
झापा २२ बैशाख । कोरोना संक्रमण जोखिमका बाबजुद पनि वेसहारा भएर सडकमा जोखिमपूर्ण रुपमा रहेका झापाका आठ जना महिलालाई सोमबार उद्दार गरिएको छ ।
विगत केही समयदेखि सडकमा बस्दै आएका ती महिलाहरुमाथि हुन सक्ने संभावित दुर्घटनाप्रति मध्य नजर गर्दै प्रदेश सरकार र स्थानीय तहसंगको समन्वयमा उनीहरुको उद्दार गरिएको हो ।
यसरी उद्दार गरिएकाहरुमा विर्तामोडबाट देविका थारु, कुन्ती खतिवडा र अर्जुनधारा–५ मा बस्दै आएकी सन्तोषी दनुवार रहेका छन् भने मेचीनगर क्षेत्रबाट ५ जना महिलाको उद्दार गरिएको हो ।
सडकमा असुरक्षित रुपमा रहेका महिलाहरुलाई सामाजिक विकास राज्यमन्त्री जशमाया गजमेर, विर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महतारा प्रसाई, मेचीनगर नगरपालिकाका उपप्रमुख मिना उप्रेतीसंगको समन्वयमा उद्दार गरिएको बताइएको छ । उद्दार गरिएका महिलाहरुलाई विराटनगरस्थित मानव सेवा आश्रममा लगिएको एवीसी नेपालका झापा संयोजक कञ्चना ढकालले जानकारी दिनुभयो ।
उद्दार गरिएका देविका र कुन्ती विर्तामोडका सडकमै खाने र सडकमै सुत्ने गरेका कारण उनीहरुको व्यक्तिगत सुरक्षा पनि आवश्यक महशुस भएसंगै राज्य मन्त्री गजमेरसंगको समन्वयमा उद्दार गरिएको पार्वता खरेल विमलीले बताउनु भयो ।
उद्दार गरेर विराटनगर पुर्याइएका महिलाहरुको कोरोना सम्बन्धी स्वास्थ्य परीक्षणका लागि आजै स्वाब लिने काम भएको छ । स्वाबको रिपोर्ट आएपछि पोजेटिभ देखिए उपचारका लागि लगिने नेगेटिभ देखिए मानव सेवा आश्रममै राखिने राज्य मन्त्री गजमेरले बताउनु भयो ।
































































































