
झापा १९ जेठ । सोमबार साँझ थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै सोमबार मात्रै कोरोना संक्रमण पुष्टि हुनेको संख्या २३९ पुगेको छ । नियमित पत्रकार सम्मेलनमा सोमबार २ सय २६ संक्रमित थपिएको बताएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साँझ सवा ६ बजे थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको विज्ञप्तिमार्फत जनाएको छ ।
यो सँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या एकहजार आठसय ११ पुगेको छ । सोमबार साँझ घोषणा गरिएको १३ जनामा पाल्पा निस्दी गाउँपालिकाका २ जना, नवलपरासीको सरावल गाउँपालिकाका १ जना, गुल्मीको रेसुंगा नगरपालिकाका १ जना, कपिलवस्तुको मायादेवी गाउँपालिकाका ७ जना र रुपन्देहीको गैडहवाका २ जना रहेका छन् ।
यसअघि स्वास्थ्य मन्त्रालयका अनुसार झापाका २, नवलपरासीका ३, दैलेखका ५१, जुम्लाका १९, सुर्खेतका ५, कपिलवस्तुका ४०, रौतहटका १८, बाँकेका ७, दाङका ९, धनुषाका ७, महोत्तरीका २, मकवानपुरका १, सर्लाहीका ३८, सिराहाका ५, उदयपुरका १, अछामका १, कैलालीका १४, बैतडीका १, डोटीका १ र कञ्चनपुरका १ जनामा संक्रमण पुष्टि भएको हो।
डोटीमा पहिलो पटक कोरोना भाइरसको संक्रमण देखिएको हो। यसैगरी कञ्चनपुरका संक्रमित ११ महिने शिशु हुन्। नेपालमा कोरोना भाइरसबाट ५९ जिल्ला प्रभावित भएका छन्।
आज एक जना मात्रै डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या २२१ पुगेको छ । उनीहरु मध्ये १७३ जना पुरुष र ४८ जना महिला रहेका मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भइसकेको छ ।

































































































