
झापा २१ जेठ । चालु आर्थिक वर्षको बजेटको तुलनामा आगामी वर्षको कुल बजेटको दायरा घटेपनि झापामा भने बजेट बढेको पाइएको छ । आव २०७७÷०७८ लागि अर्थमन्त्री युवराज खतिवडाले १४ खर्ब ७४ अर्ब ६४ करोड संसदमा प्रस्तुत गर्नुभएको छ ।
संघीय संसदमा आगामी वर्षका लागि सरकारका अर्थमन्त्रीद्वारा प्रस्तुत बजेट अनुसार चालु आवको तुलनामा आगामी वर्षका लागि ५८ अर्बले कमी भएपनि झापाको समग्र बजेटमा भने चालु आवको तुलनामा एकअर्ब ४० करोड ८९ लाख बढी हो ।
१५ वटा स्थानीय तह रहेको झापामा आगामी वर्षका लागि ६ अर्ब ५६ करोड ४८ लाख रुपैयाँ बिनियोजिन गरिएको छ । यो चालु आवको तुलनामा यो चालू वर्षको भन्दा १ अर्ब ४० करोड ८९ लाख बढी हो । चालू वर्षका लागि सरकारले झापाका १५ स्थानीय तहका लागि ५ अर्ब १५ करोड ५९ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।
बिनियोजित बजेट मध्येबाट सबैभन्दा बढी मेचीनगर नगरपालिकाका लागि ७० करोड ७७ लाख विनियोजन गरिएको छ
आठ नगरपालिका र सात गाउँपालिका रहेको झापामा दमक नगरपालिकाका लागि ६६ करोड २६ लाख रुपैयाँ, विर्तामोड नगरपालिकाका लागि ६० करोड ४८ लाख रुपैयाँ बजेट बिनियोजन भएको छ ।
त्यस्तै गौरादह नगरपालिकाका लागि ४३ करोड ५६ लाख , शिवसताक्षी नगरपालिकाका लागि ५२ करोड ३० लाख, भद्रपुर नगरपालिकाका लागि ४५ करोड २१ लाख , अर्जुनधारा नगरपालिकाका लागि ४३ करोड २९ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । नगरपालिका मध्ये सबैभन्दा कम कन्काई नगरपालिकाका लागि ३३ करोड ७८ लाख विनियोजन भएको छ ।
यसैगरी गाउँपालिकाहरुमध्ये सबैभन्दा बढी कमल गाउँपालिकालाई ४६ करोड ४१ लाख रुपैयाँ विनियोजन भएको छ । यस्तै कचनकवल गाउँपालिकाका लागि ३७ करोड ५१ लाख, गौरीगञ्ज गाउँपालिकाका लागि ३० करोड ८८ लाख र झापा गाउँपालिकाका लागि ३१ करोड २४ लाख रुपैयाँ बजेट बिनियोजन भएको छ ।
१५ वटा स्थानीय तहमध्ये सबैभन्दा कम बजेट बाह्रदशी गाउँपालिकाका लागि विनियोजन भएको छ । बाह्रदशी गाउँपालिकाका लागि अन्य स्थानीय तहको भन्दा कम २९ करोड ६१ लाख, बुद्धशान्ति गाउँपालिकाका लागि ३३ करोड ५२ लाख र हल्दिबारी गाउँपालिकाका लागि ३१ करोड ६६ लाख रुपैयाँ बिनियोजन भएको छ ।
सरकारले आगामी आवका लागि सरकारले चालू खर्च ९ खर्ब ४८ अर्ब ९४ करोड (६४.४ प्रतिशत) विनियोजन गरेको छ भने पूँजीगत खर्चतर्फ ३ खर्ब ५२ अर्ब ९१ करोड (२३.९ प्रतिशत) छ । वित्तिय व्यवस्थापन खर्च एक खर्ब ७२ अर्ब ८९ करोड (११.७ प्रतिशत) विनियोजन गरिएको छ ।
राजश्व संकलनबाट सरकारले ८ खर्ब ८९ अर्ब ६२ करोड रुपैयाँ उठाउने, वैदेशिक सहायताबाट ६० अर्ब ५२ करोड रुपैयाँ जुटाउने छ । साथै वैदेशिक ऋणबाट २ खर्ब ९९ अर्ब ५० करोड उठाउने छ भने २ खर्ब २५ अर्ब आन्तरिक ऋण उठाइने भएको छ ।

































































































