निर्माणमा अन्तर्राष्ट्रिय झापाली समाज र जिल्ला सहकारी संघ झापाले पनि सहयोग गर्ने गिरीले जानकारी दिनुभयो । पहिलो चरणमा विपन्नलाई राहत, दोस्रो चरणमा सडकमा आश्रितहरुलाई खाना खुवाउनुका साथै तेस्रो चरणमा अभियानले होल्डिङ सेन्टरमा बसेकाहरुलाई खाना खुवाएको थियो भने परीक्षणका लागि चाहिने भिटिएम कीट उपलब्ध गराएको छ ।

































































































