
कृष्ण हुमागाँई
कोरोना भाइरस (कोभिड १९) को महामारीबाट बिश्व नै संक्रमित भइरहेको र नेपाल जस्तो गरीब देशको अवस्था झनै भयावह हुने स्थितिमा दुइतिहाई नजिकको कम्युनिष्ट सरकार भने भ्रष्टाचार, कमिशन, पदीय भागबण्डा, असंवैधानिक गतिविधि र राजनीतिक अस्थिरता निम्त्यउने भद्दा खेल खेलेर दुनियाँलाई राजनीतिक गाइजात्रा देखाउने भयो । कम्युनिष्टको सरकार आयो भने सारा समस्यालाई छुमन्तरको भरमा समाधान गर्छों, गरीबलाई धनीको सम्पत्ति खोसेर बाँड्छौं । कोही भोको नाङ्गो हुनुपर्दैन, सम्यवाद ल्याएर नेपाललाई युरोप अमेरिका भन्दा समुन्नत, समृद्ध र सुखी बनाउँछौं, नेपालमा अब कोही गरीब हुनेछैन, सब बराबर भनेर भ्रम र भ्रान्तिको खेती गरेर सत्तामा पुगेका कम्युनिष्ट भनाउँदाहरुले गरेको देश र जनतामाथिको शोषण, दमन र उत्पीडन नेपालः जनताले राम्ररी देख्न पाएका छन् ।
वास्तविकताको पछि नलागी आश, त्रास र हल्लाको भरमा गरीबको मुक्तिदाता ठानेर हिजोका दिनमा अज्ञानताबश कम्युनिष्टलाई मतदान गर्ने गरीब, दुःखीले पनि के रहेछन त कम्युनिष्ट भन्नेहरु कुरा बल्ल चाल पाएका छन् । संसार प्रजातान्त्रिक, लोकतान्त्रिक भन्नुस् वा डेमोक्रेटिक राजनीतिको महामार्गमा भव्य ढङ्गले अघि बढीरहेको अवस्थामा विश्बाट पलायन भएको, जहाँ यसको जन्म भयो, त्यही मासिइसकेको आउट डेटेड राजनीतिको पछाडि लागेर नेपाली जनताले जानी नजानी महाभूल गरेकै थिए । अब यो भ्रमको जालोबाट जनताले मुक्ति पाउने भएको छन् । यो पनि आवश्यक नै थियो, सडकमा उभिएर अर्कालाइृ धारेहात लगाउन सजिलो छ, तर आफैं भान्से भएर सबैलाई समानरुपमा बितरण गरेर मान्छेको चित्त बुझाउन त्यति सजिलो छैन भन्ने कुरा कम्युनिष्टहरुले पनि बुझे होलान अब त । नेपालमा कम्युनिष्टको एकलौटी सरकार जनताले देख्नु पर्नेथ्यो, त्यो पनि राम्ररी देखे, राम्रै भयो । अब त भ्रमको जालो तोडिएला कि ?
एकातिर देश लकडाउनमा फँसेको छ, जनता भोकभोकै मर्न लागेका छन् । तर कम्युनिष्ट सत्रा बेमौसमी बजा बजाएर गैर संबैधानिकरुपमा अलोकतान्त्रिक अध्यादेशको खेलमा मुलुकमा अस्थिरताको खेती गर्न तम्सिएको छ । पार्टी फुटाउने, अर्काको पार्टीको सांसद अपहरण गर्ने, आफ्नैलाई जवरजस्ती गुटको पक्षमा हस्ताक्षर गर्न ज्यनको धम्की दिने जस्ता आपराधिक कार्यले ओली सरकार दुनियाँका नजरमा बदनाम र कलंकित बन्न पुगेको छ । यो महासंकटको घडीमा सत्ता र प्रतिपक्ष नभनी सबै मिलेर समस्यासँग जुध्नुपर्नेमा ओलीले आफ्नै पार्टीभित्र एकता कायम गर्नुको सट्टा बिभाजनको रेखा नै कोर्नु भएको छ । यो रेखाले ढिलोचाँडो नेकपालाई बिभाजन गर्ने निश्चित प्रायः छ । अहिले टालटुल र सत्ताको रसास्वादनले कोही, केही अलमलमा परेपनि कालान्तरमा यसले आ आफनो बाटो तय गर्ने आधार खडा गरिसकेको छ । प्राकृतिक महाबिपत्ति र महामारीका बेला बैमनस्य भएका राष्ट्रहरुका बीचमासमेत संकटबाट मुक्ति पाउन सहकार्य हुनेगर्छ भने नेपालमा जनताको मुक्तिका खातिर लडेको भन्नेहरु किन मिल्न सक्दैनन् ? एउटै पार्टीभित्र पनि । ओली सरकारले सबैलाई समेटेर संकट समाधानमा निस्वार्थपूर्वक अघि बढनुपर्छ । यो महाबिपत्तिमा राजनीतिक गाइजात्रा नदेखाऊ । सबै नेपालीलाई समान ब्यवहार गर, मेरो तेरो भनी राहतमा पक्षपात गर्ने अपराधी खेल बन्द गर । यो राजनीतिक जोडघटाउ र सत्ता उल्टाउको समय होइन । लेखक नेपाल पत्रकार महासंघ झापाका पूर्व सभापति हुनुहुन्छ ।

































































































