Homeसमाचारसमाचार‘पानी र जवानी’–को उपयोग नीति लेऊ

‘पानी र जवानी’–को उपयोग नीति लेऊ

भो ! युवा विदेश नजाऊ

इन्दु पूर्वेली

नेपालको संसदलाई सम्बोधन गर्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ‘पानी र जवानी एकैठाउँमा बस्दैन, यिनीहरुको समयमै सही सदुपयोग गर्न सकेमात्रै लाभ लिन सकिन्छ, अन्यथा त्यसै खेर जान्छ’ आशयसहित भाषण गरे (३ अगस्ट २०१४ मा) । नेपालको संसदमा सहभागी सबै सांसदले गुरुर्र ताली बजाए । उनको भाषणभित्रको ब्यङ्ग नेपालले पानी र जवानीको सही सदुपयोग गर्न नसकेको स्पष्ट थियो । त्यही पानीको वहाना बनाएर नेपालका ठूल्ठूला नदीनालामा गिद्धे दृष्टि लगाउने, ऊर्जा उत्पादनका लागि आफ्नो देशलाई लाभ हुने गरी सम्झौता गर्ने, परियोजनास्थलमा भारतीय सीमा सुरक्षा बल राख्ने र लामो समयसम्म नछोड्ने अनि अन्ततः नेपाली भूमिलाई भारतीयकै भएको दावी गरेर हाम्रो सार्वभौमिकतामाथि नै धावा बोल्ने भारतीय नेतृत्वको प्रवृत्ति बुझ्नका लागि मोदीको उक्त भाषण काफी थियो । कालापानी, लिपुलेक, लिम्पियाधुरा, सुस्ता, कोशी, पशुपतिनगरसहितका विभिन्न क्षेत्रमा देखिएको सीमा विवादमध्ये कतिपय पानीसँगै सम्बन्धित छन् । अनि हाम्रै माटोको पानी उपभोगका लागि हाम्रै जवानहरुको पाखुराको बल प्रयोग गरेर हाम्रो सार्वभौमिकतामाथि नै धावा बोलिरहनु खराव छिमेकी(भारत)–को निकृष्ट ब्यवहार हो भन्दा अत्युक्ति हुँदैन । भारतको समेत सुरक्षा संयन्त्रको अग्रपंक्तिमा रहेर उसकै सीमामा खटिएका हजारौं नेपालीहरुले भारतीय माटोमा समेत खून बगाएको इतिहास र वर्तमान हामीसँग छ, त्यसलाई सम्झेर पनि भारतले भातृत्वप्रेम र संरक्षणको नीति अपनाउनुपथ्र्यो र पर्छ, तर त्यसविपरित ऊ नेपाललाई चिढ्याउन निरन्तर लागिरहनु दुःखद र निन्दनीय छ । तर मोदीको भनाइमा सत्यता चाहिं अवश्य छ, नेपालको यथार्थ पनि छ ।
साँच्चै नेपालमा बहुदलीय प्रजातन्त्र आएको चारदशक पुग्नै लागेको छ । जनताको समृद्धिका लागि राजतन्त्रलाई बाधक मान्ने राजनीतिक दलको मात्रै नेतृत्व आएको पनि ढेड दशक वितिसक्यो । न त पञ्चायती ब्यवस्थासहित एकदलीय तानाशाही शासन चलाएको राजतन्त्रले नेपालको पानी र जवानी अर्थात युवाको ब्यवस्थापन गर्न सक्यो ? न त राजनीतिक दलले नै पानी र जवानीको उपयोगका लागि स्पष्ट नीति बनाउन सकेका छन् ? परिणाम देशको विकासका लागि अत्यावश्यक युवा शक्ति विदेश पलायन भएको छ, लगभग बार्षिक एकलाखकै हाराहारीमा । संसारकै मानवको तुलनामा सस्तो पारिश्रमीकमा आफ्नो श्रम बेचेर विदेशी भूमीमा पसिना बगाइरहेको छन्, नेपाली युवाहरु । बरु मेरो देश र देश हाँक्ने ड्राइभरहरु तिनै युवाले सस्तो पारिश्रमीकमा पसिना बेचेको पाखुरीको कमाइको केही अंश रेमिट्यान्सले देश चलाईरहेका छन्, यसैमा खुशी मानिरहेका छन् ।
विश्वमा फैलिएको कोरोना संक्रमणको त्रासका कारण अहिले विश्वका दुईसय १० बढी मुलुक प्रभावित छन् । विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्याङ्क अनुसार कोरोना संक्रमणको दर एकदिन अर्थात २४ घण्टामा एकलाख हाराहारी छ, यसलाई भाग गर्ने हो भने कोरोना संक्रमणको दर प्रतिमिनेट ६५ माथी पर्न आउँछ । विश्वका लगभग साढे तीनलाख मानिसको मृत्युको निमित्त कारण बनेको कोरोनाले अझै कति मानिसको ज्यान लिने हो ? अनुमान गर्न कठिन छ । औषधि पत्ता लागको छैन, तत्काल लाग्ने अवस्था पनि देखिएको छैन, संक्रमणको यस महामारीमा संयमीत बस्न प्रोत्साहन गर्नुपर्ने विश्व स्वास्थ्य संगठनले नै पटक–पटक कोरोनाका कारण थुप्रै मानिसको रोजीरोटी गुम्ने र धेरै मानिसमा मानसिक समस्या समेत देखिने भनी गरेको उद्घोषले मानिसमा झन् त्रास उत्पन्न गरेको छ ।


कोरोना संक्रमणबाट जोगिने सबैभन्दा प्रभावकारी उपाय यसबेला सामाजिक दुरीमात्रै देखिएको छ, अधिकांश राष्ट्रहरुले यही उपाय अपनाउन लकडाउन घोषणा गरेका छन् । मानिसहरु गृहबासमा छन्, अधिकांश उद्योगधन्दा, कलकारखानाहरु बन्द छन् । परिणाम सबैको रोजीरोटी खोसिएको छ, यसबेला जो जहाँ श्रम गरिरहेको थियो, पसिना बगाइरहेको थियो र परिश्रमले विश्वको जुन कुनाको माटो सिञ्चित गरिरहेको थियो, सोही देशले गास, बास र कपासजस्ता अत्यावश्यक वस्तुको ब्यवस्थापन गरेर आफ्ना कामदारको सुरक्षा गर्नैपथ्र्यो, मानवीयता देखाउनैपथ्र्यो । तर अधिकांश मुलुकमा यो अवस्था नदेखिदा लाखौं नेपाली अहिले विभिन्न देशमा अलपत्र छन् । वैधानिक रुपमा भिषा लिएर रोजगारीका लागि गएका हुन् वा अबैधानिक रुपमै गएका हुन्, विद्यार्थी वा पर्यटन भिषामा विभिन्न मुलुकमा गएर उतै काम गर्दै बसेको जनशक्ति समेत ठुलै छ । उनीहरुले रोजीरोटी गुमाइसकेका छन् । ‘हामी कोरोना नियन्त्रणका लागि सबैखाले प्रावधान पूरा गरेर क्वारेन्टाइनमा बसेर पोजेटिभ नदेखिएको अवस्थामा मात्रै घर जान तयार छौै, बरु खर्चसमेत आफैं गर्न तयार छौं’ भनिरहेका छन् । कोरोना त्रासका कारण उत्पन्न मानवीय संवेदना एकातिर छ भने उनीहरुले भोगिरहेको अभाव, पीडा र दुःख अर्कातिर छ । यो चित्कारले उनीहरुलाई मात्रै होइन, नेपालीमन रोएको छ, नेपालमा रहेका आफन्तलाई पनि कतिवेला आफ्नो छोरा–छोरी, श्रीमान–श्रीमती, बाबु–आमा, दाजु–भाइ, दिदी–वहिनी भेटेर एकअर्कामा स्नेह साटौं, जति दुःख भए पनि बाँझिएको बारीमै सिर्जना फुलाऔं र अधिकतम चाहनाका बीच प्राथमिकताका आधारमा आवश्यकता पहिचान गरी दुःखसुख जीवन चलाऔं भन्ने उत्कण्ठा चुलिएको छ । तर बर्षौपछिको भेटमा स्नेह साटासाट गर्न, दुःखसुखका स्पर्श साटासाट गर्न कोरोना बाधक बनेर बीचमा ठिङ्ग उभिएको छ । नेपालकै सन्दर्भमा भन्दा त नेपालमै रहेकाभन्दा विभिन्न रोजगारीका सिलसिलमा विदेशिएका र विदेशबाट फर्किएका युवा पिढीमा नै कोरोना संक्रमणको दर बढी देखिएको छ ।
चुहिएको छानो टाल्ने, छोराछोरीको भविष्य सुधार्ने र उत्तरार्धको जीवन सुखका साथ बाँच्ने कल्पनासहित विदेशिएका लाखौं युवा अहिलेको विषम परिस्थितिमा जस्तोसुकै नीतिनियमको कठोर पालना गरेरै स्वदेश फर्कन चाहन्छन्, मातृभूमिको न्यानो स्नेह चाहन्छन् र मर्नै परे पनि आफ्नै माटोको सुगन्धभित्र मर्न चाहन्छन् । कतिपय सीमामा अलपत्र छन्, लामो समयसम्मको हिडाइ, थकान, भोक, प्यास, अनिद्राले घर नै पुग्न नपाइने हो कि ? भन्ने चिन्तामा छन् । तर, न त हिजो पाखुराको परिश्रम खाने राष्ट्रले उनीहरुको समस्याको सम्बोधन गर्न सकेको छ न त रेमिट्यान्समा मख्ख पर्ने हाम्रा नेतृत्वले नै उनीहरुको समस्यालाई सम्बोधन गर्न सकेका छन् ? दोहोरो विलखबन्दमा परेका नेपाली युवाहरुले कति दिन सरकारको तयारी पर्खनुपर्ने हो ? प्रश्न निरुत्तर छ । कोरोनाको फैलदो प्रवाहले उनीहरुको श्वास आउँछ कि लाश ? सरकारको उत्तरदायी जवाफ तमाम युवा र उनका आफन्तले पर्खिरहेका छन् ।
बाजा बजाएर, म विश्व भ्रमणमा छु भनेर ढोल पिट्दै आएको कोरोना सन्त्रास साम्य भइसक्दा निजी, सामुदायिक क्षेत्रमा कार्यरत कतिले रोजगारी गुमाउनुपर्ने हो ? प्रश्न निरुत्तर छ, यसपछि उत्पन्न हुने आर्थिक मन्दीका कारण ब्यापार, ब्यवसाय कहाँ पुग्ला ? अनुमान मात्र पनि कहालीलाग्दो छ, विदेशमा पसिना बगाइरहेका कति युवा वेरोजगार बनेर फर्कलान् ? कतिले मृत्युवरण गर्लान् ? कति रोग बोकेरै फर्कलान् ? कति असक्त अपाङ्ग होलान् ? प्रश्न निरुत्तर छ, यस समय हिजो हाम्रा पुर्खाले ‘हुलमालमा जिऊ जोगाउनु, अनिकालमा विऊ जोगाउनु’ भने झैं यो संक्रमणबाट जोगिएकाहरुले के गरिखाने ? भन्ने विकल्प राज्य, निजी क्षेत्र, सामाजिक अभियान्ता सबैले सोच्नैपर्छ । यसबेला करोडौंको पसिना बगाएर लाखौं मूल्यमा चित्त बुझाइरहेका नेपाली युवा, वीर गोर्खालीका सन्तानहरुले विदेशी भूमीमा पसिना पोखेर आफ्नो घर सिँगार्ने निरर्थक सपनाको परित्याग गरेर आफ्नै कोठेबारीमा सिर्जनाका फूल फुलाउने सुन्दर सपना देख्न जरुरी छ । अहिलेसम्म विदेशी भूमिमा पोखेको पसिना, सिकेको सीप र अनुभवलाई आफ्नै बारी, कान्लो, भीर पाखामा प्रयोग गरेर यहीको माटोमा सून फलाउन लाग्नुपर्छ । सरकारले पनि नेपालको पानी र जवानी अर्कालाई दिनुको सट्टा राष्ट्रनिर्माणको महान अभियान सिर्जना गरेर माटो र पानी सुहाउँदो विकासमा प्रत्येक युवाको श्रम र सीपको उपभोग गर्ने रणनीति तयार पारी कार्यान्वयन जरुरी छ । नेपालमा सधैभरी अस्थिरता सिर्जना गरेर नेपाली माटो, हाम्रो स्वाभीमान र सार्वभौमसत्तामाथि धावा बोल्ने छिमेकीको वक्रदृष्टि अन्त्य गर्न उद्योग स्थापना, उत्पादन, स्वरोजगारी र स्वावलम्बनले मात्रै सम्भव छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसमाचार‘पानी र जवानी’–को उपयोग नीति लेऊ
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img